काठमाडौँ । चुनावको सुरक्षा व्यवस्था मिलाउन भोजपुर हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको छ । २०८२ फागुन ६ गते बुधबार भएको उक्त दुर्घटनामा २४ जना घाइते भएका छन् ।
घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते आठ जनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार १६ जनाको अवस्था समान्य रहेको छ । उनीहरूको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । बसका दुई जना चालक र सहचालक गरी बसमा २६ जना सवार रहेका थिए ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतका अनुसार दुर्घटनामा घाइते भएका दुई जनालाई काठमाडौँ ल्याइसकिएको छ भने अन्य आठ जनालाई भने हेलिकप्टरमार्फत् ल्याउन लागिएको छ ।
बुधबार दिउँसो १:१५ बजे भोजपुरबाट टेम्केमैयुङ गाउँपालिकामा जाँदै गरेको ना४ ख७३१७ नम्बरको बस भोजपुर नगरपालिका ३–स्थित सेतीबगरमा दुर्घटनामा परेको थियो ।
बस करिब २०० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । सेनाको सो टोली निर्वाचनका लागि टेम्केमैयुङ गाउँपालिकामा बेसक्याम्प स्थापनाका लागि बसमा जाँदै थियो ।