काठमाडौँ । सरकारले भारतसितको स्थलमार्ग नाकाबाट सिमाना ओहोरोदोहोरो गर्ने यात्रुका लागि भन्सार छुटको सुविधामा केहि लचकता अपनाएको छ ।
राजपत्रमा नयाँ व्यवस्था प्रकाशित गर्दै सरकारले स्थलनाकाबाट आउने यात्रुलाई सयसम्मको भन्सार छुटबाट पाँच सय रुपैयाँसम्मको व्यवस्था गरेको हो ।
‘५ सय रुपैयाँ मूल्य बराबरको सामान ल्याएमा वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्ने अधिकार दिइएको छ तर त्योभन्दा बढी मूल्यका सामान वा व्यापारिक प्रयोजनका सामग्री ल्याएमा कानुनबमोजिम भन्सार तिर्नुपर्नेछ’ २०८३ जेठ १५ गतेको राजपत्रमा भनिएको छ ।
बालेन नेतृत्वको सरकार आएपछि स्थल भन्सारमा कडाइ हुँदै आएको थियो । त्यसले गर्दा भारतीय बजारबाट किनमेल गर्ने सीमाक्षेत्रका बासिन्दाले विरोध गर्दै आएका थिए ।
सरकारले हवाई मार्गबाट वैदेशिक रोजगारीबाट फर्कनेले दुई थान मोबाइल र ३२ इन्चसम्मको टेलिभिजनमा पूर्ण छुट पाउने व्यवस्था गरेको छ तर भारत वा अन्य मुलुकबाट स्थलमार्ग हुँदै आउनेका लागि यस्तो सुविधा उपलब्ध गराइएको छैन ।
स्थलमार्गको कडाइकै क्रममा भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीलाई केही छुट दिइएको छ । उनीहरूले आफ्नो साथमा लगेको वा ल्याएको ट्याबलेट, ल्यापटप वा कम्प्युटरमध्ये कुनै एक थानमा भन्सार महसुल तिर्नुपर्ने छैन ।
हवाईमार्गबाट फर्कनेले एक थान ल्यापटप, एक थान घडी, क्यामरा र व्यक्तिगत प्रयोगका लुगाफाटामा पूर्ण छुट पाउनेछन् । ५० ग्रामसम्मको सुनको गहना र ५०० ग्रामसम्मको चाँदीको गहनामा भन्सार लाग्ने छैन । एक लिटरसम्मको एक बोतल मदिरा मात्र ल्याउन पाइनेछ । बिरामीले ल्याउने औषधी र शारीरिक रूपमा अशक्त व्यक्तिले प्रयोग गर्ने सहायता सामग्री (ह्विलचियर आदि) मा पूर्ण छुट दिइएको छ ।
अर्थमन्त्रालयका अनुसार यो व्यवस्था जेठ १५ गतेदेखि नै लागु भइसकेको छ ।
