• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नाकाको कोइरेनी महरपोले भिरमा आधा घण्टा (यात्रासंस्मरण)


  •   बिहिबार, माघ २४, २०८१ मा प्रकाशित
  • रामप्रकाश पुरी ##

    Advertisement

    कुरा २०६४ सालको चैत महिनाको तेस्रो हप्तातिरको हो । केही दिनपछि अर्थात् चैत २८ गते संविधानसभाको चुनाव हुँदै थियो । हामी राजनीतिक गतिविधिमा संलग्न भएकाले चुनावप्रति गम्भीर चासो हुनु स्वाभाविक थियो । देशमा चुनाव सरगर्मी चलिरहेको थियो । त्यही सरगर्मीमा हामी पनि रुकुम जिल्लाको चुनावी अभियानमा सामेल थियौँ ।

    चुनावको उत्तरार्ध हामी हालको पूर्वी रुकुमको रुकुमकोटबाट दिउँसोतिर सेराबाङमा आइपुग्यौँ । त्यहाँ प्रचारको कार्य सम्पन्न गरिसकेपछि सेराबाङको सिरानतर्फ रहेको अग्लो लेक सेपेको उकालो पार गऱ्यौँ । चैतको महिना भएकाले जङ्गलको यात्रा राम्रो थियो । वारिपारि वनजङ्गलका रुखमा नयाँ पातको आगमन हुन थालेको थियो । पल्लवित वनवाटिकामा चराको धुन मिठो थियो । कोइली र न्याउलाका समधुर आवाज गुञ्जित हुँदै हामीसम्म आइपुग्दथे । सेपेको लेक बसन्त ऋतुबाट पुलकित भएको आभाष हुन्थ्यो । हामीलाई आनन्द प्राप्त भइरहेको थियो । कैयौँ दिनसम्म हिँडेर हामी थकित भएका थियौँ । हामीलाई लामो विश्रामको खाँचो थियो यद्यपि हामीलाई त्यस प्रकारको विश्रामको लागि समय थिएन । त्यसैले चुनाव प्रचारका रमाइला क्षणको अनुभूति गराउँदै सेपे लेकको उकालो पार लगाइयो ।

    साँझ ८ बजेतिर हामी साविक रुकुमको राङ्सी गाउँ विकास समितिको नाकामा हामी बास बस्न आइपुग्यौँ । यो दुर्गम र विकट क्षेत्रमा चुनाव प्रचार गर्ने समय अब केही दिन मात्र बाँकी रहेकाले हामी अलि हतारमा रहने गरेका थियौँ । त्यसैले चुनावी पोस्टर र पर्चा टाँस्दै प्रचारकार्यलाई व्यापक बनाउने काममा हामी बढी व्यस्त रहनुपरेको थियो । यस जिल्लामा हामीलाई आफ्नो सङ्गठनको अवस्था राम्रोसँग थाहा थियो । त्यसैले चुनावमा जित्ने वा भोट पाउनेभन्दा पनि पार्टीको राजनीतिक विचारलाई जनतामा उपस्थित गराउने दिशातर्फ नै हामीले ध्यान केन्द्रित गरेका थियौँ । त्यहीअनुसार नै जिल्लाभरि जे जस्तो सम्भव थियो, त्यस प्रकारले हामी चुनावी अभियानमा सक्रिय रह्यौँ । पहिले पहिले १५ देखि २० जनाजति हाम्रो अभियानमा सामेल हुँदै आएकोमा अघिल्लो ३ दिनदेखि त्यो सङ्ख्या क्रमशः घट्दै गयो र यहाँ आइपुग्दा अब हामी जम्मा ४ जना अर्थात् गिरिप्रसाद बुढामगर, शत्रुघन श्रेष्ठ, शिवकुमार शाही र म (रामप्रकाश पुरी) मात्र बाँकी रहेका थियौँ । हामी चार जनाको टोली पूरै कामकाजी, सक्रिय र नेतृत्वस्तरको थियो । त्यसैले कुनै पनि काम सहज, र्निविवाद र चुस्तदुरुस्त प्रकारले सम्पन्न हुन थालेका थिए ।

    नाकामा कुनै स्थानीयको एउटा घरमा हामीले बास जमायौँ । बास बसेका घरका मान्छेले राम्रै सत्कार गरे । उनले कुनै अप्ठेरो नमानी जे सम्भव छ, खानपिनको व्यवस्था गरिदिए । राति खाना खाइसकेपछि हामीले खाना खाएको पैसा लैजानका लागि गिरिप्रसादजीलाई भन्न लगायौँ । उहाँले ॅके काङ केजुअ पैसा खाताया’ (हामीले खाना खाएको पैसा कति भयो होला) भनेर सोध्नुभयो । उनले पैँसा नलैजाने भने । हामीले अनुरोध गर्दा पनि ठाडै अस्वीकार गरे । उनले यो भनेर हामीप्रति आत्मीयता प्रकट गरे : ‘के जेपार्टील गेमालिडिमनी केजेलै आउ सहयोग केडुए’ (हामी तपाईंहरूको पार्टीमा नभए पनि तपाईलाई हामीले चुनावमा यत्ति सहयोग गर्न सक्छौँ ?) ।

    रातिको बसाइमा उनीसँग धेरै कुरा भए । हामी को थियौँ ? त्यसबारेमा उनलाई राम्रोसित जानकारी गरायौँ । उनको सहयोगप्रति हामीले आभार प्रकट गऱ्यौँ । उनको घरमा जे पाकेको थियो, त्यो हाम्रा लागि अमृतमय थियो । भोलिपल्ट उनले ‘यामल जे करेनाए अर्नी बैदे बाचुके’ (बाटोमा भोक लाग्ला खाजा लैजानुहोस्) भनेर हामीलाई भने । गिरिप्रसादजीले ‘टा टा माचाही’ (भो भो चाहिँदैन) भन्नुभयो तर उनीहरूले मानेनन् । उज्यालो भुइँमा नखस्दै मकै र भटमास भुटेर हाम्रो झोलामा राखिदेलान् भनेर हामीले कल्पना पनि गरेका थिएनौँ । हामी उनीप्रति आभारी र ऋणी बन्दै त्यहाँबाट हामी बिहानै हिड्यौँ ।

    हामीले कोल र तकसेरामा गएर त्यस दिनमा धेरै काम गर्नु थियो र भोलिको दिनमा काँक्रीतर्फ फर्कनुपरेको थियो । त्यसैले भेटघाट र प्रचारकार्यलाई समयसारिणीअनुसार सम्पन्न गर्नु कर्तव्य बन्न गएको थियो । त्यसैले बिहानबाट नै हामी कस्सिनुपरेको थियो । हामी नै त्यस्ता राजनीतिक कार्यकर्ता थियौँ, जो बिहानैदेखि पर्चा, पोस्टर र त्यसलाई टाँस्ने मैदा हातमा बोकेर बिहानैदेखि साँझसम्म पूरा खटिएर लाग्ने गर्दथ्यौँ । यो एक प्रकारको आदर्श हो जस्तो पनि लाग्दछ किनकि आजका राजनीतिक कार्यकर्ता त्यस प्रकारले काम गर्दा हुन् वा नगर्दा हुन् ? यस्तो प्रश्नले आफ्नै अन्तरआत्मालाई सोधिरहन्छ ।

    खैर जेसुकै होस्, हामी हिँड्दा भुइँमा उज्यालो बस्न थालेको थियो, हामी फटाफट हिड्यौँ । केही बेर तेस्रो बाटो हिँडेपछि भिरालो भागतिर पुग्यौँ । माथिबाट एक जना मानिस झर्दै थिए । उनी चालढालले स्थानीय हुन् भन्ने कुरामा शङ्का रहेन ।

    गिरिप्रसाद बुढाले मगरखाम भाषामा ‘आउ पोए अमिन कता’ (यो ठाउँको नाम के हो) भनेर सोध्नुभयो ।

    जवाफमा उनले कोइरेनी महरपोले भनिदिए ।

    ‘याम सजिलो लिजेसै गाह्रोलिजे’ (बाटो सजिलो छ कि अप्ठेरो) ?

    उनको जवाफ थियो– ‘खासै गाह्रो माले’ (खासै अप्ठेरो छैन) ।

    उहाँले फेरि सोध्नुभयो– ‘गे बाओ जेधुए’ (के हामी जान सकौँला त) ?

    उनले भने– ‘अँ बाओ जेधुए’ (अँ जान सक्नु हुन्छ) ।

    खामभाषामा हुने कुराकानीको नेपाली अनुवाद गिरिप्रसादले नै गर्नुहुन्थ्यो र हामीलाई भाषिक अर्थ स्पष्ट गरिदिनुहुन्थ्यो । उहाँ खामभाषी भएकोले त्यो कार्य गर्न उहाँलाई सजिलो पनि थियो ।

    ‘कोइरेनी महरपोले भनेको के रहेछ ?’ मैले गिरिप्रसादलाई सोधेँ ।

    उहाँले कोइरेनी ठाउँको नाम हो र महरपोले भनेको कामी गाड्ने भन्ने बुझिन्छ भनेर स्पष्ट गर्नुभयो । यसको अर्थ त्यस क्षेत्रमा दलित भनिएका जातिमध्येका कामीको चिहानघारी थियो । हामीले त्यहाँ यताउता हेऱ्यौँ । यताउता धेरै पुराना एकदुई वर्षका र हालै गाडिएका केही चिहानलाई हामीले देख्यौँ ।

    हामी अलि अगाडि बढिसकेपछि आगो लागेर उजाड भएको पाखा हाम्रो आँखाअगाडि देखा पऱ्यो । घाम चर्को लाग्दै गएको थियो । घाम र उजाड भिरको यात्रा कस्तो हुने होला ? म सशङ्कित हुँदै गएको थिएँ । उजाड पाखामा हिँड्दा सधैँ हिँड्ने गरेको गोरेटो बाटो पनि कठिन बन्न गएको थियो । बाटोदेखि तलतिर हेऱ्यो भने अति विकट भिरबाहेक अरू केही थिएन । यदि त्यहाँबाट लड्न पुगियो भने लड्ने साथीलाई बाँकी रहेका साथीले खोज्न जानुनपर्ने किसिमको धेरै उचाइ र विकट भिरमा हामीले पाइला राखेका थियौँ ।

    अलि अगाडि गइसकेपछि शत्रुघनले माथिबाट झर्दै गरेका दुईओटी अधबैँसे महिलालाई सोध्नुभयो– ‘कोल जाने बाटो कताबाट जान्छ ?’
    उनीहरूले भने– ‘हामीले भारी ल्याएकाले माथिबाट आएको हो । तिम्रो भारी छैन भने तलबाटै गए पनि हुन्छ कान्छा ।’

    मैले सोधेँ– ‘घोडाखच्चर हिँड्ने बाटो कुन हो ?’

    उनीहरूले जवाफ दिए– ‘माथिबाट हो । उनीहरू कुरा गर्दै बिस्तारै बिस्तारै अगाडि बढ्दै गए ।’

    उनीहरू अगाडि गइसकेपछि पनि हामी माथिबाट जाने कि तलबाट भन्ने विषयमा हाम्रो निर्णय नहुँदै तलबाट हिडेर एक जना बटुवा आइपुगे ।
    ‘बाटो कस्तो होला ?’ एक जना साथीले सोध्नुभयो ।

    उक्त बटुवाले अप्ठेरो छैन, जान सकिन्छ भनेर आफ्नो बाटो खुरुखुरु हिडिरहे । उनले त्यसो भनेपछि गिरिप्रसाद बुढाले कुन बाटो जाने भनेर सबैलाई सामूहिक रूपमा सोध्नुभयो । शत्रुघन श्रेष्ठले मतिर हेरेर कताबाट जाने भनेर त्यही प्रश्न दोहोऱ्याउनु भयो । शिवकुमार शाही र अर्को साथीले पनि मेरो जवाफको प्रतीक्षा गरेजस्तो लाग्यो । सबै जनाले मेरै निर्णयलाई पर्खिएकोजस्तो लाग्यो ।

    त्यो क्षेत्रको भूगोल र बाटोका बारेमा मलाई र शिवकुमारलाई भन्दा शत्रुघन र गिरिप्रसादलाई बढी जानकारी हुन्थ्यो । हामीले उहाँहरूसँग सामान्य परामर्श गऱ्यौँ तर त्यो बाटोमा उहाँहरू पनि नहिँडेकोले उहाँहरूले कुनै भेउ पाउन सक्नुभएन । त्यो अवस्थामा मेरो निर्णय अन्धाधुन्द प्रकारको हुन गयो ।

    मैले भनेँ– बाटो नभएको ठाउँमा मान्छेहरू हिँड्दैनन् । बाटो भएकाले नै यी बटुवा आएका हुन् । अहिले माथि जान थाल्ने हो भने दिनभरि यतैतिरको यात्रा हुन्छ र उकालो पनि धेरै छ । केही अप्ठेरो भए पनि तलबाट नै जान सकिन्छ ।

    मैले यसो भनेपछि पनि अरू साथीहरूले माथिबाट नै जानुपर्छ, आधा एक घण्टाको समय फरक होला भन्नुभएकै हो तर मेरो अनावश्यक हठका कारणले उहाँहरू सबैका सुझाव फिका भए । त्यसपछि तल्लो बाटोतिर हामी सबैले प्रवेश गऱ्यौँ ।

    हिँडेको केही मिनेटमा नै आगो लागेको नाङ्गो भिरालोपाखो करिब १० मिनेट हिँडेमा समाप्त हुनेजस्तो देखियो । मैले सबैलाई उत्साहित गर्दै भनेँ– ‘समस्या भनेको यही भिर त हो अर्थात् कोइरेनी महरपोले भिर । यो जम्मा १० मिनेट जतिको होला, बिस्तारै बिस्तारै पाइला सारे पनि मजाले पार गर्न सकिनेछ ।’ मैले यसो भन्दा अरू साथीहरूले के सोच्नुभयो होला ? त्यसको कुनै अनुमान गरिनँ । जे भए पनि हामी अगाडि बढ्दै गयौँ ।

    सुरु सुरुमा सजिलो भए पनि हामी हिँड्ने बाटो बिस्तारै विकट बन्दै गयो । जति अगाडि बढ्दै गयो, त्यति नै भिरालो र छाङ्गोतिर पुग्न थालियो । बाटो पनि साँघुरो साँघुरो भएर गयो । त्यसपछि भने साँच्चिकै मेरो पेटमा चिसो पस्दै गयो तैपनि हिम्मत नहारेर सबैलाई ढाडस दिँदै क्रान्तिकारीले खालि सिद्धान्त र विचारको मात्र होइन, वास्तविक पैदलयात्राका कठिन बाटा पनि पार गर्न सक्ने हिम्मत राख्नुपर्दछ भनेर उक्साउने कोसिस गरेँ ।

    व्यङ्ग्य गर्दै गिरिप्रसादले भन्नुभयो– ‘हामीसित कति हिम्मत छ भन्ने कुरा अहिलेको अहिल्यै पत्ता लाग्ने छ ।’

    उहाँले यस्तो भनेपछि हामी सबै हाँस्यौँ र एकछिन त्यही उभिएर अगाडिको डरलाग्दो भिरतर्फ एकोहोरो हेरिरह्यौँ । यति बेलै आगो लगाउनुपर्ने बेसरमलाई ? मैले रिस पोखेँ तर वास्तवमा यो रिस भिरबाट डराएको कुरा लुकाउन गरिएको एउटा प्रयत्न मात्र थियो । मेरो गति बिस्तारै बिस्तारै कम हुँदै गयो । अब मेरो मनमा ढ्याङ्ग्रो बज्न थालिसकेको थियो । मेरो मनभित्र आफू सबैभन्दा कमजोर भएको भान पर्न थाल्यो । बिस्तारै बिस्तारै गिरिप्रसाद र शत्रुघनको पनि गति घट्न थाल्यो । उहाँहरूको गति घटेपछि मलाई पनि आशा जाग्यो कि म सँगै भिरबाट डराउने अरू केही मान्छे पनि छन् । कहिलेकाँही यस्तै हुन्छ कि कमजोर एक्लै भइएन भने बल जुट्न थाल्दछ । उहाँहरूको गति कम हुँदा ममा बल जोडिन थालेको थियो । म उहाँहरूप्रति आभारी थिएँ तर शिवकुमारका पाइला रोकिएनन् । उहाँलाई हामीले अगाडि हिँड्नका लागि बाटो छोडिदियौँ र मैले होसियारपूर्वक हिँड्नुहोला भनेर सुझाव दियौँ तर मैले आफैलाई भनिरहेको थिएँ– होसियार शिवकुमार होइन, तैँले हुनुपर्ने छ ।

    शिवकुमारले भिर भएको कुनै आभाष गर्नुभएन । अप्ठेरो लाग्ने गौँडो मजाले ओर्लिनुभयो र धकेल्ने जस्तो पेट निस्किएर गजधम्म भएको पहरालाई छलेर उहाँ फुत्त अर्कोपट्टि निस्कनुभयो । अलि पर रहेको गौँडोलाई हल्का उफ्रिएर पार लगाउनुभयो । उहाँ यो भिरको सम्पूर्ण गौँडामाथि विजयी बन्नुभएको थियो । अति उत्तम झ् यो कुरा त उता गौँडामा अल्झिएर यता न उता भएका हामी तीन जनाले राम्रोसँग हेरिरहेका थियौँ ।

    अब हाम्राअगाडि गौँडाबाहेक केही पनि थिएन । दुई पाइला हिँडेपछि सानो धर्सोजस्तो बाटो बिलायो र एउटा विकट गौँडो आयो । यही गौँडो नै हाम्रो त्यस दिनको यात्राको लागि सबैभन्दा ठुलो र डरलाग्दो परीक्षा बन्न गयो ।

    अगाडि शत्रुघन हुनुहुन्थ्यो अनि गिरिप्रसाद र त्यसपछि म त्यो गौँडा ओर्लिन थाल्यौँ । तल ओर्लिन सकिने तर अगाडि फ्याट्ट पेट निकालेर बसेको पहराले हाम्रो बाटो छेक्ने । शिवकुमारले झैँ छलेर निस्कने हामीले नसक्ने अनि कुनै विकल्प नपाएर जता अलि सजिलो छ, त्यतैतिर खुट्टा बढ्ने । यसो गर्दा कुनै एउटा वस्तुलाई केन्द्र मानेर हामी तीनै जनाले त्यसको वरिपरि परिक्रमा गर्ने स्थिति निर्माण हुँदो रहेछ । त्यो वस्तु के थियो ? धन्य छ प्रकृति झ् हाम्रो सहायताका लागि होला भनेर मैले अहिले भनिरहेको छु, त्यहाँ दुई हातले मजाले समात्न सकिने एउटा सानो वृक्ष थियो । त्यो एउटा वृक्ष जसको टुप्पामा तीनओटा मात्र पात थिए र एक्लै निर्भीक भएर त्यो भिरमा उभिएको थियो । प्रकृति अनौठो झ् कसरी त्यस प्रकारको प्राकृतिक व्यवस्था हुन गयो होला ? आगो लागेर उजाड भएको भिर झ् कुनै वृक्ष उम्रिन नसक्ने पहरामा झ् कसरी त्यो निर्भीक वृक्ष उपस्थित हुन गयो होला हाम्रो सहयोगी बनेर ? अनौठो संयोग झ्

    हामीले सङ्घर्ष गरिरह्यौँ करिब आधा घण्टासम्म । त्यो बेलामा हामीले एक एकओटा कविता जति आउँछ, त्यति सुनायौँ । त्यो एक प्रकारको जीवनको प्रयास थियो तर पहरालाई छिचोल्ने स्थिति बन्न सकेन । हामी सङ्घर्षरत रह्यौँ । त्यति बेलासम्म हामीलाई यो याद भएन कि हामी त्यही वृक्षको वरिपरि घुमेर तलमाथि गरिरहेका छौँ । पानी प्यासले सबै जनाको जिब्रो सुक्न थालेको थियो । खुट्टाका नसा भिरको सामना गर्दागर्दै थकित भए । केही समयपछि खुट्टा चल्न छोड्ला भन्ने भय पनि नजिकिन थाल्यो । बाँकी दुई जनालाई पनि त्यो भयले छोएको रहेछ । मलाई आभास भयो कि मेरो अनावश्यक हठका कारणले राम्रा र सुन्दर मानवको हत्या हुँदैछ । म पीडा र ग्लानिले जल्न थालेँ तर पनि जीवनको सपनाबाट म विचलित भएको थिइनँ ।

    मैले पारि शिवकुमारतिर हेरेँ । शिवकुमारले पारिबाट हामी दाइँ हालिरहेको दृश्य हेरिरहनु भएको थियो । त्यो स्वाभाविक पनि थियो । उहाँ सजिलै गएको त्यो बाटोमा हामीलाई त्यो सानो वृक्षको वरिपरि घुम्ने परिस्थिति बन्नेछ भन्ने सायद उहाँले पनि सोच्नुभएको थिएन । त्यसैले उहाँले हाम्रो अवस्थालाई पारिबाट राम्रोसित ठम्याउन सक्नुभएको थिएन । हामी केटाकेटी भाडाकुटी खेलेजस्तो गरी त्यही सानो वृक्षलाई समाएर पहिले ओर्लिन्थ्यौँ र अगाडि बढ्न नसक्ने स्थिति बनेपछि त्यहाँबाट जता खुट्टा राख्ने ठाउँ छ, त्यतैतिर पुग्थ्यौँ अनि त्यही वृक्षको वरिपरि घुमिरहन्थ्यौँ । हामी हिँडिरहेका थियौँ तर जहाँको तहीँ थियौँ ।

    हामीले त्यहाँ सल्लाह गऱ्यौँ । शिवकुमारलाई त्यहाँ बोलाउने र उहाँलाई हाम्रा झोला लगिदिन भन्ने र भिरबाट कसरी पाउन सकिन्छ भनेर परामर्श गर्ने । त्यसपछि मैले शिवकुमारलाई हातले इसारा गरेर आउन भनेँ । उहाँ इसारा पाउनेबित्तिकै हिँडिहाल्नु भयो र ५ मिनेटजति समय लगाएर आइपुग्नुभयो । उहाँ आइसकेपछि हामीले हाम्रो सम्पूर्ण स्थितिको जानकारी गरायौँ ।

    त्यस्तो स्थितिमा पनि मैले उहाँलाई हप्काएँ– ‘के हेरेर बसेको ? हामी सङ्कटमा परेको जानकारी तपाईंलाई भएन ?’

    मैले यस्तो भनेपछि उहाँले अचम्म मान्नुभयो र भन्नुभयो– ‘होइन, तपाईंहरू सङ्कटमा परेकोजस्तो नै देखिँदैन । पारिबाट हेर्दा तपाईहरूले मजा

    गरिरहेको जस्तो देखिन्थ्यो । तपाईहरूले पढेका कविता त्यहाँ पारि सुनिन्थे ।’

    मैले भनेँ– ‘हामीले केही कविता गाउनु बाध्यता बनेको थियो । हामीले जीवनलाई अहिले नै हराउन सक्दैनथ्यौँ । हामीले गरिरहेको सङ्घर्ष सामान्यबाट गुज्रिरहेको थियो । त्यसैले हामीले कविता भन्न सकेका हौँ तर अब हामी धेरै थकित भएका छौँ । तपाईं हाम्रा सबै झोला लिएर पारि छोडेर आउनुहोस् र हामीलाई एक एक गरी लैजानुहोस् ।’

    शिवकुमार हामीले सानैदेखि आन्दोलनमा अभ्यस्त गराएको प्रिय साथी हुनुहुन्थ्यो । उहाँले हामीले भनेअनुसार तुरुन्तै गर्नुभयो र हामी तीनै जनाको झोला बोकेर शत्रुघनको हात समातेर डोऱ्याउन थाल्नुभयो ।

    मैले भनेँ– ‘त्यो पहरामा के हुन्छ ?’

    उहाँले ‘त्यसका लागि म छँदैछु नि’ भनेर शत्रुघनलाई यसरी अलिकति ‘तर्किनुहोस् र आउनुहोस्’ भनेर हात समाएर सहजै गौँडो पार गराउनुभयो अनि उहाँलाई लिएर पारि छोड्नुभयो । फेरि आउनुभयो र गिरिप्रसादलाई लिएर जानुभयो । म भिरमा केही बेर एक्लै भएँ । मलाई उहाँहरू सबै जना भिरबाट सुरक्षित भएकोमा खुसी लाग्यो र ग्लानि अलि कम भएर गयो । मैले धेरै सोचेँ– जीवनको बाटो विचार नगरी तय गरिएमा यस्तै हुनेछ । अन्तमा मलाई लिन आउनुभएको शिवकुमारले ‘बोक्नुपर्छ र दाइ’ भनेर सोध्नुभयो ।

    मैले भनेँ– ‘होइन, अरूलाई जसरी मलाई पनि डोऱ्याएमा हुन्छ होला ।’

    उहाँले ‘म छँदैछु नि, नडराउनुस्’ भनेर मलाई भरोसा दिनुभयो र हात समाएर डोऱ्याएर लैजानुभयो । उहाँसँगको भिर यात्रा सहज र सजिलो भयो तर कसरी भयो त्यो आफैलाई थाहा थिएन ।

    जे होस्, भिर पार गरियो । त्यसपछि बल्ल होस ठेगानमा आएछ कि क्या हो, खुट्टा काँपेको अनुभूति भयो । सबै जनाले त्यही महसुस गर्नुभएको रहेछ । ओठमुख सुकेका थिए । संयोगले पानी नजिकै हुनु धेरै खुसीको कुरा थियो । शिवकुमारले पानी लिएर आउनुभयो हामीले पानी पियौँ । त्यसपछि भोक लागेको आभास भयो र झोलाबाट गिरिप्रसादले मकै भटमास झिक्नुभयो । मकै मुखमा हालेर चपाऊँ भनेको पूरै दाँत खल्बलिएका रहेछन् । हामी तीनै जनाले मकै चपाउन सकेनौँ ।

    करिब एक घण्टाजति हामीले त्यहाँ आराम गऱ्यौँ । त्यसपछि हाम्रो दाँत पनि ठिक हुँदै गयो र मकै चपाउन सक्षम भयौँ ।

    मकै चपाउँदै शत्रुघनले सोध्नुभयो– ‘बाटो कस्तो लाग्यो पुरी जी ? मैले केही पनि बोलिनँ ।’

    गिरिप्रसादले भन्नुभयो– ‘जिन्दगीको क्रान्तिको कार्यक्रम यहीँसम्म रहेछ भन्ने लागिसकेको थियो ।’

    शिवकुमारले भन्नुभयो– ‘मैले भिरमा पनि कविता वाचनको कार्यक्रम आयोजना भइरहेको छ भनेर अचम्ममा परेको थिएँ ।’
    शिवकुमारको भनाइपछि हामी सबै हाँस्यौँ ।

    अनि मैले भनेँ– ‘धन्यवाद छ नाकाको कोइरेनी महरपोले भिरलाई । हामीले हरेक निर्णयमा सधैँ याद गरिरहनेछौँ । धन्यवाद छ गिरिजी र शत्रुघनजीलाई किनकि तपाईंसँग मैले बिपत्को सामना गरेँ । धन्यवाद छ शिवकुमारलाई, तपाईं नभएको भए कोइरेनी महरपोले भिरले हामीलाई यति बेलासम्म आफ्नो आलिङ्गनमा लिइसक्ने थियो होला ।’

    हाँसो र व्यङ्ग्य गर्दै हामी सौहार्दपूर्वक आफ्नो अभियानतर्फ अगाडि बढ्यौँ ।

    (चेरव स्मृति प्रष्ठिानद्वारा प्रकाशित ‘हिमाद्रि’ कात्तिक–पुस २०८१, पूर्णाङ्क ३१ वर्ष ८ अङ्क २ मा प्रकाशित संस्मरण ।)

    बिहिबार, माघ २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.