नारायणगढ (चितवन), जेठ २८ । विश्व रक्तदाता दिवसको अवसर पारेर चितवनमा आगामी जेठ ३० गते ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव–२०८३’ आयोजना गरिने भएको छ। भरतपुरस्थित चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा आयोजना हुन लागेको महोत्सवले रगतको अभाव न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
अस्पतालहरूको सहरका रूपमा परिचित भरतपुरमा रगतको माग वर्षभर उच्च रहने गरेको छ। विशेषगरी गर्मीयाममा रगतको अभाव बढ्ने भएकाले आयोजकले सबै रक्तदातालाई महोत्सवमा सहभागी भई जीवन बचाउने अभियानमा साथ दिन आग्रह गरेका छन्।
हरेक वर्ष जुन १४ मा मनाइने विश्व रक्तदाता दिवसले सुरक्षित रगतको उपलब्धता सुनिश्चित गर्न जनचेतना अभिवृद्धि गर्ने, रक्तदान संस्कृतिलाई प्रवर्द्धन गर्ने तथा रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्य बोकेको छ।
ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा हुन लागेको महोत्सवबारे जानकारी दिँदै संस्थाका अध्यक्ष अञ्जन दवाडीले विगत पाँच वर्षदेखि रक्तदान र रक्त व्यवस्थापनका क्षेत्रमा निरन्तर सक्रिय रूपमा काम गर्दै आएको बताउनुभयो। उहाँका अनुसार गत वर्ष आयोजित पहिलो रक्तदान महोत्सवमा एक हजार ७१७ पिन्ट रगत सङ्कलन भएको थियो, जुन नेपालमै एकै दिनमा भएको सबैभन्दा ठूलो रक्त सङ्कलनमध्ये एक मानिन्छ।
दवाडीले यस वर्षको महोत्सवले रगतको अभाव कम गर्न सहयोग पुर्याउनुका साथै रक्तदानप्रति जनचेतना र उत्प्रेरणा फैलाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले मानवताको महान् सेवामा सहभागी भई रक्तदान गर्न र कार्यक्रम सफल बनाउन सबैलाई आह्वान गर्नुभएको छ।
महोत्सवलाई सफल बनाउन प्रशासन, सुरक्षा निकाय तथा विभिन्न सङ्घसंस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यो अभियानलाई अत्यन्त सकारात्मक र मानवीय कार्यको रूपमा व्याख्या गर्दै आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो। उहाँले लक्ष्यभन्दा पनि कार्यक्रमको प्रभावकारी व्यवस्थापन र व्यापक प्रचारप्रसारमा जोड दिनुपर्ने धारणा राख्नुभयो। स्वास्थ्य अवस्थाका कारण रक्तदान गर्न नसक्ने भए पनि उहाँले आधा महिनाको तलब सहयोगस्वरूप प्रदान गर्ने घोषणा गर्नुभएको छ।
यस्तै, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले सुरक्षाकर्मीहरूलाई रक्तदानका लागि प्रेरित गरिने जानकारी दिनुभयो। उहाँले “आफ्नो शरीरमा बगेको रगतले कसैको जीवन बचाउन सक्छ भने रक्तदान किन नगर्ने ?” भन्दै सबैलाई अभियानमा सहभागी हुन आग्रह गर्नुभयो।
महोत्सवको तयारी तीव्र पारिएको छ भने विभिन्न अभियन्ता, स्थानीय तहका प्रमुख, सङ्घसंस्थाका प्रतिनिधि तथा सामाजिक अगुवाहरूले पनि रक्तदानमा सहभागी हुन सर्वसाधारणलाई आह्वान गरिरहेका छन्।