काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको औपाचारिक घोषणासँगै पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई तोक्ने प्रस्ताव पारित भएको छ ।
त्यस्तै नेता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव हलबाट पारित गरिएको हो । विभिन्न कम्युनिष्ट घटकहरू मिलेर बुधबार नयाँ पार्टी घोषणा गरेका हुन् । पार्टी एकता घोषणा काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच गरिएको हो ।
एकीकृत पार्टीबीच आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको बताइएको छ । एकता प्रक्रियामा सहभागी भएका पार्टीका साविकका केन्द्रीय समितिलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने र केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद रहने व्यवस्था गरिएको समाचार छ ।
त्यस्तै प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सहसंयोजकको व्यवस्था समझदारी भएको एक नेताले बताए । एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, आयोजना, संगठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिने नौ दलहरूबीच सहमति भएको पनि समझदारी पत्रमा उल्लेख छ । पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्तअनुरुप हुने बताइएको छ ।
प्रधान महत्वको कुरा त यो हो कि त्यो सम्पूर्ण प्रक्रिया कैयौँ सिद्धान्त, नीति वा कम्युनिस्ट रुपान्तरणका लागि भइरहेको छैन । त्यो प्रक्रिया पारस्परिक अन्तरविरोध वा आगामी चुनावका लागि शक्ति सञ्चयका लागि नै भइरहेको छ । त्यसकारण सैद्धान्तिक र राजनीतिक दृष्टिकोणले त्यसको कुनै महत्व नभएको कुरा प्रष्ट छ ।