टेकराज भुसाल, बुटवल ।
अर्घाखाँची भूमिकास्थान–रुपन्देही सम्पर्क समाजको दोस्रो वार्षिक साधारणसभा २०८२ पुस २५ गते शुक्रबार बुटवलमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन बुटवल उपमहानगरपालिका–१३ का वडा सदस्य लालबहादुर गुरुङले गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै गुरुङले अर्घाखाँची–भूमिकास्थान क्षेत्रबाट विभिन्न पेसाव्यवसाय तथा रोजगारीका सिलसिलामा रुपन्देहीमा बसोबास गर्दै आएका व्यक्तिलाई एकताबद्ध गर्दै समाजले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
उहाँले समाजले सामाजिक एकता, आपसी सहयोग र दु:खसुखमा साथ दिने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै डा. नारायणप्रसाद बेलवासेले समाज केवल भेटघाट र औपचारिकतामा सीमित नभई समाज रूपान्तरणको माध्यम बन्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले अर्घाखाँची र रुपन्देहीमा रहेका विपन्न, अशक्त तथा अप्ठ्यारोमा परेका नागरिकका लागि संस्थागत रूपमा सहयोगका कार्यक्रम अघि बढाउन सुझाव दिनुभयो ।
समाजका सल्लाहकार उमलाल बन्जाडे, रामप्रसाद भुसाल, तुल्सिराम बेलवासेलगायतले बोल्दै समाजले स्थापना कालदेखि नै सामाजिक, रचनात्मक तथा मानवीय कार्य गर्दै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा समाजका अध्यक्ष लक्ष्मण बेलबासेले अध्यक्षता, सचिव यमप्रसाद गैरेले सञ्चालन तथा उपाध्यक्ष गोपाल गैरेले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभामा अध्यक्ष लक्ष्मण बेलबासेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्दै समाजले आगामी दिनमा सामाजिक सेवा, आपतकालीन सहयोग, शिक्षा तथा सांस्कृतिक गतिविधिलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
साथै लेखा समिति संयोजक थम्मन केसीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
२०७९ सालमा स्थापना भएको अर्घाखाँची भूमिकास्थान–रुपन्देही सम्पर्क समाजले हालसम्म विभिन्न सामाजिक तथा रचनात्मक कार्य गर्दै आएको आयोजकले जनाएको छ ।