जलेश्वर । जेनजीको आन्दोलनका क्रममा गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये दुई सय ७३ जना अझै फरार छन् ।
जलेश्वर कारागार तोडेर भागेका ४० भारतीयसहित पाँच सय ७६ कैदीबन्दीमध्ये तीन सय तीन जना फर्किसकेका जेलर अशोककुमार क्षेत्रीले बताए ।
उनका अनुसार अझै पनि भागेका कैदीबन्दी आउने क्रम जारी रहेको छ । कारागार तोडेर भागेका कैदीबन्दीलाई भदौ २५ गते कारागार प्रशासनले फर्किन आह्वान गरेको थियो ।
जेलर क्षेत्रीले फर्की नआउने फरार कैदीबन्दीउपर कारागार ऐन–२०७९ र अन्य नेपालको प्रचलित कानुनबमोजिम कारबाही हुने तथा कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिउपर पनि कानुनबमोजिम कारबाही हुने बताए ।
जलेश्वर कारागारबाट भागेकामध्ये १३ कैदीबन्दीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राऊ गरी पुन: कारागार फर्काउन मद्दत गरेका थिए भने बाँकी कैदीबन्दी आफै स्वेच्छाले कारागारमा फर्किएका हुन् ।
फरार कैदीबन्दीको खोजतलास गरिरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । (रासस)