काठमाडौँ । विभिन्न किसान सङ्गठन सम्मिलित संयुक्त किसान सङ्घर्ष समितिले सुकुम्बासीमाथिको डोजर आतङ्क बन्द गर्न माग गरेका छन् ।
२०८३ वैशाख २४ गते बिहीबार बैठक सम्पन्न गर्दै उनीहरूले देशव्यापी सुकुम्बासी आन्दोलनप्रति ऐक्बद्धता तथा पूर्ण सहयोग गर्ने निर्णय गरेको हो ।
उनीहरूले सुकुम्बासी आन्दोलनको समर्थनमा अन्य सङ्घर्षका कार्यक्रमसमेत सञ्चालन गर्ने निर्णय भएको बताए ।
सरकारले सकुम्बासीमाथि डोजर लगाई घरटहरा भत्काएर आतङ्क र दमन मच्याएकोमा त्यसको विरोध गर्दै त्यसलाई तुरुन्त रोक्नुपर्ने माग उनीहरूको छ ।
सरकारी दमनका कारण आत्महत्या गर्न बाध्य किसानको प्रसङ्ग उठाउँदै उनीहरूले मृतकका परिवारलाई क्षतिपूर्ति दिन तथा अलपत्र सुकुम्बासीलाई तत्काल गास, बासको व्यवस्था गर्न माग गरे ।
अव्यवस्थित सुकुम्बासीको हकमा कानुनअनुसार व्यवस्थापन गर्न उनीहरूको सरकारसित माग छ ।
बैठकमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठ, क्रान्तिकारी किसान महासङ्घका अध्यक्ष सीताराम तामाङ, प्रगतिशील किसान सङ्घका इन्चार्ज लोकनारायण सुवेदी, अखिल नेपाल किसान महासङ्घका पूर्व महासचिव बलराम बासकोटा, प्रतिनिधिहरू सीमा रिजाल, डा. केशव खड्का, क्रान्तिकारी किसान महासङ्घका महासचिव धनेन्द्र पोखरेल, प्रतिनिधि भरत फुयाँलको सहभागिता रहेको थियो ।