काठमाडौं । सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) ५०० वटा राख्ने तयारी गरेको छ । हाल भारत र चीन तर्फका सीमानामा ८६ वटा बीओपी रहेका छन्।
गृह मन्त्रालय श्रोतका अनुसार ८९ वटा बीओपी थप्ने प्रक्रिया अगाडि बढाएको छ भने सँगै २१ वटा बीओपीको स्तरोन्नती पनि भइरहेको छ ।
सरकारले ११४ वटा बीओपी थप गर्ने निर्णय गरेको थियो । यो निर्णय अनुसार भारततर्फ २१ र चीन तर्फका सीमानामा ४ वटा बीओपी स्थापना भइसकेका छन् । बाँकी रहेका ८९ बीओपी स्थापना गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको गृहमन्त्रालयले जानकारी गराएको छ ।
यो सँगै भारत र चीनका सीमानामा २२२ वटा बीओपी रहनेछन् । स्थापनाको तयारीमा प्रदेश १ का सीमानामा ३०, प्रदेश २ मा १३ र बागमती प्रदेशमा दुई वटा स्थापना हुने भएका छन् । यस्तै प्रदेश ५ मा ३६ वटा र सूदुरपश्चिम प्रदेशका सीमानामा १३ वटा बीओपी रहने छन् ।
सीमानामा नेपालको उपस्थिति कमजोर भएको गुनासो आइरहेका बेला सरकारले सीमा सुरक्षा बला थप्ने योजना बनाएको हो । अहिले सशस्त्रको आधाभन्दा बढी जनशक्ति सीमानामा खटिएको सशस्त्र प्रहरीले जनाएको छ । सीमामा सुरक्षाकर्मी नहुँदा भारतीय पक्षबाट सीमा अतिक्रमण हुनुका साथै अवैध तत्वहरुको घुसपैठ बढ्ने गरेको छ ।