शिव पन्थी##
खलंगा (प्यूठान) । राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगर समितिको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगर समितिका अध्यक्ष गिर बहादुर गुरुङको अध्यक्षता र द्रोण रावलको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरूलाई मोहन गोराथोकीले मन्तव्यबाट स्वागत गर्नुभएको थियो ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । खत्रीले आफ्नो मन्तव्यमा नेपालको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अवस्थामाथि प्रकाश पार्नुभएको थियो ।
‘जेनजीहरूले सुरुमा शान्तिपूर्ण आन्दोलन गरेका थिए । तर, आन्दोलनलाई असफल बनाउन साम्राज्यवादका दलालहरूले घुसपेठ गराएर हिंसात्मक मोडमा धकेले’ खत्रीले भन्नु भयो– ‘सरकारी सम्पत्तिमा भएको आगजनी त्यो आन्दोलनको वास्तविक स्वरूप होइन, बरु घुसपेठको परिणाम हो ।’

खत्रीले आज देश गम्भीर र संकटपूर्ण अवस्थामा पुगेको बताउनु भयो । प्राकृतिक स्रोत–साधनले सम्पन्न नेपाललाई आत्मनिर्भर बनाउन सकिने सम्भावना हुँदाहुँदै पनि, गलत नीति–कार्यक्रम र शासकहरूको अहमतावादी चिन्तनका कारण भिक माग्ने देशमा बदलिएको खत्रीको भनाई थियो ।
‘राष्ट्रिय जनमोर्चाको नीति, विचार र मार्गदर्शन बुझ्न अन्य राजनीतिक दललाई दशकौँ लाग्छ ।’ नेता खत्रीले भन्नु भयो– ‘तर, हामीले ल्याएका नीतिहरू नै राष्ट्र र जनताको मुक्ति र समृद्धिको आधार हो ।’
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मसाल) लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जिसीले राष्ट्रियता, स्वतन्त्रता र सार्वभौमिकतामाथि गम्भीर खतराहरू मडारिइरहेको उल्लेख गर्नुभयो । ‘राष्ट्र र राष्ट्रियताको सवालमा हाम्रो अडान दृढ छ । आज नेपालको राष्ट्रियता गुम्ने खतरा देखिएको छ’ प्रवक्ता जिसीले भन्नुभयो– ‘यसको वास्तविक महत्व बुझ्न भारत र प्यालेस्टाइनका जनतासँग सोध्न सकिन्छ ।’
भारतसित भएका असमान सन्धि–सम्झौताहरू नेपालको हित विपरीत भएकाले यी सन्धिहरूलाई खारेज नगरेसम्म नेपाल स्वाधीन राष्ट्रको रूपमा मजबुत हुन नसक्ने जिसीको थप मनाई थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला समितिका उपाध्यक्ष ईमान सिंह खड्का, स्वर्गद्वारी नगरपालिका उपप्रमुख मिनराज राना मगर, युबक संघका केन्द्रीय कोषाध्यक्ष कमल पौडेल, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य इन्द्र बहादुर खड्का, महिला संघ नगर अध्यक्ष तथा राजमो जिल्ला सदस्य लक्ष्मी पन्थी, किसान संघ (अफ्फा) जिल्ला उपाध्यक्ष यम प्रसाद गोराथोकी, अखिल (छैठौं) जिल्ला अध्यक्ष बसन्तराज गोराथोकी, शिक्षक संघ जिल्ला सदस्य भूपाल थापा, चित्रमान पुन लगायत विभिन्न संगठनका प्रतिनिधिहरूले आफ्ना मन्तव्यका क्रममा राष्ट्रको सार्वभौमिकता, जनताको आत्मनिर्भरता र समाजवादको मार्गलाई अङ्गाल्नुपर्नेमा जोडदिनुभयो ।