कावासोती । नवलपुरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) को आयोजनामा दोस्रो जिल्ला भेलासँगै एक सय सैतिसौँ अन्तर्राष्ट्रिय मजदुर दिवस सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य भागिरथ भट्टराईको प्रमुख आतिथ्यमा २०८३ वैशाख १८ गतेकासो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको विशेष अतिथिमा राजमोकै अर्का केन्द्रीय सदस्य दीपक पाण्डे, राजमो जिल्ला अध्यक्ष गिरबहादुर महतारा र जातीय समता समाजकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी विक हुनुहुन्थ्यो ।
त्यस्तै कार्यक्रममा तराई मधेस जनवादी मोर्चाका केन्द्रीय सदस्य रूपनारायण महतो, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्ला अध्यक्ष भीमप्रसाद आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष विकाराम चौधरी, अखिल नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष विष्णु पाण्डे र समता समाजका जिल्ला अध्यक्ष गोविन्दलाल विकको पनि आतिथ्य रहेको थियो ।
मे दिवसको कार्यक्रम समापनसँगै अघि बढेको सो भेलामा राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेर छलफलसँगै पारित भएको थियो ।
भेलाले ऋषिराम कँडेलको अध्यक्षतामा सात सदस्यीय जिल्ला समिति निर्वाचन गरेको छ । समितिको उपाध्यक्षमा विष्णु पौडेल, सचिवमा दुर्गा विक, कोषाध्यक्षमा लालु खराल तथा सदस्यहरूमा ज्ञानु थापा, उमानाथ कँडेल र मनबहादुर घर्ती रहनुभएको छ ।
समितिलाई शिवलाल लामिछाने र नारायण देवकोटाले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता अन्टुकका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष शालिकराम सापकोटाले तथा सञ्चालन जिल्ला समितिका सदस्य ऋषिराम कँडेलले गर्नुभएको थियो । उपस्थित सहभागीलाई लालु खरेलले स्वागत गर्नुभएको थियो ।
