काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ क्षेत्रमा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार भूकम्प बुरियास सहरबाट करिब २५ किलोमिटर पश्चिम–दक्षिणपश्चिममा स्थानीय समय बिहान ७:३७ बजे गएको हो।
कम गहिराइमा गएको यस भूकम्पका कारण ठूलो धक्का महसुस हुनुका साथै प्रशान्त क्षेत्रमा सुनामीको जोखिम बढेको छ। भूकम्पपछि ६.१ र ६.० म्याग्निच्युडका परकम्पहरू पनि गएको जनाइएको छ।
स्थानीय प्रशासनका अनुसार जनरल सान्तोस सिटीसहितका क्षेत्रमा घर तथा भवनहरूमा क्षति पुगेको छ र कम्तीमा एक जनाको मृत्यु तथा केही घाइते भएका छन्।
यसैबीच फिलिपिन्स, इन्डोनेसिया, मलेसिया र जापानलगायत प्रशान्त क्षेत्रका देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ। कतिपय तटीय क्षेत्रमा १ देखि ३ मिटरसम्मका छाल आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ।
प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले यो क्षेत्र भूकम्प र सुनामी जोखिमका दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ।
