लन्डन (बेलायत) । बेलायतमा एक नेपाली विद्यार्थी मृत फेला परेका छन् ।
रुकुम पश्चिम, मुसीकोट नगरपालिका १२ का २० वर्षीय सुशान ओलीको मृत्यु भएको नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए।
लन्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा उनको शव भेटिएको थियो ।
गत मंगलबार फेला परेको शव नेपाली विद्यार्थीको हुनसक्ने आशंकामा लन्डन प्रहरीले औँठा छाप परीक्षण गरेको थियो ।
दूतावासले नेपालीको राहदानी विभागबाट मगाएको औँठा छाप परीक्षण गर्दा शवसँग मिलेको लन्डन प्रहरीलाई उद्धृत गर्दै दुवाडीले जानकारी दिए।
प्रहरीले अहिलेसम्मको अनुसन्धानमा ओलीले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको र मृतकका परिवारसँगको समन्वयमा शव व्यवस्थापनको तयारी भएको उनले बताए।
हालसम्मको अनुसन्धान र घटनाक्रमबारे परिवारलाई खबर भइसकेको जानकारी दिँदै दुवाडीले रासससँग भनेका छन्, ‘प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले मृत्यु शंकास्पद नरहेको बताएको छ। बाँकी कुरा थप अनुसन्धानपछि बाहिर आउला।’
शव परीक्षण सकिएपछि शव नेपाल लाने वा बेलायतमै अन्तिम संस्कार गर्ने भन्ने विषयमा परिवारसँग समन्यव भइरहेको उनले जानकारी दिए।
अप्रिल २१ देखि सम्पर्कविहीन भएपछि ओली अध्ययनरत क्याम्पसका विद्यार्थीले लन्डन प्रहरी र नेपाली दूतावासलाई जानकारी गराएका थिए। रासस

