काठमाडौँ । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले कम्युनिस्ट पार्टीले क्रान्तिकारी भूमिका निर्वाह गर्न सकेमा मात्रै नेपालमा राजनीतिक समाधान गर्न सक्ने बताउनुभएको छ ।
एक सय नवौँ अक्टोबर क्रान्ति दिवसको अवसरमा २०८२ कात्तिक २१ गते शुक्रबार राजधानीमा आयोजित अन्तरक्रियामा मन्तव्य राख्दै प्रवक्ता पुरीले सो धारणा व्यक्त गर्नुभएको हो ।
‘कम्युनिस्ट पार्टीले क्रान्तिकारी भूमिका निर्वाह गर्न सकेमा मात्र नेपालमा राजनीतिक समाधान हुन सक्छ’ पुरीले भन्नुभयो– ‘कम्युनिस्ट मूल्यमान्यताका आधारमा नै सामाजिक परिवर्तन गर्न सकिन्छ ।’
कम्युनिस्ट पार्टीले मात्रै समाजको आमूल परिवर्तन गर्न सक्ने बताउँदै उहाँले भन्नुभयो– ‘अरूले हल्ला गर्ने मात्रै हो ।’
जेनजी आन्दोलननको सन्दर्भमा उठेको भ्रष्टाचारको सन्दर्भमा उहाँले भन्नुभयो– ‘भ्रष्टाचारीलाई कारबाही गर्नुपर्दछ । जेनजीले पनि भ्रष्टाचार, सामाजिक सञ्जालमा लागेको प्रतिबन्धको विरोध र सुशासनको पक्षमा आन्दोलन गरेका थिए ।’
पुरीले भन्नुभयो– ‘तर जेनजी असरल्ल फैलिएका छन्, उनीहरू आफूले आफैलाई चिन्न सकिरहेका छैनन्, जसले गर्दा उनीहरूको निश्चित उद्देश्यमा नै कमि देखिन्छ ।’
प्रवक्ता पुरीले जेनजी आन्दोलनलाई क्रान्तिकारी शक्तिले आफ्नोअनुकूल बनाउन नसकेको टिप्पणी गर्दै भन्नुभयो– ‘जेनजी आन्दोलनलाई हामीले आफ्नोअनुकूल बनाउन सकेनौँ, अन्य शक्तिले उनीहरूको आन्दोलनलाई दुरुपयोग गरे ।’
नेपाली राज्यसत्ता नेपालीको हातमा नरहेको बताउँदै उहाँले चुनाव हुन्छ कि हुँदैन भन्न सक्ने अवस्था नरहेको बताउनुभयो ।
आमूल परिवर्तनको बारेमा टिप्पणी गर्दै उहाँले आमूल परिवर्तनको आवश्यकताको पूर्ति गर्दै गर्दा विगतका उपलब्धिको पनि संरक्षण हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
“वर्तमान राष्ट्रिय राजनीतिक अवस्था र आमूल परिवर्तनको आवश्यकता” विषयक उक्त कार्यक्रमको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव सिपी गजुरेल हुनुहुन्थ्यो ।
कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य अनिल शर्मा, नेकपा (बहुमत) का धर्मेन्द्र वास्तोला, वैज्ञानिक समाजवादी पार्टीकी राजेश्वरी सुवेदी, प्रतिरोध अभियानका सङ्गीत श्रोतालगायतको आतिथ्य रहेको थियो ।
दिनेश शर्माको अध्यक्षता तथा चिन्तामणि पौडेलको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रमा सहभागीलाई केदार खतिवडाले स्वागत गर्नुभएको थियो ।
