खलङ्गा, प्युठान । राष्ट्रिय जनमोर्चाका नेता प्रतिनिधि सभा सदस्यका उम्मेद्वार तिलक जिसीको विशेष उपस्थितिमा माण्डबी गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला गरिएको छ । भेला मार्सीबाङमा आइतबार सम्पन्न पारिएको हो ।
सो भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि जिसीले राष्ट्र राष्ट्रियताको सवालमा सधै आवाज उठाउने पार्टी राष्ट्रिय जनमोर्चा मात्र भएको दाबी गर्नुभयो ।
‘नीति बिचार राम्रो भएमात्र देशको विकास हुन सक्छ, विकास गोजिबाट निकालेर गर्नेकुरा होइन तर अहिले बजारमा जे पनि गर्छु भनेर भ्रम छर्दैछन् उनीहरूबाट सचेत हुनुहोला ।’ जिसीले अगाडि भन्नु भयो– ॅअन्य पार्टीका उम्मेद्वार हेर्नुभयो भने प्युठानमा जन्मेर जिल्ला बाहिर बस्ने कहिलेकाहीँ चुनाव र बिशेष काममा मात्र प्युठानमा आएर माटो जन्मभुमिको माया लाग्छ भन्दै झुटको खेती गरेको देख्दा दया लागेर आउँछ ।’
लगातार जिल्लामा जनताको दुःख सुखमा साथ दिदै आएको वास्तविक प्युठानको आम जनताको भावना बुझेर काम गर्दै आएको हुनाले आफुलाई गिलास चिन्हमा मतदान गरि विजयी गराउन जिसीले सम्पूर्ण प्युठानबासी न्यायप्रेमी जनसमुदायलाई आग्रह गर्नुभयो ।
जनतालाई झुक्याएर चुनावमा मिठाकुरा गरेर पैसा बाडेर जित्ने कोशिस गर्नेहरूबाट प्युठानी जनता सजग हुन समेत जिसीले आग्रह गर्नुभयो । साथै आफुले जितेमा संसदमा जनताको पक्षमा खबरदारी गर्दै जिल्लाको विकासमा ध्यानदिने जिसीको भनाई थियो ।
अखिल छैठौंका केन्द्रीय अध्यक्ष तथा समानुपातिक उम्मेद्वार शुवास जिसी, बिनोद कुमार बिक, जातीय समता समाजका महासचीव खगेश्वर बिक, अखिल नेपाल युवक संघका अध्यक्ष कमल पौडेल, र जनमोर्चाका स्थानीय नेता संकर पोख्रेलले मन्तव्य राख्नुभएको थियोे ।
माण्डबी गाउँपालिकाका सबै वडाबाट प्रतिनिधिमुलक रुपमा अगुवा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेकोथियोे ।
भेलाले लिल बहादुर राउतको संयोजकत्वमा ३५ सदस्य चुनाब प्रचारप्रसार समिति गठन गर्नुका साथै सबै वडाहरूमा तत्काल कार्यक्रम तय गर्ने र योजना निर्माण गरि प्रचारप्रसारलाई तिब्रता दिने कार्यक्रम निश्चित गरिएको छ ।