काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधिसभा सांसद बनेका अमरेशकुमार सिंहले वर्तमान वालेन सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन् । उनले वर्तमान सरकार जनताको पक्षमा नभएको संकेत गरेका छन् ।
हिमालय टिभीको एक कार्यक्रममा उनले कानुनी प्रक्रिया पूरा नगरी व्यापारीहरूलाई पक्राउ गर्ने, संसद्लाई कमजोर बनाउने र संविधानको मर्म विपरीत शासन चलाउने प्रवृत्ति बढेको बताएका हुन् ।
सिंहले वर्तमान सरकारको शैलीलाई “पुलिस स्टेट” उन्मुख भन्दै लोकतान्त्रिक मूल्य कमजोर बनाउने काम भइरहेको आरोप लगाए । उनले व्यापारीहरूलाई पक्राउ गरेर भोलिपल्टै छाड्ने घटनाले देशबाट अर्बौं रुपैयाँ बाहिरिएको दाबी गरे । साथै उनले संसद् छल्ने, महानगरको शैलीमा देश चलाउन खोज्ने र जनताको वास्तविक समस्या बेवास्ता गर्ने प्रवृत्तिले सरकारप्रति जनविश्वास घट्दै गएको बताए ।
मधेश, सुकुम्बासी र सीमावर्ती क्षेत्रका नागरिकका समस्या समाधान गर्न सरकार असफल भएको उल्लेख गर्दै उनले वर्तमान सत्ता “तथाकथित सरकार” जस्तै बनेको टिप्पणी गरे । उनले संविधान र लोकतान्त्रिक प्रणाली नै संकटमा पर्ने अवस्था सिर्जना भएको चेतावनी समेत दिएका छन् ।
सिंहले अर्थमन्त्री स्वर्णीम वाग्लेले प्रस्तुत गरेको बजेटप्रति पनि संसद मै विरोध गरेका थिए ।