काठमाडौं । भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनामा तीनजना नेपालीले ज्यान गुमाएका छन् ।
रेलभित्र आगो लागेको हल्ला फैलिएपछि हामफाल्ने क्रममा अर्को रेलमा ठोक्किएर ज्यान गुमाएका १३ जना मध्ये तीन जना नेपाली भएको पुष्टि भएको हो ।
महाराष्ट्रको जलगाउँमा रेलले किच्दा करिब ११ वर्षका हिमु नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला नवीन भण्डारीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर उनीहरूको नेपालको स्थानीय ठेगाना समाचारमा खुलाइएको छैन ।
बुधबार दिउँसो लखनऊबाट मुम्बई जाँदै गरेको रेल महाराष्ट्रको जलगाउँ जिल्लाको रेलवे ट्र्याकमा रोकिएको थियो ।
त्यसक्रममा रेलको कुनै डिब्बामा आगो लागेको अफवाह फैलिएपछि डरले यात्रुहरू ट्र्याकको अर्को छेउमा हाम फालेका थिए ।
सोही बेला त्यही ट्र्याक भएर आउँदै गरेकाे अर्को रेल कर्नाटक एक्सप्रेसले किच्दा उल्लिखित ३ नेपालीसहित १३ जनाको मृत्यु भएको जनाइएको छ ।