रुपन्देही । ०४६ सालको जनआन्दोलन र विशेषगरी मदन–आश्रितको रहस्यमय दासढुंगा दुर्घटनामा निधनपछि एमालेलाई उचाई प्राप्त गर्न महत्वपूर्ण सहयोग पुर्याएर कुनै बेला निकै एमालेमा निकै चर्चा पाएका प्रगतिशील गायक रमेश अर्यालको निधन भएको छ ।
अर्याल एमालेवृत्तमा जनवादी गायकको रुपमा स्थिापित थिए । त्यो समयमा ‘म मरे पनि नरोए पियारी, अघि बढे हिम्मत गरेर’, ‘सेतो पहिरन पहिरेता पनि अघि बढे लाल सलाम ठोकेर’, ‘लाल सिन्दुर सिउँदैमा, कम्युनिस्ट सरकार बनाउ है यही आउँदो हिउँदमा’ लगायतका गीतहरू गाएर प्रगतिशील गायकको छवि बनाएका रमेश अर्यालको निधनसँगै यी गीतहरूइतिहास बनेका छन् ।
आफ्ना गीतमार्फत राष्ट्रिय पहिचान बनाएका गायक अर्यालको ८४ वर्षको उमेरमा कपिलवस्तुको वाणगंगा नगरपालिका–१ मन्द्रेली टोलमा कार्तिक ८ गते निधन भएको हो । अर्यालको सोही दिन दिउँसो बाणगंगास्थित लक्ष्मणघाटमा अन्त्येष्टि गरिएको छ ।
एमाले महासचिव मदन भण्डारी र जीवराज आश्रित रहस्यमय मृत्युपछि अर्यालको रचना, संगीत र स्वरमा तयार भएका गीतहरू देशभर गुञ्जिन थालेपछि उनको चर्चा चुलिएको थियो । त्यो समयमा उनले आँफै मेहनत गरेर ‘म मरे पनि नरोए पियारी, अघि बढे हिम्मत गरेर’, ‘सेतो पहिरन पहिरेता पनि अघि बढे लाल सलाम ठोकेर’ र ‘कम्युनिस्ट सरकार बनाउ है यही आउँदो हिउँदमा’ जस्ता गीतहरू गाएपछि देशभर चर्चा बटुलेका थिए ।
एमालेका लागि यी गीत चुनावी मसला बनेका थिए । तत्कालीन राजनीतिक परिवेशमा जनचेतना जगाएका यी गीतका भावहरू मदन भण्डारीको रहस्यमय मृत्युपछिका कालखण्डमा चर्चामा पुगेका हुन् ।
