इटालीको राजधानी रोमको एक पेट्रोल पम्पमा शुक्रबार भएको भीषण विस्फोटमा परी कम्तीमा ३० जना घाइते भएका छन् ।
घटनास्थलको निरीक्षण गर्दै रोमका मेयर रोबर्टो ग्वाल्टिएरीले नौं जना कानून प्रवर्तन अधिकारीसहित अन्य २१ जना घाइते भएको र तीमध्ये एकको अवस्था गम्भीर रहेको बताएका छन् ।
ग्वाल्टिएरीले स्थानीय समयअनुसार बिहान ८ः२० बजे भएको विस्फोटपछि छिमेकी भवनहरू खाली गराइएको बताए । ती भवनमा बालबालिकाको ग्रीष्मकालीन शिविर आयोजना गर्ने खेल हलसहित ‘ठूलो क्षति’ भएको बताएका छन् ।
बच्चाहरूलाई पहिल्यै सुरक्षित स्थानमा लगिएको कारण थप धेरै मानवीय क्षति हुन पाएन । ग्वाल्टिएरीका अनुसार इन्धन भर्ने क्रममा ग्यास चुहिएपछि आगो लागेको थियो । घटनास्थलमा आपतकालीन सेवाहरू तत्काल पुगेका र विस्फोट हुँदा उद्धार कार्य जारी थियो ।
“विस्फोट वास्तवमै शक्तिशाली थियो । मैले सपनामाजस्तै आफ्नो छाला जलिरहेको महसुस गरें,” स्पोट्र्स सेन्टरमा काम गर्ने २३ वर्षीया मिचेल सेकोले एएफपीसँग भनिन् ।
अनलाइनमा शेयर गरिएको मोबाइल फोन फुटेजमा आकाशमा ठूलो आगोको गोला खसेको र त्यसपछि पूर्वी रोमको प्रेन्सटिनो क्षेत्रमा कालो धुवाँ फैलिएको बताइएको छ । रासस