बर्दिया, जेठ २० । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बाँके–बर्दियाको संयुक्त भेला मंगलबार बर्दियाको सोरहवामा सम्पन्न भएको छ । भेलाले श्रमिक, साना उद्यमी तथा व्यवसायीहरूको संगठनात्मक एकता सुदृढ गर्दै उत्पादनमुखी र समाजवादी अर्थतन्त्र निर्माणको आवश्यकता औंल्याएको छ ।
भेलाले परशुराम लामिछानेको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ । समितिको सचिवमा कल्पना पौडेल, कोषाध्यक्षमा टेकेन्द्र जिसी तथा सदस्यहरूमा श्यामबहादुर केसी, खकेन्द्र खत्री र भक्तबहादुर बिक चयन भएका छन् । एक सदस्य पद हाल रिक्त राखिएको छ । समितिको सल्लाहकारमा ज्ञानचन्द्र अर्याल रहनुभएको छ ।
व्यापार संघको पहलमा सञ्चालित एनएमआईसि परियोजना स्थलमा आयोजित कार्यक्रममा वक्ताहरूले श्रमिक, किसान, साना व्यवसायी तथा उत्पादनशील क्षेत्रका नागरिकहरूलाई संगठित गर्दै सामूहिक उद्यमको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार बासुदेव पोख्रेलले यस्ता परियोजनाहरूले समाजलाई समाजवादी अर्थतन्त्रतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । उहाँले उत्पादनमुखी र जनहितकारी आर्थिक गतिविधिलाई आफ्नो पार्टीले प्रोत्साहन गर्ने पनि स्पष्ट पार्नुभयो ।
अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रीय अध्यक्ष ढाकाराम पौडेलले व्यवसायीहरू संगठित भएर सामूहिक उद्यममा लागेमा मात्र देशको आर्थिक समृद्धि सम्भव हुने धारणा राख्नुभयो । उहाँले व्यक्तिगत नाफाभन्दा सामूहिक उत्पादन र सहकार्यको संस्कृतिलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरी एनएमआईसि कम्पनीका केन्द्रीय अध्यक्ष ढुन्डिराज शर्माले देशमा उत्पादनशील अर्थतन्त्रको विकास अपरिहार्य रहेको उल्लेख गर्दै राष्ट्रिय पूँजीको विकासका लागि श्रम, उत्पादन र उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले कम्पनीलाई देशव्यापी रूपमा विस्तार गर्दै उत्पादनमूलक अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
परशुराम लामिछानेको अध्यक्षतामा सम्पन्न भेलामा अखिल नेपाल सुकुम्बासी तथा अव्यवस्थित संघका केन्द्रीय अध्यक्ष तुलसीराम साप्कोटा, उद्योग व्यापार संघका केन्द्रीय सदस्य नरेन्द्र बिष्ट, राष्ट्रिय जनमोर्चा बर्दियाका अध्यक्ष नुमलाल रेग्मी, बाँकेका उपाध्यक्ष जगदीश ढकाल, अनेमसंघ बाँकेकी सल्लाहकार माला केसी तथा साहित्यकार कल्पना पौडेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बाँके र बर्दियाका उद्योगी, व्यवसायी तथा श्रमिक वर्गको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन उद्योग व्यापार संघका महासचिव कृष्णभक्त गिरिले गर्नुभएको थियो।
भेलाले श्रमिक, किसान र साना उद्यमीहरूको हितलाई केन्द्रमा राख्दै उत्पादन, स्वावलम्बन र सामूहिक उद्यमको माध्यमबाट समाजवादी आर्थिक विकासको आधार निर्माण गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ।

