मड्रिड । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा विदेशी मानवीय सहयोगमा गरिएको कटौतीले सन् २०३० सम्म एक करोड ४० लाख बढी मानिसको ज्यान जाने खतरा देखिएको छ ।
स्पेनको प्रख्यात चिकित्सा जर्नल मानिने ‘द ल्यानसेट’ मा सो रिपोर्ट प्रकाशित भएको हो ।
बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थका अनुसन्धानकर्ता डाभिडे रासेल्लाले चेतावनी दिँदै भने– ‘कम र मध्यम आय भएका देशमा यस्ता कटौतीको प्रभाव विश्वव्यापी महामारी वा ठुलो युद्धजस्तो हुनेछ ।’
शोधकर्ताका अनुसार मृत्यु हुनेमध्ये करिब एकतिहाइ बालबालिका हुनेछन् । ट्रम्प प्रशासनले ‘अमेरिका फर्स्ट’ नीतिअनुसार विदेशमा हुने खर्च कटौती गर्दै आएको छ ।
यसै क्रममा २०२५ को मार्च महिनामा अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अमेरिकी विकास सहायता एजेन्सी (युएसएआइडी) का ८० प्रतिशतभन्दा बढी कार्यक्रम रद्द गरिएको घोषणा गरेका थिए ।
रासेल्लाको नेतृत्वमा गरिएको अध्ययनले सन् २००१ देखि २०२१ सम्ममा युएसएआइडीको सहयोगले करिब नौ करोड जीवन जोगाएको अनुमान गरेको छ तर अब ८३ प्रतिशत कटौती भएमा २०३० सम्म १ करोड ४० लाखभन्दा बढी मानिसको असामयिक मृत्यु हुने खतरा रहेको उनीहरू बताउँछन् । यसमा पाँच वर्षमुनिका ४५ लाखभन्दा बढी बालबालिकाको मृत्यु हुने उल्लेख छ ।
यी कटौती चर्चित उद्यमी एलन मस्कको पहलमा भएका थिए, जो त्यो समय सङ्घीय कर्मचारी सङ्ख्या घटाउने पहलको नेतृत्व गरिरहेका थिए । यिनै कटौतीका कारण अन्य पश्चिमी मुलुक† जस्तै स् बेलायत, फ्रान्स र जर्मनी पनि आफ्ना सहयोग कार्यक्रममा कटौती गरेका छन् ।
मानवीय संस्थाले यी कटौतीको कडा आलोचना गरेका छन् । संयुक्त राष्ट्र सङ्घले यसलाई ॅअन्तर्राष्ट्रिय मानवीय क्षेत्रले भोगेको अहिलेसम्मकै गहिरो आर्थिक सङ्कट’ भनेको छ ।