समष्टि बुढामगर ##
तिमी घोर निद्रामा परेको बेला
पुर्खा आई सपनामा सोध्लान्–
खोई हाम्रो सिङ्गो देश ?
तिमी भन्नू–
सङ्घीयता आयो
भोकै रहेछ उ
त्यसैले खाइदियो
तिम्रो जवाफसँगै
निधार खुम्चाएर
पुर्खाले फेरी सोध्लान्–
खोई नेपालीको अस्तित्व ?
तिमी भन्नू–
त्यही सङ्घीयता पाल्न
गरिबीको साङ्लोमा
पराइको गुलाम भएर बाँधिएको
तिम्रो यो अचम्मको जवाफ सुनेर
पुर्खाले रिसाउँदै भन्लान्–
तिमी त युवाविद्यार्थी
किन लडेनौँ देशको लागि ?
किन जगाएनौँ किसान र मजदुर ?
त्यतिबेला तिमी भन्नू–
चर्को मिटरब्याजले थिचिएर
किसान उठ्नै सकेनन्
भोक र रोगले थलिएर
मजदुर जुट्नै सकेनन्
भविष्य बनाउने भ्रममा
विद्यार्थी परदेश लागेपछि
बेरोजगारीको दलदलमा फसी
फर्किन नेपाल उढ्नै सकेनन्
तिमीलाई प्रश्न गर्दागर्दै
सम्झेर ऊ बेलाको देश
सगरमाथाको चुचुरोतर्फ टोलाउँदै
जब आँसु झार्नेछन् पुर्खाले
तब पुर्खाको आँसु पुछ्दै तिमी भन्नू–
यिनै भ्रष्ट नेताहरू हुन्
देश ह्रासकालमा पुऱ्याउने
पुर्खाले बुझ्ने गरी
अझै सम्झाउनू–
तिमी भन्नू–
अब पर्ने छैन रुन
बिराएको बाटा हामी पहिल्याउँदै
किसानलाई उठाउँनेछौँ
मजदुरलाई जुटाउँनेछौँ
युवाविद्यार्थी सबै समेटी
देशलाई यो गुलामीबाट छुटाउनेछौँ
जब तिम्रो यो प्रतिबद्धतामा
मुस्कुराउनेछन् पुर्खाहरू
त्यसै दिन बिहान सबेरै
देशप्रेमको किरणसँगै
नयाँ दिनको थालनी गर्न
तिमी ब्युँझिदिनू
ब्युँझिदिनू
जोगाउनलाई देशको भूमि
मनमा देशको चित्र कोरी
ढिला नहुँदै बाटो लाग्नू
राष्ट्रघाती सङ्घीयता फाल्न तिमी