काठमाडौँ । श्रेष्ठले रवि लामिछानेलाई जंगी अड्डा जानबाट रोकिन् भन्ने प्रचारको प्रसंगमा सुमनाले रवि लामिछानेलाई इज्जत र मानवताको पाठसिकएका छिन् “हामीलाई सुमनाले लाइभ आएर जंगी अड्डा जानबाट रोकिन् भनी मेरो विरुद्ध प्रचार गर्न सक्ने गरी इमान कुन ठाउँमा मिल्काएर आउनुभयो ? नख्खुमा इज्जतसँगै मानवता पनि जलाउनुभयो र ?”
रास्वपाकी पूर्वनेता तथा सांसद समेत रहेकी सुमना श्रेष्ठले पार्टीभित्रकै कार्यकर्तामाथि आक्रोश पोख्दै आफूविरुद्ध गरिएको झुटा प्रचारप्रति कडा प्रतिक्रिया दिएकी हुन् । शनिबार फेसबुकमा सार्वजनिक चार बुँदामा उनले व्यक्तिगत स्वार्थका लागि नैतिकता र राजनीतिक मूल्य बेच्ने प्रवृत्तिलाई ‘अवसरवाद’ र ‘हुतिहारापन’ को संज्ञा दिएकी छिन् ।
श्रेष्ठले भ्रम र झुटको बादल कहिल्यै नटिक्ने भन्दै सत्यको कसीमा अवसरवाद र कायरताको परीक्षण हुने चेतावनी दिएकी छिन् । “लालच झांगिदा अवसरवाद मौलाउँछ, निरिहताले जरा गाड्दा हुतिहारापन फस्टाउँछ,” भन्दै उनले लोकप्रियताको नाममा मौन बस्ने प्रवृत्तिलाई पनि आक्रमण गरेकी छिन् ।
जेनजी आन्दोलनको सन्दर्भ जोड्दै उनले आन्दोलनको उद्देश्यलाई दुर्गा प्रसाईंजस्ता पात्रको एजेन्डामा मिसाउन खोजिएकोमा असन्तोष प्रकट गरिन् । “आन्दोलनरत युवाले कुनै राजनीतिक पार्टीको झण्डा वा एजेन्डा बोकेर आउनु हुँदैन भनेका बेला यस्तो प्रचार गर्नु जनताप्रति गद्दारी हो,” उनले लेखेकी छन् ।
श्रेष्ठले वैकल्पिक राजनीतिमा आउनेहरूलाई पनि प्रश्न गर्दै भनिन्— “तपाईंहरू देश बनाउन र नयाँ राजनीतिक संस्कृतिको अभ्यास गर्न आउनुभएको हो, कि नयाँ शेरबहादुर, नयाँ प्रचण्ड वा नयाँ केपी बन्न ?”