क्वालालम्पुर । मलेसियाको पश्चिमी तटमा रहेको पाङ्गोर टापुमा इन्डोनेसियाका ३७ जना कागजातविहीन आप्रवासी बोकेको डुङ्गा डुब्दा १४ जना बेपत्ता भएको अधिकारीले बताएका छन् ।
पेराकमा स्थित मलेसियन मेरिटाइम एन्फोर्समेन्ट एजेन्सी (एमएमइए) ले सोमबार एक जना स्थानीय माझीले समुद्रमा जीवित व्यक्ति तैरिरहेको सूचना दिएपछि घटनाको आशङ्का गरी उद्धार प्रयास गरिएको थियो ।
प्रारम्भिक जानकारीअनुसार डुङ्गामा सवार ३७ जनामध्ये २३ जना पीडितलाई उद्धार गरिएको छ भने बाँकी व्यक्ति पत्ता लगाउने प्रयास जारी छ । पेराक एमएमइएका निर्देशक मोहम्मद सुकरी खोटोबले विज्ञप्ति जारी गर्दै प्रारम्भिक अनुसन्धानले आप्रवासीहरू मे ९ मा इन्डोनेसियाको किसरनबाट पेनाङ, तेरेङ्गानु, सेलान्गोर र क्वालालम्पुरलगायत मलेसियाका अन्य गन्तव्यतर्फ हिँडेको उल्लेख गरे ।
एजेन्सीले बेपत्ता व्यक्तिको खोजी गर्न डुङ्गा, हेलिकप्टर तथा विमान तैनाथ गरेको बताए । उद्धार गरिएका व्यक्तिलाई थप अनुसन्धानका लागि प्रहरीलाई बुझाइएको छ ।
मलेसिया एसियाका गरिब भागबाट आएका लाखौं आप्रवासीको मुख्य गन्तव्य हो, जसमध्ये धेरै कागजातविहीन छन्, जसले निर्माण र कृषिलगायत उद्योगमा काम गरिरहेका छन् । यद्यपि मानव बेचबिखनको अखडा बनाइएका सीमामा प्राय: खतरनाक स्थिति हुने गरेको र त्यसले गर्दा डुङ्गा डुब्ने गरेको बताइएको छ ।
यसअघि सन् २०२५ नोभेम्बर मा थाई–मलेसियन तटनजिकै अनियमित आप्रवासी बोकेको डुङ्गा पल्टिदा ३६ जना आप्रवासीको मृत्यु भएको थियो । (रासस/एएफपी)