काठमाडौँ । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन् ।
विश्वक्रान्ति उपनाम रहेको तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरोले २०८२ पुस १ गते मङ्गलबार पक्राउ गरेको हो ।
धनकुटा घर भई काठमाडौँको कपन बस्ने ५० वर्षीय राजकुमार तामाङ लामालाई पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार लामाका तीनओटा उपनाम छन् । उनी कुमार, विश्वक्रान्ति र देवराज लामाका उपनामबाट चिनिन्छन् ।
लामा हालै धरान उपमहानगरका मेयर हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीमा उपाध्यक्ष बनेका थिए ।
लामा विरुद्ध २०६८ फागुन १५ गते काठमाडौँको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइमबम विस्फोट गराएको आरोप छ । त्यस घटनामा तीन जनाको मृत्यु भएको, एक जना घाइते भएका थिए ।
कर्तव्य ज्यानसम्बन्धी कसुरसमेतमा फरार रहेका उनलाई सुरुमा २०६९ असार १२ गते पाँचथरको भुसपातेमा विष्फोटक पदार्थसहित पक्राउ गरिएको थियो ।
सुरुमा कर्तव्य ज्यानसम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि उनलाई काठमाडौँ पठाइएको थियो । केन्द्रीय कारागार नख्खुमा कारागार चलान गरिएका लामा २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा छुटेका थिए तर उनी विरूद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विष्फोटक पदार्थसम्बन्धी मुद्दामा भने फरार देखिएका थिए । अहिले उनलाई पक्राउ गरी अनुसन्धानका लागि पाँचथर पठाएको प्रहरीले जनाएको छ ।