धनवीर पुन, नयाँदिल्ली ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल र नेपालीका लागि सङ्घीयता दिनप्रतिदिन बोझ बन्दै गएको धारणा राख्नुभएको छ ।
फेब्रुअरी ९, २०२५ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा सम्पन्न एकदिवसीय कार्यशालामा मन्तव्य राख्दै उहाँले सो धारणा राख्नुभएको हो ।
‘सङ्घीयता नेपाल र नेपालीका लागि दिनप्रतिदिन बोझ बन्दै गएको छ । यसलाई तत्कालै खारेज गर्नुको विकल्प छैन’ सिंहले भन्नुभयो– ‘आर्थिक रूपले देश झन्पछि झन् कङ्गाल बन्दै गएको छ । वैदेशिक ऋणको भारी हरेक नेपालीको टाउकोमा थोपरिएको छ । एकपछि अर्को गर्दै हामी नेपाली जनता अन्य देशमाथि आश्रित बन्दै गएका छौँ ।’
उहाँले नेपालमा सङ्घीयताका थुप्रै असर वा दुष्परिणाम देखा पर्दै गइरहेका दाबी गर्नुभयो ।
सङ्घीयताको दुष्परिणाम नेपालको राजनीतिक क्षेत्रमा समेत देखा परिरहेको उहाँको भनाइ थियो ।
महामन्त्री सिंहले भन्नुभयो– ‘प्रदेश र केन्द्रका बिचमा लगातार द्वन्द्व चलिरहेको छ । केन्द्रले दिएका अधिकार अपर्याप्त भएको वा प्रदेशप्रति हेपाहा नीति वा केन्द्रीकृत मानसिकता भएको विषय जबरजस्त उठिरहेको छ ।’

सिंहले यो प्रवृत्तिले विखण्डनकारी क्षेत्रीयतावादी सोचाइ विकास हुँदै गएको बताउनुभयो ।
मन्तव्यको क्रममा उहाँले नेपालमा राष्ट्रिय आवश्यकताको आधारमा नभएर विदेशी शक्तिको स्वार्थमा दबाबमा सङ्घीयता जबरजस्ती लादिएको बताउनुभयो ।
सिंहले भन्नुभयो– ‘सङ्घीयताको तात्कालिक उद्देश्य पहाडबाट तराई टुक्राउने, एक मधेस एक प्रदेश निर्माण गरी बेग्लै राज्य बनाउने र अन्ततः त्यसलाई भारतमा गाभ्ने हो । अहिले पनि एउटा पक्षले यस्तो प्रयास गरिरहेको छ ।’
सिंहले स्वदेशमा चल्ने विभिन्न न्यायिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका रहँदै आएको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ देखि ३० गतेसम्म चल्ने राजधानीकेन्द्रित आन्दोलनलाई पनि आर्थिक, नैतिक एवम् भौतिक रूपमा सहयोग गर्न अपिलसमेत गर्नुभयो ।
आन्दोलन सफल पार्न आर्थिक सहयोगको खाँचो : शर्मा
कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्माले सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनलाई सफल पार्नै प्रवासी नेपालीबाट आर्थिक सहयोगको समेत खाँचो रहेको बताउनुभयो ।

‘पैसा आफैमा साध्य नभएर साधन भएता पनि आन्दोलन सफल पार्न आर्थिक पाटोको महत्त्वपूर्ण भूमिका रहन्छ’ उहाँको भनाइ थियो ।
कुनै बुर्जुवा पार्टीले नेतृत्व नगरेर यो श्रमजीवी वर्गको पार्टीले नेतृत्व गरेको हुँदा धेरै अभावका बाबजुद आन्दोलन सफल पार्न लागेका स्पष्ट पार्दै शर्माले आन्दोलन सफल पार्न प्रवासी नेपालीले पनि सहयोग पुऱ्याउनुपर्ने आशा राखेको बताउनुभयो ।
महिलाहरू आन्दोलनमा सरिक बनौं : दुर्गा पौडेल
त्यसैगरी, राजमो केन्द्रीय उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले नेपाली महिलासित राष्ट्रियता रक्षाको आन्दोलनमा सरिक हुन आह्वान गर्नुभयो ।
‘मानव समाजका जननी हामी महिलाहरू अब मातृभूमि रक्षाका लागि अगाडि सरिक हुनुपर्ने आवश्यकता छ’ उहाँले भन्नुभयो– ‘हामी महिलाहरू विगत लामो समयदेखि विभिन्न प्रकारका बाधाव्यवधानका विरुद्ध सङ्घर्षरत छौँ, अब नेपालको भौगोलिक अखण्डताका लागि पनि सङ्घर्षमा होमिनुपर्ने बाध्यता सिर्जना भएको छ ।’

केन्द्रीय अध्यक्ष ठाकुर खनालको अध्यक्षता एवम् महासचिव प्रेम पौडेलको सञ्चालन र उपाध्यक्ष कपिल खनालको स्वागत मन्तव्यबाट सो कार्यक्रम बढेको थियो ।
कार्यक्रममा सचिवालय सदस्य धनवीर पुनमगरले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा हिमाचल प्रदेश, पन्जाब, हरियाणा, राजस्थान, उत्तर प्रदेश र दिल्लीलगायतका प्रदेशबाट मूल प्रवाहका नेताकार्यकर्ताको व्यापक सहभागिता रहेको थियो ।