वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/०८२ मा रु. छ खर्ब २५ अर्ब ९७ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ । अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा मूल्यको आधारमा १५ दशमलव १४ प्रतिशतअर्थात् रु. ८२ अर्ब ३० करोड मूल्य बढीका सामान आयात गरिएको हो ।
गत आवमा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । पाँच थरिका पेट्रोलियम पदार्थमात्रै रु. एक खर्ब ९१ अर्ब ८८ करोड रकमको आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । दोस्रो धेरै आयात हुने वस्तुमा भटमासको कच्चा तेल रु. ५७ अर्ब ६८ करोडको रहेको छ ।
वीरगञ्ज भन्सार कार्यालय प्रमुख दीपक लामिछानेले गत आवमा आयात र निर्यातमा दुबैमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । “गत आवमा आयात र निर्यात दुबैमा उल्लेखीय सुधार भएको देखिन्छ”, उहाँले भन्नुभयो, “अर्थतन्त्र सहज हुँदै गएकाले पनि वृद्धि भएको हुनसक्छ ।”
गत आवमा मेसिनरी तथा तिनका पार्टपुर्जा रु. ३६ अर्ब ६३ करोड मूल्यका आयात गरिएका छन् । रु. ३४ अर्ब ४१ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात गरिएका हुन् । सोही अवधिमा रु. २८ अर्ब ५३ करोड मूल्य पर्ने सबै प्रकारका ‘एलोपेथिक’ औषधि आयात गरिएका छन् ।
गत आवमा आयात मात्रै नभएर निर्यातमा पनि बढोत्तरी भएको छ । रु. एक खर्ब एक अर्ब ८४ करोड मूल्य बराबरका वस्तु तथा सामान निर्यात गरिएको छ । अघिल्लो आवमा यो नाका हुँदै रु. ३१ अर्ब १४ करोड मूल्यका वस्तु तथा सामान निर्यात गरिएको थियो । सो आवको तुलनामा यो नाका हुँदै २२७ दशमलव ०९ प्रतिशतअर्थात् रु. ७० अर्ब ७० करोड मूल्य बराबरका बढी वस्तु तथा सामान निर्यात गरिएको छ ।
सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको प्रशोधित तेल रहेको छ । गत आवमा रु. ६१ अर्ब ४५ करोड मूल्य पर्ने २९ करोड १४ लाख ९१ हजार ७५९ लिटर प्रशोधित भटमासको तेल निर्यात गरिएको हो ।
जबकी अघिल्लो आवमा रु. नौ करोड मूल्य पर्ने चार लाख ६४ हजार १३८ लिटर मात्रै निर्यात गरिएको थियो । त्यसैगरी गत आवमा रु. नौ अर्ब २६ करोड मूल्य पर्ने चार करोड १५ लाख नौ हजार २७३ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको छ । अघिल्लो आवमा रु. १० करोड मूल्य पर्ने पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको थियो ।
गत आवमा रु. सात अर्ब ६९ करोड मूल्य पर्ने आठ करोड एक लाख ३४ हजार २२७ लिटर फलफूलको जुस निर्यात गरिएको छ । अघिल्लो आवमा रु. आठ अर्ब ५९ करोड मूल्य पर्ने आठ करोड ८० लाख १० हजार ६९० लिटर फलफूलको जुस निर्यात गरिएको थियो ।
गत आवमा रु. पाँच अर्ब ३७ करोड मूल्य पर्ने चार करोड ५२ लाख ५६ हजार ८१० किलोग्राम फलाम तथा फलामबाट बनेका सामग्री भारत निर्यात गरिएको छ । अघिल्लो आवको सोही अवधिमा रु. आठ अर्ब ५९ करोड मूल्य पर्ने सात करोड २६ लाख ३६ हजार २३१ किलोग्राम फलाम तथा फलामका सामग्री विदेशी मुलुक निर्यात गरिएको थियो ।
प्रधानमन्त्री के भन्छन् ?
तर प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत आव २०८१/२०८२ मा नेपालले रु दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराउनुभएको छ ।
आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कूल निर्यात रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले लेखेका छन्, “यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको छ । रु दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाखको निर्यात गर्न हामी सफल भएका छौँ । हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको थियो । गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको छ ।”