काठमाडौं । आज (मंगलबार) लकडाउनको ७१ दिन पुगेको छ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ । जेठ २० गते (आज) सम्मका लागि तोकिएको लकडाउन शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३२ गते सम्मका लागि लम्ब्याउने निर्णय गरेको थियो ।
तर यस बिचमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल भइराखेको बताइएको छ । शनिबारको मन्त्रिपरिषद्को बैठकले लकडाउनको नयाँ ढाँचा तयार गर्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन समेत दिएको थियो । सोही निर्देशन अनुसार समितिले आज लकडाउनको मोडालिटीमा छलफल गर्न बैठक आह्वान गरेको छ ।
लकडाउन जारी हुँदा चैत ११ गते दुई जना मात्रै संक्रमित रहेकोमा अहिले लकडाउनको ७१ दिन पुग्दा संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । यसबीचमा ८ जनाको मृत्यु पनि भइसकेको छ । लकडाउन भएपनि संक्रमितको संख्याको वृद्धिदर बढ्दै जाने र अर्थतन्त्रमा पनि गम्भीर असर पर्दै जाने भएकाले लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकारलाई दबाब पर्दै गएको छ ।
मंगलबार नेपालमा थप २ सय ८८ जनामा कोरोना पोजेटिभ देखिएसँगै देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजसम्म पीसीआर विधिबाट ७५ अजार ३ सय ४३ र आरडिटी विधिबाट १ लाख १६ हजार ३ सय ४५ वटा परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ४० र आरडिटी विधिबाट २ हजार ५ सय ८८ वटा परीक्षण भएको छ ।
यस्तै अहिले देशका विभिन्न क्वारेन्टिानमा १ लाख ४५ हजार ३ सय ७५ जना रहेका छन् । जसमा प्रदेश नम्बर १ मा ३ हजार ६ सय ३५, प्रदेश नम्बर २ मा २२ हजार ५ सय ३६, बागमती प्रदेशमा ३ हजार ८ र गण्डकी प्रदेशमा ४ हजार ३ सय १५ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४० हजार ६ सय १७, कर्णाली प्रदेशमा २६ ४ सय हजार ४७ र सुदूरपश्चिम प्रदेशमा ४४ हजार ८ सय १७ जना क्वारेन्टिनमा रहेका छन् । उनीहरुमध्ये धेरै जसो भारतबाट आएका नागरिकहरु रहेका छन् ।
प्रदेश नम्बर १ मा १ सय २०, प्रदेश नम्बर २ मा ७ सय ११, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३४, प्रदेश नम्बर ५ मा ६ सय २२, कर्णाली प्रदेशमा २ सय ५१ र सुदूरपश्चिम प्रदेशमा ६५ जना गरी १ हजार ८ सय २५ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । अहिलेसम्म २ सय ६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारि भएपनि उपत्यकाका मूख्य सडकहरुमा सवारी साधनको चाप बढ्दै गएको छ।
लामो समयसम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको र मानिसहरु काममा निस्किन थालेपछि उपत्यकाका मुख्य सडकमा सवारीसाधनको चाप बढेको छ । उपत्यकाका विभिन्न ठाउँमा सवारीसाधनको आवागमन बढेको छ । प्रहरीले पनि चेकजाँचलाई केही खुकुलो बनाएको छ । अत्यावस्यक सेवाका सवारी साधन र पास लिएका बाहेकलाई पनि सोधपुछ गरी पठाउने गरेको छ ।
काम बिना सवारी सञ्चालन गर्नेलाई भने नियन्त्रणमा लिई कारबाही गरेको छ । उपत्यकाका भित्रि सडकमा रहेका अत्यावस्यक खाद्यन्न तथा तरकारी पसलहरु बिहान र साँझको समयमा खुल्ने गरेका छन् भने मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गरिरहेको देखिन्छ ।