सर्जन गौतम ##
जलजला उपन्यास नेपाली कम्युनिस्ट राजनीतिका महत्त्वपूर्ण हस्ती मोहनविक्रम सिंहले लेख्नुभएको हो । १,३२० पृष्ठमा लेखिएको विशाल उपन्यासमा प्रेम, दर्शन, इतिहास, सभ्यता, मनोविज्ञान, राजनीति, वातावरण, अपाङ्ग अधिकारलगायतका विभिन्न विधा जोडिन्छन् । यसले गर्दा उपन्यासलाई महाभारतको कथासँग तुलना गर्न सकिन्छ ।
महाभारत महाकाव्यको प्रमुख प्रसङ्ग कौरव र पाण्डवका बिचको द्वन्द्व हो तर त्यसमा त्यसदेखि बाहेक पनि अनेकन् कथा र उपकथा जोडिन्छन् । जलजला पनि त्यसरी प्रेमको कथा हो तर यसमा अन्य प्रसङ्ग जोडिएको मात्र होइन, कतिपय अवस्थामा अन्य प्रसङ्ग नै हावी भएको पनि देखिन्छ । यो लेख जलजलामा भएका त्यस्ता विषयवस्तुलाई सामान्य पाठकीय समीक्षा गर्ने उद्देश्यले लेखिएको हो ।
अहिले युनिभर्सिटीमा भाषासाहित्यका विषयमा जुन प्रकारले शोधपत्र लेखिन्छ, त्यसमा विशिष्टीकरणमा ध्यान दिइन्छ । यसरी हेर्दा साहित्यको विद्यार्थीका निम्ति यसका विभिन्न आयाम दर्शन, मनोविज्ञान, समाजशास्त्र, मानवशास्त्र, नारीवादका विभिन्न सिद्धान्त, खासगरी माक्र्सेली नारीवादका दृष्टिबाट समेत अध्ययन गर्न सकिने आधार छ । हामीले यी सबै क्षेत्रको अध्ययन गर्न थाल्यौँ भने समीक्षाको आकार निकै नै ठ्लो हुन जाने छ । त्यसकारण हामी यो उपन्यासमा एकातिर यसका साहित्यिक तत्त्व र अर्कोतिर हेगेलको द्वन्द्ववाद वा त्यसलाई परिमार्जित गरेर बनाइएको माक्र्सेली द्वन्द्ववाद, जसको आधारमा नै यो उपन्यासको निर्माण भएको छ, त्यसमा नै समीक्षालाई सीमित राख्ने प्रयास गर्ने छौँ ।
पूरै उपन्यास हेगेलको यो मान्यतामा उभिएको छ कि व्यक्ति विश्वमा र विश्व व्यक्तिमा समाहित हुन सक्दछ अर्थात् एउटा अणुमा विश्वका सम्पूर्ण तत्त्व र विश्वमा अणुका सम्पूर्ण तत्त्व विद्यमान हुन्छ । यसै दृष्टिकोणका आधारमा नै लेखकले सुनन्दालाई जलजलालाई प्रतिस्थापन गराएका छन् । त्यसकारण उपन्यास विभिन्न पक्षमा केन्द्रित भए पनि यसको केन्द्रीय पक्ष माक्र्सको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद नै हो । त्यसै पक्षको आधारमा नै उपन्यासको समीक्षा गर्नु वस्तुपरक हुन्छ ।
पहिले हामी उपन्यासको साहित्यिक तत्त्वको सङ्क्षिप्त विवरण राख्दछौँ ।
मुख्य साहित्यिक तत्त्व
जलजला उपन्यासका मुख्य पात्र
१ . सुनन्दा
उपन्यासकी सबैभन्दा प्रमुख पात्र सुनन्दा हुन् । उपन्यासकी नायक सुनन्दा नै हुन् । उपन्यासमा जति पनि भूगोल, दर्शन, इतिहास, साहित्य, राजनीति, सभ्यताका कुरा आउँछन्, सुनन्दाको वरिपरिबाट आउँछन् । सुनन्दा कुमाउँको भेडा चराउने पुख्र्यौली पेसा भएका शौका जातिको एउटा गाउँ दाँतुमा जन्मिएकी हुन् । कथा उनको बालककालबाट नै सुरु गरिएको छ । उनका बाउ पृथ्वी सिंह त भेडा चराउने अनवालको नै काम गर्छन् तर उनका जेठा बा अनुप सिंह भने पेसा परिवर्तन गरेर पर्वतारोहणको पेसामा लागेका छन् ।
जेठा बाले नै भाइकी छोरीको नाम हिमालयको नामबाट नन्दादेवी राखिदिएका थिए । स्कुलमा गएपछि शिक्षकले उनको नाम सुनन्दा राखिदिएका थिए ।
शौका गाउँको चलनअनुसार उनका बाजेले गाउँको हरिसिंहसँग थैचो गरिदिएका थिए । थैचो गरिएको केटासँग नै विवाह गरिदिनुपर्ने गाउँको नियम थियो तर उनी हरि सिंहसँग विवाह गर्न चाहन्नथिन् । देशदुनियाँ देखेकाले उनका जेठा बा पनि उनलाई बिहे गरिदिने पक्षमा थिएनन् ।
उनी भर्खर १५ लागेकी थिइन् र म्याट्रिकको जाँच दिने बेला भएको थियो । तसर्थ जेठा बाले उनलाई आफूसित आफ्नो फुपूको घर लखनउ ल्याएर छोडेका थिए र उनको पढाइको चाँजोपाँजो मिलाएका थिए ।
एकपटक घर छोडेपछि सुनन्दाको व्यक्तित्वको तीव्र विकास गराउने कुरामा लेखकले मिहेनत गरेका छन् । तेस्रो परिच्छेदसम्म गइपुग्दासम्म सुनन्दा एक स्तरको उच्च व्यक्तित्व बनिसकेको छ : एक– उनले कराँते सिकेकी छिन्; दुई– इतिहास विषयमा एमएको परीक्षा दिएकी छिन्; तीन– विचारको दृष्टिले गान्धीवादी बनेकी छिन् ।
जब उनले एमए उत्तीर्ण गरेर पिचडीको लागि सोधपत्र तयार गर्ने स्वीकृति प्राप्त गरेर उपन्यासकी सहायक पात्र विद्या थापामार्फत परिचय प्राप्त गरेकी जलजलालाई समेत खोज्ने उद्देश्य राखेर नेपाल जान्छिन्, उनको व्यक्तित्वमा विकास हुँदै जान्छ । उनी नेपालमा जेलमा पर्छिन् र त्यहाँको वातावरणले माक्र्सवादी बन्छिन् । उनी जेलबाट रिहा भएर विभिन्न व्यक्तिसँग भेट गर्दै अलग अलग ठाउँ घुम्दै जान्छिन् । उपन्यासको कथा अगाडि बढ्दै जान्छ ।
उनलाई नेपालको भैरहवाबाट काठमाडौँ, काठमाडौँबाट बुटवल, कपिलवस्तु हुँदै बनारस घुमाउँदा लेखकले एकातिर अनेकन् सहायक पात्रसँग भेटाउँदै जान्छन्; अर्कोतिर खस, मगर, थारू सभ्यताको वर्णन गर्दै जान्छन् । पर्यावरणीय आन्दोलन, गान्धीवाद, चिप्को आन्दोलन आदिका वर्णन त पहिले भारतमा हुँदा नै गरिसकिएको हुन्छ । सुनन्दाका विचार शृङ्खलाबाट नै पाठकलाई हेगेल, माक्र्स, गीता, साङ्ख्य, योग, बुद्ध दर्शन, बर्कले आदिका दर्शनको व्याख्या प्राप्त हुन्छन् ।
उनको जलजलासँग भेट हुन्छ, उनी अझ दृढ कम्युनिस्ट बन्छिन् । जलजलाको मृत्यु हुन्छ, जलजला र अजितको पत्रव्यवहारको अध्ययनबाट उनमा अजितप्रति भावनात्मक आकर्षण पैदा हुन्छ ।
उनी डा. जगदीशसँग विवाह गर्न भनेर युरोप जान्छिन् । लेखकले उनको माध्यमबाट फ्रान्स, जर्मनी, रुस, ग्रीसको दर्शन, इतिहास, सभ्यता, क्रान्ति, युद्ध, मिथ, कम्युनिस्ट आन्दोलन, स्टालिन, हिटलर, ख्रुस्चेवसम्मका कथा, दर्शन, मूल्याङ्कन प्रस्तुत गर्न भ्याउँछन् ।
नेपाल फर्केपछि प्युठानदेखि रोल्पासम्मको भ्रमणको क्रममा यहाँको मस्टोपूजा, किसान आन्दोलन, गाउँ, जातीय स्वरूप, थबाङ, सुनछहरीलगायतका अनेकन् ठाउँका समेत रोचक कथा, इतिहास, किंवदन्ती आदि बताउँछिन् । अन्त्यमा जलजलाको पहाडमा सुनन्दा र अजितको भेट भएपछि र त्यसको केही समयपछि बनारसको मोटरबोटमा अजित र सुनन्दाको विवाह भएपछि उपन्यास सकिन्छ ।
सुनन्दाको व्यक्तित्व विकासको सुरुआती चरण स्वयम् लेखक मोहनविक्रम सिंहको व्यक्तित्व विकासको छाप परेको देखिन्छ । मोहनविक्रम सिंह आर्यसमाजी, गान्धीवादी हुँदै माक्र्सवादी बनेजस्तो सुनन्दा पनि गान्धीवादीबाट माक्र्सवादी बनेकी छिन् ।
जलजलासँग भेट भएपछि भने उनी क्रमशः जलजलाको प्रतिबिम्ब बन्दै गएकी छिन् । अन्तमा लेखकले उनमा जलजलालाई प्रतिस्थापित गराएका छन् ।
२. जलजला
जलजला उपन्यासकी दोस्रो मुख्य पात्र जलजला स्वयम् हुन्, जसको नामबाट नै यो उपन्यासको नाम रहन गएको छ । जलजला विद्या ढकालले भूमिगत रूपमा काम गरेको रोल्पा थवाङको निकट उत्तरमा पर्ने धुरी हो । यसको नामबाट नै उनको टेक नाम जलजला रहन गएको हो ।
उपन्यासको पहिलो परिच्छेदमै जलजलाको प्रसङ्ग सुरु भएको छ । विद्या थापाले उपलब्ध गराएको का. अजितको जलजलासम्बन्धी लेख पढ्ने सिलसिलामा नै सुनन्दाले जलजलाको परिचय प्राप्त गर्दछिन् । जलजलालाई खोज्ने उद्देश्यका साथमा नै उनले पिएचडी शोधपत्रको विषयमा नेपाललाई समेट्छिन् ।
उपन्यासले नेपालसम्बन्धी जति पनि जानकारी (खस, मगर, थारू जातिको इतिहास, रामापिथेकस, मानव जातिको इतिहास नेपालको राजनीतिक परिस्थिति आदि) जलजलालाई खोज्ने क्रममा नै प्रकट हुँदै गएका हुन् । सुनन्दा युरोप जानु र युरोपका विभिन्न सभ्यताको वर्णन गर्नुका पछाडि पनि जलजलाको दुर्घटनालाई भुल्ने उनको प्रयत्नले काम गरेको छ । त्यसकारण जलजलाको परोक्ष भूमिकाका कारण नै उपन्यासले गति लिएको छ तर उपन्यासमा जलजलाको प्रत्यक्ष उपस्थिति एकदमै कम छ ।
लखनउमा सुनन्दाको कोठामा जलजला बसेपछिका तीन परिच्छेदसम्म उनले गरेका विभिन्न विचार शृङ्खला छन् जसमा उनको अन्तरिक्षसम्मको यात्रालाई देखाइएको छ । त्यसमा उनले विचार गरेका कुरा सामान्य छन् जस्तो कि कुचो तर त्यस्ता विचारबाट लेखकले सानोभन्दा सानो कुराको पनि विश्व ब्रह्माण्डसँग सम्बन्ध हुन्छ भन्ने कुरालाई पुष्टि गर्ने हेगेलीय निष्कर्षतर्फ लैजान खोजेका छन् जसको परिणामस्वरूप नै अन्त्यमा सुनन्दामा जलजलालाई प्रतिस्थापन गर्न लेखकलाई सजिलो भएको छ । सुनन्दासँग भेट भएपछि बनारस जाँदासम्म सुनन्दालाई उनले विभिन्न पक्षको बारेमा राय व्यक्त गरेकी छिन् : कम्युनिस्ट आन्दोलन, अजितसँगको प्रेम आदि तर महत्त्वपूर्ण कुरा देवकोटाको मूल्याङ्कनसम्बन्धी विचार र पारिजातसम्बन्धी टिप्पणी छन् ।
जलजलालाई लेखकले जस्तोसुकै परिस्थितिमा पनि क्रान्ति र परिवर्तनको बाटोतर्फ अगाडि बढ्ने आदर्श पात्रको रूपमा देखाउन खोजेका छन् । अत्यन्त कठिन परिस्थितिमा पनि अगाडि बढ्ने उनको स्वाभाव छ ।
सामान्य मानवीय स्वभावभन्दा उच्चस्तरमा विकास भएकी पात्रको रूपमा उनलाई देखाइएको भए पनि उनको दुर्घटनामा मृत्यु भएपछि सुनन्दाले पढेका अजित र जलजलाका पत्र र डायरीबाट थाहा हुन्छ– उनी कति ठुलो मानसिक द्वन्द्व र पीडाबाट गुज्रिएकी थिइन् । यसले उनको सामान्य मानवीय स्वभावलाई अगाडि सार्दछ । त्यस प्रकारको मानवीय अन्तद्र्वन्द्वलाई जितेर पनि क्रान्ति र परिवर्तनको पक्षमा दृढताका साथ लागेकाले उनलाई उपन्यासकी आदर्श पात्रको रूपमा स्वीकार्न सकिन्छ ।
३. डा. जगदीश
डा. जगदीशलाई कथाको मुख्य खलनायक मान्न सकिन्छ । डा . जगदीश एक प्राध्यापक र विचारको दृष्टिले रसियन कम्युनिस्ट हुन् । रसियन कम्युनिस्ट शब्दको राजनीतिक अर्थ के हुन्छ ? रसियन कम्युनिस्टको राजनीतिक अर्थ के हुन्छ भने सोभियत सङ्घको बिसौँ पार्टी काङ्ग्रेसमा ख्रुस्चेवले प्रस्तुत गरेको कार्यक्रमको समर्थक ।
यसको चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङले कडा विरोध गरेपछि (हेर्नुहोस्, “महान् बहस”) संसारको कम्युनिस्ट आन्दोलन रसियन कम्युनिस्ट र चिनियाँ कम्युनिस्ट गरी दुई भागमा बाँडिएको थियो । तसर्थ रसियन कम्युनिस्ट भन्ने शब्दले लेनिन वा स्टालिनको होइन, ख्रुस्चेवको संसोधनवादी विचारको समर्थक भन्ने बुझिन्छ ।
यसको साथै उनी चरम क्यारियरिस्ट थिए । रसियन प्रोजेक्टमा काम गर्थे तर सुनन्दासँगको प्रेममा भने उनी दृढ र कटिबद्ध थिए । सुरुमा उनीहरूका बिचमा गुरुचेलीको सम्बन्ध थियो । पहिले उनी कम्युनिस्ट भएको हुनाले गान्धीवादी सुनन्दाले उनको प्रेम प्रस्ताव स्वीकार गरेकी थिइनन् ।
जलजलाको मृत्यु हुनु र आफू पनि माक्र्सवादी भइसकेको हुनाले सुनन्दा डा. जगदीशको मास्कोमा विवाह गर्ने योजनाअनुसार पेरिस लागेकी छन् ।
डा. जगदीश जो एक रसियन कम्युनिस्ट थिए, को नाताले धेरै फाइदा लिएका थिए । अब उनमा माक्र्सवादी दृष्टिकोणप्रति खासै आस्था रहेको थिएन । गान्धीवादी सुनन्दाका लागि उनी अब कम्युनिस्ट पार्टी वा विचार परित्याग गर्न सक्थे । एकातिर, रसियाको कम्युनिस्ट पार्टी नै ‘सिर्जनात्मक’ बन्न पुगेको थियो, डा. जगदीश त्योभन्दा पनि अघि बढेर माक्र्सवाद परित्याग गर्न तयार भएका थिए । युरोप भ्रमणको क्रममा डा. जगदीशका विचारसँग परिचित हुँदै गएपछि सुनन्दालाई उनीप्रति घृणा जाग्दै आयो र अन्त्यमा उनले विवाह नगर्ने निर्णय गरिन् ।
वैचारिक रूपमा अवसरवादी र उपन्यासकी नायिकाले इन्कार गरेको हुनाले खलनायक भन्नुपरे पनि व्यक्तिगत रूपमा उनी सौम्य र सुसंस्कृत व्यक्तित्वका धनी थिए । उनी एक विद्वान व्यक्ति थिए । सुनन्दासँगको प्रेममा उनी अटल थिए । सुनन्दाले उनको प्रेमलाई इन्कार गरे पनि उनले प्रतिशोधको भावना वा दुव्र्यवहार गरेनन् ।
अन्त्यमा, उनले आत्मालोचना गरेर उनमा रहेको कम्युनिस्ट चरित्र पूर्ण रूपमा मरिसकेको थिएन भन्ने सङ्केतसमेत दिएका छन् ।
४. का. अजित
जलजला उपन्यासका अर्का महत्त्वपूर्ण पात्र का. अजित हुन् । वास्तवमा विद्या थापाबाट जलजलाको बारेमा सुनेर र उपन्यासको पहिलो परिच्छेदमा अजितले जलजलाको बारेमा लेखेको लेख पढेर नै सुनन्दामा जलजलाको बारेमा जिज्ञासा पैदा भएको थियो । पछि नेपालमा जलजलाको बारेमा खोजी गर्ने क्रममा उनले पार्टीका कामरेडसँग पनि अजितको बारेमा जिज्ञासा राख्दछिन् तर कसैले पनि थाहा पाउन सक्दैनन् । वास्तवमा अजित नाम का. आनन्दको केवल जलजलाले प्रयोग गर्ने प्राइभेट नाम थियो भन्ने कुरो अन्तिममा मात्र खुल्छ (उपन्यास नबोलेकाले अजित नै मोहनविक्रम सिंह हुन् भन्न हामी सक्दैनौँ) ।
जलजलासँगको भेट भएपछि का. अजितका बारेमा केही प्रसङ्ग सुनन्दालाई थाहा हुन्छ । जलजलाको मृत्युपछि जलजलाको र अजितका पत्रको अध्ययनबाट थप कुरा थाहा हुन्छ । अजितको डायरीबाट उनको जलजलासँगको प्रेमका मनोवैज्ञानिक र व्यवहारिक जटिलता थाहा हुन्छ ।
अजित विवाहित छन् उनका छोराछोरी पनि छन् तर पनि उनी जलजलासँग प्रेममा छन् । त्यसैकारणले उनलाई पार्टीले कारबाही गरेको छ ।
जलजलासँग छुट्टिएका छन् । अर्कोतिर, उनलाई नेपालमा प्रशासनको वारेन्ट पनि छ ।
जलजलाको मृत्युपछि सुनन्दाको मनमा का. अजितप्रति सहानुभूति हुँदै नजानिदो ढङ्गले प्रेम पलाउँदै जान्छ । अन्त्यमा जलजला पहाडमा अजितसँग सुनन्दाको भेटपछि प्रेम र केही समयपछि विवाहमा परिणत हुन्छ ।
अजितको सकारात्मक पक्ष के छ भने उनमा दर्शनशास्त्रको राम्रो समझदारी छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि मानअपमान, लाभहानिको विचार नगरी क्रान्ति र पार्टी काममा लागिरहने उनको स्वभाव छ ।
जलजलाका सहायक पात्र
सामान्यतः उपन्यासको चर्चा गर्दा उपन्यासका सहायक पात्रको पनि चर्चा गर्ने परम्परा छ तर जलजला उपन्यासमा पात्रको जुन भरमार छ, त्यसलाई हेर्दा सबै पात्रको चर्चा गर्नु सम्भव छैन । लेखकले उपन्यासमा करिब ५०० पात्र भएको बताएका छन् ।
उनको व्यक्तित्वलाई अगाडि बढाउन उनको जेठा बा अनुप सिंहको ठुलो भूमिका छ । उनले विवाहबाट भगाएर सुनन्दालाई लखनऊमा ल्याएर भर्ना नगरिदिएको भए उनको व्यक्तित्व विकास हुन सम्भव थिएन । सरस्वती जो उनकी आफ्नै फुपू थिइनन् तर फुपूकै रूपमा बदलिएकी थिइन्, उनको पनि धेरै ठुलो सहयोग उनलाई रहेको छ ।
उपन्यासमा उनले धेरै वास्तविक र औपन्यासिक पात्रलाई भेटेकी छन् । बालकृष्ण पोखरेल, सत्यमोहन जोशी, रश्मिराज नेपाली, खगुलाल गुरुङ, फ्रेडरिक, का. गढवाली, चित्रबहादुर केसी, निर्मल लामा, अर्चना श्रीवास्तव, नतासा, बर्मन बुढा, तुलकुमारी, हर्के, उजेली आदि । ती पात्रमध्ये धेरैजसो पात्रले उनलाई कुनै खास विषयमा जानकारी दिने वा कुनै कुनै काममा सहयोग नै गरेका छन् जसको कारणले नै उपन्यासले गति लिएको छ ।
यो भन्न सकिन्छ : विश्वभ्रातृत्व वा अन्तर्राष्ट्रिय भाइचारा जीवित छ भन्ने कुरा उपन्यासम सुनन्दाले पाएको सहयोगले पुष्टि गरेको छ । हामी योभन्दा बढी सहायक पात्रको बारेमा चर्चा गर्नेतर्फ लाग्दैनौँ ।
उपन्यासको मुख्य कथावस्तु
उपन्यासको मुख्य कथावस्तु एकातिर का. अजित र जलजलाबिचको दुखान्त प्रेम हो । अविवाहित जलजलाको विवाहित र बालबच्चाको बाउ अजितसँग प्रेम हुनु र सोही कारण पार्टीले कारबाही गर्नु, कारबाही फुकुवा भएर जलजलाले पार्टीको अन्तर्राष्ट्रिय विभागको काम गर्नेगरी दिल्ली गएको बेला सडक दुर्घटनामा उनको मृत्यु हुनु दुखान्त हो ।
अर्कोतिर, उपन्यासको मुख्य पात्र बनेकी सुनन्दा उपन्यासको अन्त्यसम्ममा माक्र्सवादी बन्नु र जलजलाको प्रतिबिम्बको रूपमा बदलिएर अजितसँग विवाह गर्नुले प्रेमको सुखान्त अन्त्य हुनु उपन्यासको मुख्य कथावस्तु हो ।
उपन्यासका सहायक कथावस्त
हर्के र उजेलीको प्रेम उपन्यासको सहायक कथावस्तु हो । त्यस्तै, दृष्टिविहीन बसन्तको अर्की सडकापेक्षी महिलासँगको प्रेम पनि उपन्यासको सहायक विषयवस्तु हो । ती सहायक कथावस्तुले प्रेम विषम परिस्थितिमा पनि उत्पन्न हुन सक्ने अवस्था बताउँछन् ।
उपन्यासमा गैरकथानक
उपन्यासमा एकातिर कथावस्तु बढ्दै गएको छ भने कथावस्तुसँंग जोडिएर विभिन्न पक्षहरू† जस्तै : दर्शन, साहित्य, इतिहास, सभ्यता, परम्परा, मिथ, भूगोल, राजनीति, कम्युनिस्ट आन्दोलन, पर्यावरणीय आन्दोलन, मानवअधिकार, अपाङ्ग अधिकार, ऐतिहासिक पात्रमाथिका चर्चा आदि गैरकथानकहरू उपन्यासको अंशको रूपमा तर कथाकै शैलीमा आएका छन् ।
जलजला उपन्यासमा द्वन्द्वविधान
माक्र्सवादी उपन्यास समीक्षा गर्ने विधि के हो भने यसमा उपन्यासमा द्वन्द्वविधान कसरी गरिएको छ ? त्यसलाई पर्गेल्ने काम गरिन्छ ।
सामान्यतः कुनै पनि उपन्यासमा नायक र खलनायकका बिचमा द्वन्द्व हुन्छ नै । द्वन्द्व उत्कर्षमा पुगेपछि नै कथावस्तु चरमोत्कर्षमा पुग्छ र त्यसले द्वन्द्वको समाधानतर्फ लैजान्छ ।
माक्र्सवादी उपन्यासमा हामीले के हेर्छौँ भने के त्यस्ता द्वन्द्वलाई वर्गसङ्घर्षको रूपमा विकास गर्न लेखक सक्षम देखिएका छन् ? अर्को पक्ष के हुन्छ भने समाजमा द्वन्दका विभिन्न रूप हुन्छन्; जस्तो कि व्यक्तिव्यक्तिका बिचमा, मान्छे र समाजसँगको द्वन्द्व, मान्छेको आफैसँगको द्वन्द, मान्छेको प्रकृतिसँगको द्वन्द्व आदि । एउटा माक्र्सवादी उपन्यास लेखकले यस्ता अनेकन् द्वन्द्वलाई विकसित गर्दै लगेर एउटा प्रधान द्वन्द्वमा होम्छ । वर्गसङ्घर्ष वा राज्यसत्तासँगको द्वन्द्व नै त्यस्तो प्रधान द्वन्द्व हुन सक्छ ।
यस्तो शास्त्रीय द्वन्द्वविधानको मान्यताअनुरूप उपन्यासको विकास हुन सकेको छैन । उपन्यासका पात्रहरू प्रत्यक्ष द्वन्द्वमा कमै मात्र मुछिन्छन् । उपन्यासले विभिन्न प्रसङ्गमा द्वन्द्वका विभिन्न कथा भन्छ । योगमायासँगको समाज र राज्यसँगको टकराव होस् वा प्युठानको किसान सङ्घर्ष, फ्रान्सको राज्यक्रान्ति होस् वा पेरिस कम्युन वा रुसको समाजवादी क्रान्ति सबै द्वन्द्वका भीषण कथा हुन् । चिप्को आन्दोलन होस् वा जलुङ्गोको महिलाको बलिदान सबै द्वन्द्वका रोमहर्षक कथा हुन् तर अन्य द्वन्द्वका कथा भने पनि उपन्यासका पात्रलाई भने द्वन्द्वमा समावेश गर्न सकिएको छैन यद्यपि केही द्वन्द्वका ससाना प्रसङ्ग भने छन् तर द्वन्द्वका धेरै प्रकृति मान्छेको आफैसितको द्वन्द्वको रूपमा रहेका छन् ।
सुनन्दाले थैचोअन्तर्गत सामाजिक रूपले गर्नुपर्ने विवाह त्यागेर हिँड्नु, सुनन्दाको गान्धीवादीबाट माक्र्सवादी बन्ने प्रक्रियामा उनको मनमा चलेको मानसिक द्वन्द्व, डा. जगदीशसँगको उनको वैचारिक द्वन्द्व, जलजलाको मनमा पार्टीको कारबाही र अजितसँग छुट्टिनुपर्दाको मनोवैज्ञानिक द्वन्द्वजस्ता द्वन्द्व छन् । डा. जगदीशको प्रस्तावलाई सुनन्दाले इन्कार गर्नु एक प्रकारको द्वन्द्व हो तर त्यो सुषुप्त ढङ्गले नै चल्यो, प्रत्यक्षमा खासै प्रकट भएन ।
मुख्य पात्रको प्रत्यक्ष द्वन्द्व भने जलजलाको पहाडमा का. अजितलाई प्रहरीले पक्रिन लाग्दा मुख्यतः सुनन्दाले गरेको कराँते प्रहार र हर्केको लकडीहात, विद्या थापालाई प्रहरीबाट छुटाउन गरेको सङ्घर्ष, बुटवलको सभामा चित्रबहादुर केसी र सुनन्दालाई प्रहरीबाट छुटाउन भएको हातापाइ आदि मात्र छन् ।
यसरी उपन्यासको द्वन्द्वविधान शास्त्रीय माक्र्सवादी उपन्यासको मान्यताअनुरूप सिर्जना गर्न लेखक सफल देखिएका छैनन् ।
चरमोत्कर्ष
द्वन्द्वविधान नै प्रष्ट नभएकाले चरमोत्कर्ष पहिचान गर्न कठिन छ । कुन विन्दुलाई उपन्यासको चरमोत्कर्ष मान्ने ? सुनन्दाको माक्र्सवादीको रूपमा रूपान्तरणलाई ? जलजलाको मृत्युलाई ? वा सुनन्दाले डा. जगदीशको विवाह प्रस्ताव इन्कार गरेको घटनालाई ? भिन्न मत हुन सक्छ ।
मेरो विचारमा जलजलाको मृत्युपछि घटनाहरू छिटोछिटो र यस रूपमा बढेको, सुनन्दा र अजित समान रूपले विक्षिप्त भएको र सुनन्दाको जलजलाको रूपमा समाहित हुने अवस्था प्रकट भएकाले जलजलाको मृत्युलाई नै उपन्यासको चरमोत्कर्ष मान्नुपर्छ भन्ने छ ।
समाधान छुट्याउन भने त्यति गाह्रो छैन । सुनन्दाको जलजलाको रूपमा प्रतिस्थापन हुनु र का. अजितसँग विवाह हुनु नै उपन्यासको समाधान हो ।
शैली
उपन्यासमा कथा भन्ने तरिकालाई शैली भनिन्छ । सबै पात्रका कथा पात्रले होइन, लेखकले थाहा पाएर भन्ने शैलीलाई सर्वज्ञानी कथावाचक भनिन्छ, महाभारतको युद्ध सञ्जयले धृतराष्ट्रलाई सुनाएजस्तो ।
कथा लेखक मोहनविक्रम सिंहद्वारा सर्वज्ञानी कथावाचनको शैली प्रयोग गरेर कथा भनेका छन् । यो विधि अपनाउनुको फाइदा के भएको छ भने उपन्यास जुन कालखण्डमा लेखिएको छ वा कथावाचकहरू जुन भूगोलसम्म पुगेका छन्, त्योभन्दा पनि पछिल्ला र परका कथा र जानकारीसमेत लेखकले दिएका छन् ।
भाषिक शैलीको कुरा गर्दा लेखकले सामान्यतः राजनीतिक लेख लेख्ने आफ्नो शैली नै प्रयोग गरेका छन् । सामान्यतः परिमार्जित नेपाली भाषाको प्रयोग गरिएको छ । हिज्जेका त्रुटि हेर्दा भाषा सम्पादकले राम्ररी काम नगरेको देखिन्छ ।
प्युठानी आञ्चलिक भाषाको अवशेषको रूपमा लेखकले अधिकांश लेखमा प्रयोग गर्ने ‘त’ को सट्टा ‘ता’ को प्रयोगले प्युठानी आञ्चलिकताको आभास दिन्छ । त्यसदेखि बाहेक अन्य केही शब्द जस्तो कि ‘जिस्क्याउने’ को ठाउँमा ‘खिजाउने’ जस्ता शब्दका प्रयोगले पनि प्युठानी स्वाद दिन्छन् । कमरेडको ‘क’ को ठाउँमा कामरेडको ‘का.’ त बङ्गाली कम्युनिस्टको प्रभाव हुन सक्छ । उपन्यास लेखनको यो प्रचलित शैली नै हो ।
का. जलजला उपन्यासको सैद्धान्तिक समीक्षा
सामान्यतः हामीले पहिले नै कथाका पात्र, कथावस्तु, द्वन्द्वविधानजस्ता विषयको समीक्षा गरिसकेपछि यसको माक्र्सवादी सौन्दर्यशास्त्रको दृष्टिले मात्र विवेचना गरे पुग्थ्यो तर यस उपन्यासभित्र दर्शन, इतिहास, सभ्यता, आन्दोलनलगायतका कथानकभन्दा अन्य तत्त्व पनि भएकाले यसलाई प्रथमतः औपन्यासिक दृष्टिकोणबाट र त्यसपछि माक्र्सवादी सौन्दर्यशास्त्रको दृष्टिबाट समेत समीक्षा गर्नुपर्ने आवश्यकता छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशका अनुसार उपन्यास भन्नाले धेरै अध्याय वा खण्डमा लेखिने लामो साहित्यिक कथा† चरित्रप्रधान गद्य महाकाव्यलाई बुझिन्छ । विकासको क्रममा मानव जीवन जटिल बन्दै गएकाले उनीहरूका जीवनका आरोहअवरोहका जटिलतालाई कविता र नाटकका माध्यमबाट भन्न असम्भव भएकाले उपन्यासको विकास भएको पाइन्छ ।
सामान्यतः इटलीमा प्रचलित गद्याख्यानलाई भन्ने गरिएको ‘नोभेला’ बाट उपन्यासको समानार्थी अङ्ग्रेजी ‘नोभेल’ शब्दको उत्पति भएको भए पनि संसारको सबैभन्दा पुरानो उपन्यास भने एघारौँ शताब्दीमा मुरासाकी सिकाबूद्वारा लिखित ‘अ टेल अफ गेन्जी’ लाई मानिन्छ ।
पाश्चात्य जगत्मा पहिलो आधुनिक उपन्यास भने डेनियल डिफोको रबिन्सन क्रुसोलाई नै मानिन्छ । त्यसपश्चात रिचर्डसन, फिल्डिङ, स्टर्न र स्मोलेटजस्ता उपन्यासकारले उपन्यास विधालाई अगाडि बढाउन मदत पुर्याएका थिए ।
उपन्यास विधा अगाडि बढ्दै जाँदा यसका विभिन्न स्वरूप निर्माण हुँदै गए । यसै सन्दर्भमा उपन्यासका संरचनात्मक स्वरूपका आधारमा एडविन म्योरले घटनाप्रधान, चरित्रप्रधान, साहसिक, नाटकीय र इतिवृत्तात्मक गरी पाँच भागमा बाँडेका छन् (https//ir.nbu.ac.in) । यस आधारमा हेर्दा मोहनविक्रम सिंहद्वारा लिखित जलजला उपन्यासलाई इतिवृत्तात्मक उपन्यास मान्न सकिन्छ ।
उपन्यासको कथानक भएको सामान्यतः नेपालको पञ्चायतको मध्यदेखि करिब अन्त्यसम्मको कालक्रमिक वर्णन मात्र होइन, प्राग्ऐतिहासिक कालदेखि आधुनिक कालसम्मका सम्पूर्ण इतिहास, दर्शन, सभ्यता, विज्ञान, खगोलसम्मको वर्णन यसमा छ । एरिस्टोटलले बताउने गरेको कथानकमा ‘युनिटी अफ टाइम’ र ‘युनिटी अफ प्लेस’ हुनुपर्ने मान्यता त यस उपन्यासमा कहिँ पनि भेटिन्न । यसमा त मानव जीवनको आदिम सभ्यतादेखि वर्तमानसम्म र पृथ्वीदेखि ब्रह्मान्डसम्म समेट्न खोजिएको छ ।
वैचारिक दृष्टिले उपन्यासले लिएको धारा समाजवादी यथार्थवादी धारा हो ।
पुँजीवादी क्रान्तिले उत्पादन र वितरणका क्षेत्रबाट मजदुरलाई वञ्चित गरी शोषण गरेको हुनाले समाजवाद स्थापनाका निम्ति सर्वहारा वर्गले गर्ने विद्रोहलाई समर्थन गर्ने कुरालाई कलात्मक ढङ्गले प्रस्तुत गर्नु साहित्यमा समाजवादी यथार्थवादी धारा हो । यस वादमा स्वतन्त्रताको मूल्य, समानता, सामाजिक न्याय, वर्गहीन समाज, प्रगति, शान्ति र समृद्धि आदि तथ्य समाहित भएका हुन्छन् (पूर्ववत्) ।
यसका सिद्धान्तकार माक्र्स, एङ्गेल्स हुन् । उपन्यास बढ्दै जाँदा पटकपटक लेखकले माक्र्सवाद, लेनिनवाद, समाजवादको समर्थन गरेका छन् । साथमा उनले आफ्ना मुख्य पात्रहरू ऐतिहासिक भौतिकवादी भएको कुरो पटकपटक पाठकलाई स्मरण गराएका छन् । यहाँसम्म कि जलजलाले सोच्ने क्रममा पनि उनी अध्यात्मिक दर्शनसम्म पुग्न थाल्दा पनि लेखकले पहिले नै सचेत गराएर त्यसरी सोच्नबाट रोक्ने गरेका छन् ।
उनले के कुरा पटकपटक दोहो¥याएका छन् भने ‘अध्यात्मवादीहरूले यसमा दैवीशक्तिलाई मुख्य कारण मान्छन् तर जलजलाले ऐतिहासिक भौतिकवादी दृष्टिकोणलाई मान्ने भएकाले त्यस्तो निष्कर्ष निकाल्न सक्दैनिन् ।’
लेखकले आदर्शवादी दर्शनहरू प्लेटो, बर्कले, गीताको निष्काम कर्मयोग, साङ्ख्य दर्शनको मान अपमानबाट निरपेक्ष हुनुपर्ने मान्यता वा हेगेलको परमतत्त्वको मान्यता आदिबारे पर्याप्त चर्चा गरेका छन् तर पात्रलाई निष्कर्ष निकाल्ने सन्दर्भमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी मान्यताभन्दा पर जान भने दिएका छैनन् । यसरी पटकपटक लेखकको दार्शनिक मान्यता खुला रूपमा घोषणा गर्दै जानु कलात्मक मूल्यको हिसाबले राम्रो मानिँदैन ।
एङ्गेल्सले कलासाहित्यसम्बन्ीध के विचार प्रस्तुत गरेका छन् भने लेखकले जति आफ्नो दृष्टिकोण लुकाउन सक्छ, त्यो राम्रो साहित्य मानिन्छ ।
आफ्नो दृष्टिकोणलाई पात्र र घटनाको माध्यमबाट बताउने प्रयास गर्नुपर्छ । केवल ऐतिहासिक भौतिकवादी दृष्टिकोणलाई मात्र होइन, लेनिन र स्टालिनको मूल्याङ्कनसम्बन्धी विचारलाई पनि लेखकले खुला र स्पष्ट रूपमा गैरसाहित्यिक कृतिमा जस्तै व्यक्त गरेका छन् । त्यसले माक्र्सवादी साहित्यलाई ‘नारा’ वा पोस्टरको रूपमा प्रस्तुत गर्दछ भन्ने कतिपय माक्र्सवादी सौन्दर्यशास्त्रीको भनाइ छ ।
माक्र्सवादी वा समाजवादी साहित्यमा विचारलाई मुख्य जोड दिइन्छ तर विचारलाई कलाले छोपेर प्रस्तुत गर्नुपर्छ ।
पात्रगत रूपमा हेर्दा लेखकले सुनन्दालाई आदर्शवादी पात्रको रूपमा उभ्याउन खोजेका छन् तर समाजवादी साहित्य आफैमा यथार्थवादी साहित्य भएकाले आदर्श र यथार्थको समुचित मेल हुनुपर्दछ । सुनन्दाको व्यक्तित्व विकासमा लेखकले जुन हतार गरेका छन् (तीन महिनाको जेलजीवन उनलाई गान्धीवादीबाट माक्र्सवादी बनाउन पर्याप्त भएको छ), त्यसले के शङ्का उत्पन्न गर्छ भने के सुनन्दाको जलजलामा रूपान्तरणपछि उनले यथार्थमै कम्युनिस्ट आन्दोलनमा आउने वर्गसङ्घर्षका जटिलतामा पनि उत्तिकै आदर्श रूपमा कायम रहन सक्छिन् ? भारत, नेपाल, युरोप भ्रमणपछि थबाङसम्म भ्रमणको क्रममा उनमा एक स्तरको दृढता त देखा परेको छ तर तीन महिना जेल पर्नुबाहेक उनमा वर्गसङ्घर्षको थप कुनै अनुभव छैन ।
का. अजितको जलजलासँगको प्रेमको कथा त भनिएको छ तर का. अजितको पहिली श्रीमतीको बारेमा भने केही बताइएको छैन ।
माक्र्सवादी प्रेम र विवाहसम्बन्धी मान्यता भनेको विचार मिल्दासम्म एकनिष्ठता हो । के का. अजितले पहिली श्रीमतीसँग वैचारिक एकरूपता कायम गर्ने प्रयत्न गरे ? के उनकी पहिली श्रीमती वैचारिक रूपले पूरै प्रतिगामी कित्तामा गइसकेकी थिइन् ? यी कुरा केही पनि बताइएको छैन । छोराछोरीको भरणपोषणको दायित्व कसले लियो ? यसले जलजलासँगको उनको प्रेमलाई सही सावित (जस्टिफाइ) गर्न आवश्यक सामग्री उपन्यासले दिएको छैन ।
समाजवादी साहित्यका चार मुख्य तत्त्व समानतावाद, बुद्धिवाद, नैतिकवाद र उदारतावाद (आर.एन. बेरकी, पूर्ववत्) को कसीमा मूल्याङ्कन नगरी का. अजितकी पहिली श्रीमतीमाथि निरपेक्ष रूपमा दोषारोपण गर्न मिल्दैन । उपन्यासकारले यससम्बन्धी थप तथ्य राख्नुपथ्र्यो ।
सैद्धान्तिक रूपमा प्रेम र विवाहसम्बन्धी जलजलाले व्यक्त गरेको विचार र सुनन्दाले दिएको नैतिकतासम्बन्धी भाषणलाई भने गलत भन्न मिल्दैन ।
अजितको पहिले नै श्रीमती भएको कारणबाट अजित र जलजलालाई पार्टीले कारबाही गरेको थियो तर पहिली श्रीमतीसँग सम्बन्धविच्छेद भएको उल्लेख नै नगरीकन पार्टीले अजित र सुनन्दाका बिचमा विवाह गर्ने अनुमति किन दियो ? पाठकले उनको पहिली श्रीमतीसँग सम्बन्धविच्छेद भएको अड्कल लगाउनुपर्ने भएको छ । सुनन्दा र अजितको जलजला पहाडमा एक्कासि प्रेम प्रकट हुनुमा पनि वैचारिक र भावनात्मक सामिप्यता अत्यन्त छिटो देखा प¥यो । जलजलाको डायरी र अजित र जलजलाका पत्र पढ्दा सुनन्दामा प्रकट भएको सहानुभूतिलाई नै प्रेमको रूपमा देखाएको जस्तो थोरै ग्याप देखिन्छ ।
दर्शनसम्बन्धी जे जस्ता चर्चा आएका छन्, ती सत्य छन् । लेखकको आफ्नो प्रतिबद्धताअनुसार ऐतिहासिक भौतिकवादी दृष्टिकोणमाथि प्रतिबद्धता प्रकट हुनुलाई गलत भन्न मिल्दैन । स्टालिनको मूल्याङ्कनको प्रश्नमा प्रतिक्रियावादीसँग मात्र होइन स्वयम् ‘कम्युनिस्ट’ भन्नेहरूको बिचमा पनि मतभिन्नता हुन सक्छ ।
इतिहास, सभ्यता, भूगोल र मिथका बारेमा लेखिएका कुरा जानकारीमूलक छन् । सबैभन्दा राम्रो कुरो तिनको विवेचना ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणको आधारमा गरिएको छ । फ्रान्सका म्युजियम, जर्मनीका कन्सन्ट्रेसन क्याम्प, रुसका लेनिनग्राद र स्टालिनग्रादका वर्णन यति जीवन्त छन्, पाठकलाई प्रत्यक्ष आफैले अवलोकन गरेजस्तो महसुस हुन्छ । सभ्यताको कुरो गर्दा खस सभ्यताको बारेमा जति विस्तृत प्रकाश हालिएको छ, त्यति थारू र मगर सभ्यताको बारेमा प्रकाश हालिएको छैन ।
मानव जातिलाई ठुलो बिपत्मा होम्ने हिटलरको जन्म किन हुन्छ भन्ने प्रश्नको जवाफ खोज्ने प्रयास गरिएको छ । त्यसमा एकातिर यहुदीको सुदखोर प्रवृत्तिले जर्मनीमा उनीहरूमाथि बढ्दै गएको घृणा, अर्कोतिर, हिटलरले फैलाएको जर्मन जातिको श्रेष्ठताको अन्धजातिवादी विचारलाई अगाडि सारिएको छ । डार्बिनको विकासवादी सिद्धान्तको नाजीपार्टीले गरेको गलत व्याख्या वा दुरुपयोग पनि अगाडि सारिएको छ । हिटलरको विचार निर्माणमा फ्रेडरिक नित्सेको शक्तिमा पुग्ने चाहना (विल टू पावर), अतिमानव (सुपरम्यान) सम्बन्धी विचारको पनि ठुलो प्रभाव छ । त्यसको चर्चा गरेको भए राम्रो हुन्थ्यो ।
अझ त्यसमा पनि माक्र्सवादी पद्धतिले कुनै पनि कुरो उत्पत्ति हुनुमा आधार (बेस) ले अधिरचना (सुपर स्ट्रक्चर) निर्माण गर्ने ठान्छ । एकपटक निर्माण भएपछि अधिरचनाले पनि आधारमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सहयोग पुर्याउँछ । त्यसकारण हिटलरको उदयको पछाडि पनि मुख्य रूपमा जर्मनीको पहिलो विश्वयुद्धपछिको आर्थिक रूपले अत्यन्त कठिन र दयनीय अवस्थाले आधारको काम गरेको थियो । डार्बिनको सिद्धान्त वा नित्सेको दर्शनजस्ता अधिरचनाले पनि त्यसमा प्रभाव पारेको हुन सक्छ ।
उपन्यासको अर्को सकारात्मक पक्ष के छ भने लेखकले रुस र चीनको प्रतिक्रान्तिको चर्चा गर्दा पटक पटक समाजवादको उज्ज्वल भविष्य देखाउँदै क्रान्तिकारी आशावाद प्रकट गरेका छन् । क्रान्तिकारी आशावाद माक्र्सवादी उपन्यासको एक महत्त्वपूर्ण तत्त्व हो तर त्यस्तो आशावाद सङ्घर्षमा विजय वा पराजयपछि पात्रले व्यक्त गर्न सकेको भए राम्रो हुन्थ्यो तर उपन्यासमा आशावाद सैद्धान्तिक रूपमा नै आयो ।
निष्कर्ष
मोहनविक्रम सिंहको उपन्यास का. जलजला एक गहन इतिवृत्तात्मक समाजवादी यथार्थवादी उपन्यासको रूपमा बाहिर आएको छ यद्यपि लेखकले यसमा समाजवाद र कम्युनिस्ट आन्दोलनमा समर्पित आदर्श पात्र खोज्ने प्रयास गरेका छन् ।
यसमा प्रेम छ तर प्रेम मात्र छैन । दर्शन, विज्ञान, भूगोल, इतिहास, साहित्य, सभ्यता, संस्कृतिको समेत भण्डार छ । यो कृति साहित्यका अध्ययनकर्ताका लागि, कम्युनिस्ट कार्यकर्ताका लागि, दर्शनका अध्येताका लागि, समाजशास्त्री र मानवशास्त्रीका लागि, इतिहासका अध्ययनकर्ताका लागि समान रूपले उपयोगी र रुचिकर हुन सक्छ । यो एक पठनीय र सङ्ग्रहणीय कृतिको रूपमा बाहिर आएको छ ।