काठमाडौँ । अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीको रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आजै २०८२ भदौ २७ गते राति ९ बजे शपथ लिने भएका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले सो जानकारी दिनुभएको हो ।
‘पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्यूलाई नियुक्त गर्नुहुन्छ अनि नयाँ प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद्को काम अगाडि बढाउनुहुन्छ’ उनले भने ।
कार्कीको शपथग्रहणसँगै आजै सानो आकारको निर्दलीय मन्त्रिपरिषद् गठन हुने स्रोत बताउँछ ।
सो मन्त्रिपरिषद्ले गृहमन्त्रालयको नयाँ भवनमा गएर पदभार ग्रहण गर्नेछ । त्यसपछि पुनः शीतलनिवासमा फर्केर मन्त्रिपरिषद्को बैठक बसेर पहिलो निर्णयको रूपमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गर्नेछ । त्यसलगत्तै राष्ट्रपतिले संसद् विघटन गर्ने योजना रहेको बताएको छ ।
हिजो र आजको छलफलमा संसद् कायमै राखेर अन्तरिम सरकार गठन गर्नेबारे छलफल चले पनि जेनजीका प्रतिनिधिले त्यसलाई अस्वीकार गरेपछि प्रतिनिधिसभा विघटन हुने भएको हो ।
