प्रकाश छन्त्याल, खरबाङ (बागलुङ) ।
राष्ट्रिय जनमोर्चा बागलुङ जिल्ला समितिको आयोजनामा जनप्रतिनिधि कार्यशाला गोष्ठी बडिगाड गाउँपालिकाको खरबाङमा २०८३ जेठ २ गते शनिबार सम्पन्न भएको छ ।
जिल्लाका विभिन्न पालिकाबाट निर्वाचित राजमो जनप्रतिनिधिको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पालिकादेखि वडासम्मको प्रगति विवरण प्रस्तुति र बाँकी रहेको एक वर्षको कार्यकालमा जनप्रतिनिधिले खेल्नुपर्ने भूमिका विषयमा छलफल गरी विभिन्न निर्णय गरिएको छ ।
निर्वाचित जनप्रतिनिधिको प्रगति विवरण प्रस्तुत गर्नेहरूमा जिल्ला समन्वय बागलुङ प्रमुख अमरबहादुर थापा, जैमिनी नगरपालिका प्रमुख नरबहादुर पुन, बरेङ गाँउपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा, बडिगाड गाउँपालिका उपाध्यक्ष भीमसेन वन र काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापा हुनुहुन्थ्यो ।
त्यस्तै कार्यक्रममा बरेङ गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष नरसिंह पुन, बरेङ गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष हीराबहादुर घर्ती, जैमिनी नगरपालिका वडा नं. ४ का वडासदस्य खगेन्द्र थापा, वडा नं. ५ का वडासदस्य विष्णु शर्मा, वडा नं. ६ का वडासदस्य तुलबहादुर पुन, वडा नं. ४ का वडासदस्य कोपिला थापा, वडा नं. १० का वडासदस्य सीता विक, बागलुङ नगरपालिका वडा नं. ३ का वडासदस्य पवित्रा सुनार, वडा नं. १४ का वडासदस्य दिलबहादुर नेपाली, गलकोट नगरपालिका वडा नं. १ का वडासदस्य पूर्णबहादुर खत्री, वडा नं. ८ का वडासदस्य अमृता सुनार, वडा नं. ९ वडासदस्य नारायण सापकोटा, बडिगाड वडा नं. ८ का वडाअध्यक्ष जङ्गबहादुर बलालथापा, वडा नं. १ का वडासदस्य सोमान्त सलामी, वडा नं. ९ का वडासदस्य लालबहादुर छन्त्याल, ढोरपाटन नगरपालिका वडा नं. ६ का वडासदस्य ज्ञानबहादुर भण्डारी, निसीखोला गाउँपालिका वडा नं. ३ का वडासदस्य विमला सुनार, वडा नं. ५ का वडासदस्य मतिमला विक, वडा नं. ६ का वडासदस्य मनसुर बुढा र वडा नं. ७ का वडासदस्य सङ्गिता विकलगायतले कार्यशालामा परेका कठिनाइका साथै पालिकादेखि वडासम्म्म हालसम्म भएको कार्य प्रगतिका प्रस्तुति गरेका थिए ।
राजमो जनप्रतिनिधिको सो कार्यशाला गोष्ठीमा स्थानीय तहका वडास्तरमा भए/गरेका काम, गतिविधि र पार्टीसँग समन्वयका विषय प्रस्तुत गरिएको थियो । स्थानीय तहका योजना तथा नीति तय गर्ने क्रममा पार्टी र जनप्रतिनिधिबिच समन्वय गरी जनप्रतिनिधिले पार्टी निर्णयबमोजिम बैठकमा आफ्ना योजना तथा नीति पेस गरी कार्यान्वयन गर्न जोड दिने निर्णय भएको बताइएको छ ।
त्यस्तै आगामी नगर तथा गाउँसभामा तय गरिने विकास निर्माणको समन्वयमा जनप्रतिनिधिले योजना छनोट, कार्यान्वयन र त्यसलाई पार्टीको दृष्टिकोणसँग जोड्ने कार्यलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्ने, पार्टी र जनप्रतिनिधिका बिचमा पार्टीले जनप्रतिनिधिलाई परिचालन गर्न प्रत्येक पालिकामा बैठकमा सहभागी हुनुभन्दा अगाडि पार्टीबाट आवश्यक सल्लाह लिएर मात्र सहभागी हुने र जनप्रतिनिधिले पार्टीलाई बुझाउनुपर्ने सुविधाबापत प्राप्त हुने रकमको प्रतिशत असार मसान्तसम्म अनिवार्य भुक्तानी गर्ने र हिसाब मिलान गर्नुपर्ने पार्टीका कार्यकर्ताले तुरुन्त जिल्ला कार्यालयमा सम्पर्क गरी हिसाब मिलान गर्नेलगायतका निर्णय गरिएको आयोजकले बताएको छ ।
गोष्ठीमा राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे र नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय उपाध्यक्ष काजीगाउँले श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको थिए ।
बागलुङ जिल्ला समन्वय प्रमुख अमरबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठी राजमो जिल्ला बागलुङका अध्यक्ष तिलक थापाको अध्यक्षता, बडिगाड गाउँपालिका उपाध्यक्ष भीमसेन वनको स्वागत र राष्ट्रिय जनमोर्चा जिल्ला बागलुङ सचिव भीमलाल पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
