काठमाडौं । आज (आइतबार) बिहान १० बजेर ५० मिनेटदेखि दिउँसो २ बजेर २३ मिनेटसम्म सूर्यग्रहण लाग्दैछ ।
नेपाल पञ्चांग निर्णायक समितिका मध्याह्न १२ बजेर चार मिनेट जाँदा ग्रहणले सूर्यलाई करीव ८८ प्रतिशत ढाकेको देखिने छ । ग्रहणले सूर्यलाई पूरै ढाक्ने भए पनि नेपालबाट भने खण्डग्रास (आधा मात्र ढाकेको) देख्न सकिनेछ ।
आजको सूर्यग्रहण कंगोबाट सुरु भई सुडान, इथियोपिया, यमन, ओमान, दक्षिण पाकिस्तान, उत्तरपश्चिम भारत, भारतको देहरादुन, कुरुक्षेत्र र दक्षिणपूर्वी चीन हुँदै प्रशान्त महासागरमा गएर अन्त्य हुनेछ । लिम्पियाधुरा क्षेत्रबाट सो ग्रहणका बेला साढे ९८ प्रतिशत सूर्य ढाकिने विज्ञहरुले बताएका छन् ।
काठमाडौंमा बिहान १० बजेर ५४ मिनेट, पोखरामा बिहान १० बजेर ५२ मिनेट, महेन्द्रनगर कञ्चनपुरमा बिहान १० बजेर ५४ मिनेट, जनकपुरमा बिहान १० बजेर ५६ मिनेट र भद्रपुर झापामा बिहान ११ बजेर ५२ मिनेटबाट सूर्यग्रहण प्रारम्भ हुने खगोलविद्हरुले बताएका छन् ।
त्यसैगरी काठमाडौं र जनकपुरबाट ८२ प्रतिशत, पोखराबाट ८८ प्रतिशत, भद्रपुर झापाबाट ८१ प्रतिशत र महेन्द्रनगर, कञ्चनपुरबाट ९३ प्रतिशत सूर्यलाई ग्रहणले ढाकेको देख्न सकिन्छ।
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्नुलाई सूर्यग्रहण भनिन्छ । नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने छ ।
सूर्यग्रहण खाली आँखाले नहेर्न विज्ञहरुले सुझाव दिएका छन् । सूर्य ग्रहण हेर्दा आँखाको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिना नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्ने विज्ञहरुले बताएका छन् । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ ।
सूर्यग्रहण हेर्न चाहनेलाई तक्षित गरी एष्ट्रोनोमिकल क्लबले काठमाडौंको सामाखुसीस्थित कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको छ ।
यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट युट्युब च्यानलमार्फत् सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्दैछ ।

