काठमाडौँ । अखिल नेपाल सुकुम्वासी सङ्घको दोस्रो राष्ट्रिय भेला र अखिल नेपाल किसान महासङ्घ (अप्फा) को केन्द्रीय प्रशिक्षण २०८३ जेठ ९ देखि ११ गतेसम्म रुपन्देहीको बुटवलमा सम्पन्न हुने भएको छ ।
सुकुम्वासी सङ्घको भेला जेठ ९ र १० गते तथा अप्फाको केन्द्रीयस्तरको प्रशिक्षण जेठ ११ गते राष्ट्रिय जनमोर्चाको लुम्बिनी प्रदेश कार्यालयको सभाकक्षमा हुन थालेको हो ।
अप्फाका अध्यक्ष भैरवराज रेग्मीका अनुसार जेठ ९ गते सुकुम्वासी सङ्घको राष्ट्रिय भेलाको उद्घाटन राजमो अध्यक्ष चित्रबहादुर केसीले गर्नुहुनेछ ।
भेलालाई नेकपा (मसाल) निकट जनवर्गीय सङ्गठनका प्रतिनिधिले शुभकामना दिनुहुने कार्यक्रम रहेको छ ।
दोस्रो दिन राष्ट्रिय भेलाको बन्दसत्र सञ्चालन हुनेछ, जसमा आन्तरिक साङ्गठनिक निर्णय लिइनुका साथै नयाँ केन्द्रीय कार्यसमिति चयन गरिनेछ ।
अहिले सुकुम्वासी सङ्घको अध्यक्ष तुलसि सापकोटा हुनुहुन्छ । उहाँ अप्फाको महासचिव पनि हुनुहुन्छ । अप्फा अध्यक्ष रेग्मीका अनुसार सुकुम्वासी सङ्घ अप्फाकै आङ्गिक सङ्गठन हो ।
जेठ ११ गते अप्फाको केन्द्रीयस्तरको प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । प्रशिक्षणमा अप्फाका अध्यक्ष भैरवराज रेग्मी, राजमो नेता चित्रबहादुर केसीलगायत विभिन्न प्रशिक्षकले समसामयिक राजनीति तथा विभिन्न सैद्धान्तिक–वैचारिक विषयमा प्रशिक्षण दिनुहुने आयोजकले जानकारी दिएको छ ।