काठमाठौँ । जेनजी आन्दोलनले उद्योगव्यवसायमा पारेको असरबारे सरकारको ध्यानाकर्षण गराउन अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घले कात्तिक १९ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
सङ्घका अध्यक्ष ढाकाराम पौडेलका अनुसार देशैभरिका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाउन थालिएको हो ।
उहाँका अनुसार २०८२ कात्तिक १४ गते बसेको पाँचौँ केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार ज्ञापनपत्र बुझाउन थालिएको छ ।
जेनजी आन्दोलनका कारण देशको उद्योगव्यवसायमा परेको असर तथा पछिल्लो समयमा सरकार र उद्योगीमाझ विद्युत् बक्यौतासम्बन्धी विवादले अर्थतन्त्रमा परेको असर ज्ञापनको मुख्य विषय हुने पौडेलले बताउनुभयो ।
उहाँका अनुसार बारा, चितवन, नवलपुर, रुपन्देही, काठमाडौँ, ललितपुर, भक्तपुर, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, सुर्खेत, प्युठान, अर्घाखाँची, कपिलवस्तु, कास्की, बागलुङलगायतका जिल्लाबाट एकैपटक ज्ञापनपत्र बुझाउने अन्तिम तयारी पूरा भएको छ ।