भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
एमालेको भक्तपुर जिल्ला कमिटीद्वारा गुण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा आफ्नो पार्टी रहेको र त्यसमा नेपाली कांग्रेस पनि सहमत हुने विश्वास व्यक्त गरे ।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने हो भने राजनीतिक दलहरूको विश्वास जितेर निर्वाचन प्रक्रियामा सबैलाई सहभागी गराउनुपर्ने बताए । “यतिबेला राष्ट्रलाई एकता र स्थिरता चाहिएको छ । लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा आएर शान्ति सुव्यवस्था कायम गर्दै देशलाई समृद्ध बनाउनुपर्छ, ओलीले भने– “सरकारले यसका लागि सकारात्मक र अनुकूल वातावरण निर्माण गर्नुपर्छ ।”
कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा समस्या उत्पन्न भएका बेला देशभित्रै एकता र सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा पार्टीभित्र विवाद सिर्जना गर्न नहुने धारणा राखेका थिए ।
कार्यक्रममा एमालेका बागमती प्रदेश कमिटीका इञ्चार्ज डा. राजन भट्टराई, पोलिटब्यूरो सदस्य महेश बस्नेत लगायतले मन्तव्य दिएका थिए ।