काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका फौजदारी कसुरमा संलग्नलाई कारबाही गर्न जाँचबुझ आयोगको प्रतिवेदन कुर्ननपर्ने धारणा अध्यक्ष गौरीबहादुर कार्कीको छ ।
आयोगका अध्यक्ष कार्कीले आयोगलाई देखाएर हत्या, हिंसा, आगजनीलगायतका फौजदारी अपराधको अनुसन्धान र कारबाही रोक्न नमिल्ने बताएका हुन् ।
उनले प्रहरी आफ्नो काम गर्न स्वतन्त्र रहेकोसमेत दाबी गरे ।
अध्यक्ष कार्कीका अनुसार फौजदारी अपराधका घटनामा प्रमाणअनुसार अनुसन्धान तहकिकात गर्न राज्यका अन्य निकायलाई कुनै बाधा रहेको छैन ।
‘जाँचबुझ आयोगको कामले नियमित प्रक्रियाबाट अनुसन्धान गरी दोषीलाई कारबाही गर्न कानुनी बाधा हुँदैन । फौजदारी अपराधका घटनामा प्रमाणअनुसार अनुसन्धान प्रक्रिया अघि बढाउनका लागि आयोगको काम कारबाहीले कुनै असर गर्दैन । आयोगको प्रतिवेदन कुर्नुपर्दैन’ कार्कीले भने ।
जेनजी आन्दोलनमा भएको दमन र प्रदर्शनकारीका कारण भएको विध्वंसको जाँचबुझ गर्न सरकारले विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।
यता गृहमन्त्रायले उक्त आन्दोलनमा भएका घटनाको अनुसन्धान जाँचबुझ आयोगले गरिरहेकाले तत्काल कुनै कारबाही अघि नबढाउन मातहत निकायलाई असोज ९ गते परिपत्र गरेको थियो ।
गृहले आयोगको प्रतिवेदन आएपछि मात्रै कारबाही गर्नू र तत्काल पक्राउ तथा अन्य कानुनी कारबाही नगर्नू भनेर परिपत्र गरेपछि सरकारको आलोचना भइरहेको छ ।
अध्यक्ष कार्कीको भनाइसँगै अब प्रहरीलाई उक्त घटनाको अनुसन्धान तहकिकात गर्न बाटो खुलेको छ । यसअघि आन्दोलनका क्रममा प्रहरीको हत्या र सार्वजनिक सम्पत्तिमा आगजनी, लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेपछि गृहमन्त्रालयले विज्ञप्ति जारी गरेको थियो ।