बिजुवार (प्युठान) । जिल्लाको झिम्रुक गाउँपालिकामा गत २–३ वर्षदेखि विभिन्न शिर्षकमा आर्थिक अनियमितता र दुरुपयोग भएको विषय खुल्दै आइरहेका छन् ।
पालिकाका प्रमुख–उपप्रमुखबाट नै उक्त अनियमित्ता भएको राष्ट्रिय जनमोर्चाका पालिका अध्यक्ष टिकाबहादुर जिसीले बताएका छन् ।
जिसीले आफ्नो फेसबुक वालमा गत आर्थिक वर्षमा गाडी भाडा, गाडी मर्मत र इन्धनका लागि भनेर करिब पच्पन्न लाख भन्दा बढी खर्च भएको लेखेका छन् ।
पालिकाले हिजो असौज १२ गते गाडी भाडामा लिने भनि सुचना प्रकाशित गरेसँगै पालिकामा देखिएको अनियमित्तालाई उजागार गर्दै जिसीले लेखेका छन् : ‘एउटा गाडी गाउँपालिकाको हुँदाहुँदै अर्को गाडी कस्का लागि र केका लागि हो ? प्रश्न उठाउन आवश्यक छ ।’
“गाउँपालिकाले मितव्ययीता आउपनाउनुको सट्टा फजुल खर्चमा जोड दिएको छ । यस प्रकारका धेरै खर्च देखिन्छन् । झिमरुक गाउँपालिकाको सर्वदलीय बैठकमा राष्ट्रिय जनमोर्चाको तर्फबाट मैले झिमरुक गाउँपालिकाले राखेका शिक्षक कर्मचारीको विषयमा, लामो समयदेखि तलब भत्ता वृद्धि नगरिएको हुँदा, अहिले राज्यले सरकारी कर्मचारी शिक्षकहरूलाई महंगी भत्ता दिएकोछ । यसै सन्दर्भमा झिमरुक अन्तर्गतका शिक्षक कर्मचारीको हकमा तलब तथा महंगी भत्ता वृद्धि गर्न जोडदार रूपमा कुरा उठाएको थिएँ ।”
पालिकाले शिक्षक–कर्मचारीहरू माथि पनि विभेद गरेको भन्दै जिसीले लेखेका छन्– “तर तलब तथा महंगी भत्ता वृद्धि नगरी विद्यालयलाई रकम निकाशा गरिएको छ । अर्कातिर गौमुखी बहुमुखी क्याम्पस शिक्षक कर्मचारीको हकमा सम्पूर्णलाई फूल स्केल दिने निर्णय गरेको छ । यसरी आफ्नै क्षेत्राधिकार भित्रपर्ने शिक्षक कर्मचारीहरू माथि विभेद गर्न मिल्छ ?”
यसै बीच हामीले टिका बहादुर जिसीसँग फोन सम्पर्क गरी विषयको गहिराईमा पुग्ने कोशिस गरेका थियौँ । पालिकामा पर्ने विभिन्न सानातिना कार्यहरूमा समेत भाडामा गाडी लिने र पालिकाबाट भाडा असुलि गर्ने कार्य भइरहेको जिसीले बताउनु भयो ।
पालिकाका उपप्रमुख प्रमोद पोख्रेलले नियमित पालिकाको भाडाको गाडी उपयोग गर्दै आएको जिसीको भनाई छ । पोख्रेल झिम्रुकको उपप्रमुख भएता पनि उनको बासोबास र व्यवासय बाग्दुलामा छ ।
गत कार्यकालमा उक्त पालिकाको नेतृत्व राष्ट्रिय जनमोर्चाका लितक जिसीले गरेका थिए । सो अवधिमा सुन्य वेरुजु रहँदै आएको थियो । तर २०७९ को निर्वाचनमा माओवादीका पितबहादुर महतरा विजय भएसँगै नेतृत्व गरेदेखि हालसम्म करिब दश करोड रकम पालिकामा वेरुजु देखिएको छ । यसरी पालिकाको सम्पत्ती र आर्थिक हिनामिना गर्नेहरूलाई जनताले समय मै पहिचान गर्नुपर्ने आवश्यकता छ ।