काठमाडौं । नेपालीहरू विश्वका १७३ मुलुकमा छरिएको पाइएको छ । भारतबाहेक १ सय ७३ मुलुकमा ६० लाख ९८ हजार ८० जना नेपाली श्रमिक पुगेको एक तथ्यांकले देखाएको छ ।
जसमा ५६ लाख ८१ हजार ६ सय २७ पुरुष र ४ लाख १६ हजार ४ सय ५३ महिला छन् । यो संख्या वैदेशिक रोजगार विभागबाट सन् २०१४ जनवरी १ देखि २०२४ को जुलाई १६ सम्म वैधानिक रूपमा श्रम स्वीकृति लिई गएकाको मात्र हो ।
यसबाहेक व्यक्तिगत पहुँच वा अन्य उपायबाट विभागसँग श्रम स्वीकृति नलिईकनै गएकाको संख्या सरकारी अभिलेखमा छैन । पछिल्लो एक दशकमा लिबिया, सिरिया, बर्मा, मेक्सिको, जिबुती, इक्वेडर र गुआनामा जान श्रम स्वीकृति लिइएको छैन ।
श्रम विभागका अनुसार विभागबाट श्रम स्वीकृति लिई सबैभन्दा बढी कतारमा १६ लाख ६ हजार ५ सय २१ जना पुगेका छन् । सबैभन्दा कम भने सुरिनाममा एक जना मात्र पुगेको देखिन्छ ।
नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य देश खाडी र मलेसिया हो । त्यहाँ८० प्रतिशत नेपाली श्रमिक रहेको विभागले जनाएको छ ।
विभागका प्रवक्ता गुरुदत्त सुवेदीका अनुसार हरेक दिन जति नेपाली जान्छन्, त्यति नै संख्यामा फर्किरहेको देखिन्छ । जानेको तथ्यांक भएपनि फर्कनेको भने तथ्यांक राख्ने गरिएको छैन ।
२०७८ को जनगणनाअनुसार २२ लाख मात्र नेपाली देशबाहिर छन् ।