खिमराज चालिसे, भिवानी (भारत) ।
हरियाणाको भिवानीस्थित ठेक्कामा कार्यरत सोलुखुम्बुका रमेश राईको छतबाट खसेर मृत्यु भएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कानुनी प्रक्रिया पूरा गरी दाहसंस्कार गरेको छ ।
जुन २४, २०२५ का दिन निधन भएका राईको जुन २५ का दिन मूल प्रवाह दाहसंस्कार गरेको हो ।
सोलुखुम्बु जिल्लाको नेपासल्यान गाउँपालिका वडा नं. ४ घर भई भिवानीस्थित तोसाममा छतबाट खसेर मृत्यु भएपछि मूल प्रवाहका नेताहरू भूवन भन्डारी र चोपलाल पाण्डेले स्थानीय पुलिससँग पुगी जाचबुझ गर्ने र नेपालमा परिवारको विवरण र फोन पत्ता लगाई परिवारसंग सम्पर्क गरेका थिए ।

नेपालबाट मृतकको परिवार आउन नसक्ने जानकारी गराएपछि जुन २४ को नेचा–४ वडाअध्यक्ष इन्द्रबहादुर राईले मूल प्रवाह र प्रवासी सङ्घ भारतलाई लासको दाहसंस्कार गर्न अनुरोधसहितको अनुमतीपत्र पठाएका थिए ।
उक्त पत्रको आधारमा पुलिसले रमेश राईको पोस्टमार्टम गरी मूल प्रवाह र प्रवासी सङ्घलाई लास सुम्पेको थियो ।

दुबै सङ्गठनले रमेशको शवलाई दाहसंस्कार गरेपछि मूल प्रवाहका नगर अध्यक्ष डिलबहादुर भट्टराई, सहसचिव मनिराम अधिकारी र प्रवासी सङ्घका नगर सचिव दिल्लीराम तिवारीले शोक समवेदना प्रकट गर्नुभएको थियो ।
दुईओटै सङ्गठनले मृतक रमेशप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पित गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।
