काठमाडौँ । नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मीले तराईका मूलबासी कहिल्यै पनि नेपालको विरुद्ध नलागेको स्पष्ट पार्नुभएको छ ।
२०८१ माघ ३० गते बुधबार काठमाडौँको कोटेश्वरमा राष्ट्रिय जनमोर्चा काठमाडौँद्वारा आयोजित कोणसभामा मन्तव्य राख्दै सो धारणा राख्नुभएको हो ।
‘मधेसवादीहरू मधेसलाई नेपालबाट टुक्राउने पक्षमा छन्’ उहाँले भन्नुभयो–’तर तराईका मूलबासी कहिल्यै नेपालको विरुद्ध लागेनन् ।’
तराईका मूलबासीहरू सधैँ नेपालको राष्ट्रियता, सार्वभौममिकता र भौगोलिक अखण्डताको पक्षमा रहेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो–’तपाईंहामीलाई थाहै छ, जब भारतीय साम्राज्यवादले सीमा अतिक्रमण गर्दछ, त्यसको प्रतिरोध कसले गर्दछन् ? त्यहाँका मूलबासीले नै ।’

भारतीय साम्राज्यवादले नेपालमा क्षेत्रीय सङ्घीयताको अवधारणा भित्राएको स्पष्ट पार्दै उहाँले सोही स्वार्थ पूरा गर्न खुकुलो नागरिकता नीति अगाडि सारिएको बताउनुभयो ।
‘तर भारतीय साम्राज्यवादको यस्तो नीतिको मारमा तराईका मूलबासी परेका छन्’ उहाँले भन्नुभयो ।
भारतीय साम्राज्यवादको प्रायोजनमा तराईका २२ जिल्लालाई नेपालबाट गर्ने योजना रहेको उहाँको दाबी थियो ।
‘मधेसवादी आन्दोलनले मधेसका जनतालाई अधिकार दिन होइन, पहाडबाट टुक्राएर तराईलाई भारतमा भाभ्न नै सङ्घीयताको प्रस्ताव गरेको थियो’ प्रवक्ता रेग्मीले भन्नुभयो ।
सिक्किमलाई झैँ मधेसलाई पनि टुक्राउने षडयन्त्र चलिरहेकाले त्यसका विरुद्ध सचेत हुन उहाँले आम जनतासित अपिलसमेत गर्नुभयो ।
सभालाई राजमो केन्द्रीय सदस्य तथा बागमती प्रदेशसमितिका अध्यक्ष लालबहादुर थापाले पनि सम्बोधन गर्नुभएको थियो ।
राजमो काठमाडौँका सचिव छवि खनालको सञ्चालनमा अघि बढेको सो कार्यक्रमको अध्यक्षता राजमो काठमाडौँ नगर समितिका अध्यक्ष यामलाल खनालले गर्नुभएको थियो ।
