बागलुङबजार । बागलुङ जिल्ला जैमिनी नगरपालिका–४ सर्कुवाका वडाअध्यक्ष चक्रबहादुर थापाको अस्वाभाविक क्रियाकलापको राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ ।
सर्कुवास्थित श्री जनता माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षकप्रति अपाच्य व्यवहार गरेको तथा विद्यालयको खेलमैदानमा हस्तक्षेप गरेपछि राजमोले विरोध गरेको हो ।
राजमो जैमिनी–४ वडा समितिका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीले २०८१ चैत २२ गते प्रेसविज्ञप्ति जारी गर्दै विरोध गरेको छ ।
विज्ञप्तिका अनुसार चैत २० गते एसइई परीक्षा चलिरहेको बेलामा वडाअध्यक्ष थापाले मादक पदार्थ सेवन गरी अनियन्त्रित अवस्थामा पुगेका थिए ।
निजले विव्यस अध्यक्ष, प्रधानाध्याक तथा शिक्षकप्रति अभद्र व्यवहार प्रयोग गर्दै अपाच्य शब्द प्रयोग गरेको, विद्यालयका महत्त्वपूर्ण अभिलेख नष्ट गर्ने अभिप्राय राखेजस्तो देखिएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, चैत १६ गते मोटरसाइकिल ट्रायलका लागि निज थापाले ट्रायक निर्माण गरी विद्यालयको भौतिक सम्पत्ति नष्ट गरेको आरोप विज्ञप्तिमा लगाइएको छ ।
विज्ञप्तिमा भनिएको छ– “उक्त निन्दनीय हर्कत तथा आपराधिक कार्यको सम्बन्धित निकायसँग उचित छानबिन गरी आवश्यक कारबाही गर्न माग गर्दछ ।”
