काठमाडौँ । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले अस्पतालमा बिग्रिएर थन्किएका पाँच सय उपकरण मर्मत गरेको छ ।
केन्द्रले १० ओटा सङ्घीय अस्पतालमा थन्किएका ती उपकरण पुनः प्रयोगका लागि तयार पारेको हो ।
केन्द्रका इन्जिनियर उमेश किराँतीका अनुसार ती उपकरण मर्मत गर्न २३ लाख २० हजार रुपैयाँ खर्च भएको छ, जुन बजार मूल्यको तुलनामा निकै कम हो ।
‘हामीले बजार मूल्य सर्वेक्षण गर्दा ती उपकरण किन्न २४ करोड ३० लाख रुपैयाँ लाग्ने देखिएको छ । बाँकी अस्पतालबाट पनि आग्रह आए थप उपकरण मर्मत गर्न तयार छौँ’ उनले भने ।
केन्द्रले सामान्य तार जोड्ने कामदेखि आवश्यक थप सामग्री मगाएर जटिल मर्मतसमेत गरेको छ ।
‘कतिपय अस्पतालमा तारसमेत मर्मत नगरी उपकरण थन्काइएका थिए । ती सबै उपकरण मर्मत भइसकेका छन्’ किराँतीले भने ।
गत भदौ १८ गते स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बिग्रिएर मर्मत अभावमा थन्किएका १७ ओटै सङ्घीय अस्पतालका उपकरणको अध्ययन तथा मर्मतका लागि आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गरेका थिए । सम्झौताअनुसार हालसम्म १० अस्पतालका उपकरण मर्मत गरिएको केन्द्रले जनाएको छ । (टेक पाना)