युगदर्शन साप्ताहिक वर्ष १७, अङ्क ५ मा प्रकाशित सम्पादकीय
नेपालमा जुन १३ देखि अक्टोबर २ अर्थात जेठको अन्तिम हप्तादेखि असोजको दोस्रो हप्तामाझको एक सय २२ दिनको समयलाई मनसुन अवधि मानिन्छ । यस वर्षको मनसुन सामान्यत अक्टोबर २ अर्थात असोज १६ गते वरिपरि समाप्त हुनुपर्दथ्यो । ठिक यही बेला जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज १७ गतेदेखि तीन दिनसम्म अविरल वर्षा हुने मनसुनसम्बन्धी पूर्वानुमान जारी गर्यो । पूर्वानुमान गरिएझैँ खासगरी बागमती, मधेस र कोशी प्रदेशमा असोज १८ र १९ गते अविरल वर्षा भयो । कैयौँ जिल्लामा केही घण्टामै तीन सय मिलिमिटरभन्दा बढी वर्षा भयो । त्यसको चपेटामा कोशी प्रदेशको इलामसहितका विभिन्न जिल्ला, मधेस प्रदेशका विभिन्न जिल्ला र बागमती प्रदेशका विभिन्न जिल्लामा बाढीपहिरो, डुबान, पहिरोजस्ता विपत्ति आइपरे । यी दुई दिनको वर्षाजन्य विपत्तिबाट हालसम्म ४८ जनाको निधन भइसकेको छ । अझै पनि कैयौँ मानिस बेपत्ता छन् । वर्षा, पहिरो, डुबानबाट कैयौँ राजमार्गमा ठुलो क्षति पुगेको छ । तराईका थुप्रै जिल्ला डुबानमा परेका छन् । इलामलगायत विभिन्न जिल्लामा पहिरो र चट्याङबाट दर्जनौँको ज्यान गइसकेको छ । पशुचौपायासहित धनको नोक्सानीको त मूल्याङ्कन हुनै बाँकी छ ।
सामान्यतः असोज लागेपछि मनसुन कमजोर बन्ने अपेक्षा गरिन्छ । तर यसपटक मनसुन समाप्त हुने समयमा नै झनै अविरल वर्षा पर्यो । यस्तो किन भइरहेको छ ? गत केही वर्षयता नेपालमा मात्रै नभएर विश्वभरि नै अनावृष्टि, अतिवृष्टि, खण्डवृष्टि, आगलागी, भीषण गर्मी, सुनामी, सुख्खा पहिरो, हिमपहिरो, खडेरीजस्ता परिघटना बढ्दै गएका छन् । यस्ता प्राकृतिक विपत्ति खालि नेपालमा मात्रै नभएर विश्वभरि हुने गरेका छन् । अहिलेको अविरल वर्षा नेपालमा मात्रै नभएर भारतको बिहार, बङ्गाललगायत विभिन्न भागमा भएको थियो । त्यहाँ पनि यसले ठुलो मात्रामा जनधनको क्षति पुर्याएको छ ।
प्राकृतिक विपत्तिलाई पूर्णतः रोक्न सकिन्न तर त्यसलाई नियन्त्रण वा न्यूनीकरण गर्न सकिन्छ । अहिले प्रकृतिमा जुन खालका अस्वाभाविक परिघटना देखा पर्न थालिरहेका छन्, त्यसका पछाडिको कारण जलवायु परिवर्तन हो भन्ने स्पष्टै छ । खासगरी मानवनिर्मित तापक्रम वृद्धिले गर्दा जलवायु परिवर्तन भइरहेको छ । त्यसले पृथ्वीको वायुमण्डलमा ओजोन तह पातलो हुँदै गएको छ भने तापक्रम वृष्टिले माथि उल्लिखित विभिन्न प्राकृतिक विपत्ति निम्त्याइरहेको छ । यसलाई कसरी रोक्ने ?
प्राकृतिक विपत्ति रोक्ने तात्कालिक र दीर्घकालीन दुई प्रकारका उपाय छन् । तात्कालिक उपाय भनेको क्षति न्यूनीकरण हो । त्यसका लागि आधुनिक वैज्ञानिक उपकरण र विधिको उपयोग गरेर सकेसम्म क्षति कम गर्ने हो अर्थात् बिपत् प्रतिकार्य । यो कार्य सम्पन्न गर्नका लागि सरकार र समाज दुवै संवेदनशील र सक्रिय हुनुपर्दछ । दोस्रो उपाय भनेको दीर्घकालीन उपाय हो । त्यसका लागि पृथ्वीको तापक्रम सन्तुलनमा ल्याउनुपर्ने हुन्छ । पछिल्लो केही दशकयता जसरी मानवनिर्मित तापक्रमले गर्दा पृथ्वीको तापक्रम बढ्दै गइरहेको छ, त्यसलाई घटाउँदै लैजानुपर्दछ र पृथ्वीको प्राकृतिक अवस्था पूर्ववत् कायम गरिनुपर्दछ । त्यसका लागि एकातिर वनजङ्गलको विनाशलाई रोक्नुपर्ने हुन्छ भने अर्कोतर्फ, औद्योगिक क्रियाकलापद्वारा पृथ्वीको प्राकृतिक अस्तित्वमाथि आँच पुर्याउने कामलाई तत्कालै रोक्नुपर्दछ । खासगरी औद्योगिक प्रदूषणलाई नियन्त्रण गर्नमा ध्यान पुर्याउनुपर्दछ ।
विश्वभरिका साम्राज्यवादी शक्तिले बेलगाम मुनाफाप्राप्तिको दौडमा पृथ्वीको अप्राकृतिक दोहन गरिरहेका छन् । उनीहरूको यस्तो प्रवृत्तिले उनीहरूलाई प्रशस्त मुनाफा प्राप्त भइरहेको छ तर त्यसको विपत्ति संसारभरिका निर्दोष र निरपराध जनताले भोगिरहेका छन् । अहिले हामीले भोगिरहेको विपत्ति पनि साम्राज्यवादीको त्यस्तै क्रियाकलापको प्रतिक्रिया हो । त्यसैले हामीले विश्व साम्राज्यवादले प्रकृतिको जुन अप्राकृतिक दोहन गरिरहेको छ, त्यसको विरुद्ध सशक्त र विश्वव्यापी आवाज उठाउनु अपरिहार्य भइसकेको छ ।