बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं ३ का वडाअध्यक्ष हेमेन्द्र घर्तीमगरले स्थानीय जनतासँग सरोकार नराखी योजना छनौट गरेको भन्दै राष्ट्रिय जनमोर्चा वडा समितिले आपत्ति जनाएको छ ।
ढोरपाटन नगरपालिका वडा नं ३ को आर्थिक वर्ष २०७७/७८को योजना निर्माण तथा छनोट प्रकृयामा वडा अध्यक्ष तथा अन्य जनप्रतिनिधिहरुले स्थानिय जनतासँग कुनै छलफल नगरी योजना छनोट गरेकोमा ध्यानाकर्षण भएको राजमो वडा समितिले जनाएको छ ।
‘स्थानीय तहले योजना छनोट गर्ने सन्दर्भमा प्रत्येक वडबाट निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय जनताको आवश्यकता, भावना र स्थानीय तह सन्चालन ऐन तथा संविधानको मर्ममा आधारित रहेर कार्य गर्नु पर्दछ । योजना छनोट गर्दा जनताको हित सर्वेपरी राखेर काम गर्नुपर्दछ ।’ बुधबार राजमोले प्रकाशित गरेको अपीलमा भनिएको छ, ‘खासगरी स्थानिय तहले योजना निर्माण तथा छनोट गर्दा हरेक टोल टोलमा जनस्तरबाट योजना छनोट गर्नुपर्ने प्राबधान संविधानमा रहेपनि यसो हुन नसक्नु अत्यन्तै खेदजनक पक्ष हो ।’
सोझा वडा सदस्यहरुको फाईदा लिँदै वडाअध्यक्षले जनताको भावना र स्थानीय आश्यकता विपरित आफूखुसी योजना निमार्ण गरेको राजमोको आरोप छ । राजमो वडा समितिका अध्यक्ष हिराबहादुर खत्रीद्वारा हस्ताक्षरित अपीलमा जनभावना र संविधानको मर्मविपरित नजान वडा कार्यालयलाई खबरदारी गरिएको छ ।