• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘कामरेड जलजला’ उपन्यासको प्रधान पक्ष दर्शन हो


  •   शनिबार, मङि्सर १५, २०८१ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    ‘कामरेड जलजला’ उपन्यासको विमोचन कार्यक्रमकी प्रमुख अतिथि श्रीमती ललिता ढकाल, आजको विमोचन कार्यक्रमको अध्यक्ष कामरेड चित्रबहादुर केसी तथा आजको कार्यक्रममा उपस्थित सबै अतिथि र सहभागी मित्रहरू । तपाईंहरू सबैप्रति हार्दिक अभिनन्दन ।

    १) आज ‘कामरेड जलजला’ उपन्यासको विमोचन हुन थालेको छ । २०३८ मङ्सिर १ गते दिल्लीमा एउटा बस दुर्घटनामा कामरेड जलजलाको मृत्यु भएको थियो । उनको त्रिचालिसौँ स्मृतिदिवसको अवसरमा मङ्सिर १ गते नै यो उपन्यासको विमोचन गर्ने हाम्रो सोचाइ थियो तर त्यहीबिचमा दशैँतिहार र छठ पर्वहरू परेकाले प्रेस बन्द भएकाले तथा अन्य कतिपय प्राविधिक समस्याका कारणले मङ्सिर १ गते यो पुस्तकको विमोचन गर्नु सम्भव भएन तैपनि उनको निधन भएको त्रिचालिसौँ स्मृतिवर्षको मङ्सिर महिनामा नै यो पुस्तकको विमोचन हुँदै छ ।

    २) यो उपन्यास के हो र कस्तो लेखिएको छ ? त्यो कुरा मैले भन्न सक्दिनँ र मैले भन्न सक्ने कुरा पनि होइन । त्यसको निरुपण पाठक र समीक्षकले नै गर्नु हुने छ । जे होस्, यो उपन्यास लेख्नुको पछाडि मेरो कुन दृष्टिकोण वा उद्देश्यले काम गरेको छ वा कुन प्रकारको परिस्थितिमा मैले यो उपन्यास लेखेँ ? यहाँ मैले त्यसबारे सङ्क्षिप्त रूपमा केही प्रकाश हाल्ने प्रयत्न गर्ने छु ।

    ३) उपन्यासको क्षेत्रमा मेरो यो पहिलो प्रवेश हो । निश्चय नै २०१२ सालमा पाल्पा जेलमा भएको बेलादेखि मैले उपन्यासको क्षेत्रमा लेख्ने कार्य गर्दै आएको छु र त्यसरी उपन्यासको लेखनको क्षेत्रमा मेरो करिब ७० बर्षको लामो समय बितिसकेको छ । मैले यसभन्दा पहिले पाँचओटा उपन्यास लेखेको छु तर ती सबै कतै हराए वा नष्ट भए र त्यसैले तीमध्ये कुनै पनि प्रकाशित हुन सकेनन् र ॅका. जलजला’ मेरो प्रकाश हुन थालेको पहिलो उपन्यास हो ।

    ४) प्रस्तुत उपन्यास मुख्य रूपले जलजलासित नै सम्बन्धित छ तर यो उनको जीवनी, आत्मकथा वा संस्मरण होइन र यो उपन्यास हो । त्यसैले यो उपन्यास उनको जीवनको घेरासम्म सीमित छैन र यसले उनको जीवनभन्दा बाहिरको विस्तृत क्षेत्रमा प्रवेश गर्दछ । त्यो क्षेत्रभित्र सम्पूर्ण प्रकृति, मानव समाज र ब्रह्माण्डसमेत आउँछ । प्रस्तुत उपन्यासले सम्पूर्ण विश्वको परिभ्रमण गर्दछ । उपन्यासले त्यसरी विश्वको परिभ्रमण गर्ने बेलामा आजको समाज वा संसार जुन रूपमा छ, त्यही रूपमा मात्र तिनीहरूलाई बुझ्ने वा प्रस्तुत गर्ने प्रयत्न नगरेर तिनीहरूलाई बदल्ने र तिनीहरूको ठाउँमा नयाँ, स्वतन्त्र, सुखी र सुन्दर संसार र मानव जीवनको परिकल्पना गर्दछ । उपन्यासको सम्पूर्ण विषयवस्तु वा कथाप्रवाहको सारतत्त्व त्यही नै हो । उक्त विषयमा यो उपन्यास कति सफल भएको छ ? यो तपाईंहरूले बताउने कुरा हो ।

    ५) प्रस्तुत पुस्तक तयार पार्न मलाई करिब २३ वर्षको लामो समय लागेको छ । मैले त्यो पुस्तक लेख्न ठिक कुन दिन सुरु गरेँ ? त्यो मिति मलाई सम्झना छैन । अहिले त्यसका पुराना पाण्डुलिपि पनि उपलब्ध छैनन् तर एउटा कुराको मलाई सम्झना छ, मेरो छोरा विश्वमोहन जन्मनुभन्दा करिब एक वर्षपहिले मैले यो उपन्यास लेख्न सुरु गरेको थिएँ । अहिले विश्व २२ वर्षमा लाग्यो । त्यसैले यो पुस्तक लेख्न थालेको करिब २३ वर्ष लागेको मैले अनुमान गर्दछु ।

    ६) त्यो अवधिमा म पार्टीका राजनीतिक, सङ्गठनात्मक कार्य, विभिन्न आन्दोलन वा पार्टीसँग सम्बन्धित कैयौँ दस्तावेज, लेख तथा विभिन्न पुस्तक वा पुस्तिका लेख्ने काममा पनि लाग्नुपर्‍यो । त्यसका साथै उपन्यासको कथाप्रवाह नेपालका कैयौँ स्थानका साथै भारतको कुमाउँ, गढवाल र केरल तथा युरोपका फ्रान्स, जर्मनी, रुस र युनानका कतिपय स्थानसित पनि सम्बन्धित छ । ती स्थानको चित्रणमा सकेसम्म यथार्थता दिनका लागि मैले ती सबै स्थानसम्बन्धी बढीभन्दा बढी सामग्री जुटाउन वा अध्ययन गर्न तथा स्थलगत अध्ययन गर्नका लागि ती सबै स्थानमा प्रायशः भ्रमण गर्नुपरेको थियो । त्यसैले यो पुस्तक पूरा गर्न यति धेरै समय लाग्न गयो ।

    ७) प्रस्तुत उपन्यासमा नेपालका र सम्पूर्ण संसारका पनि कैयौँ महत्त्वपूर्ण पक्षमाथि प्रकाश हाल्ने प्रयत्न गरिएको छ । प्राथमिक रूपमा यो उपन्यास प्रेमको कथा नै हो तर उपन्यासको प्रधान पक्ष प्रेम नभएर विश्वको दर्शन नै हो । उपन्यासमा प्रेम र दर्शन दुवै आपसमा कसरी घुलमिल हुन पुगेका छन् ? त्यो पनि यहाँहरूले उपन्यास पढेपछि नै थाहा पाउनुहुने छ । विभिन्न कथा वा उपन्यासमा प्रेमका कथाहरू सुखान्त वा दुखान्त रूपमा टुङ्गिन्छन् तर हिन्दु पुराणमा एउटा कथा यस्तो छ : जो एकैसाथ दुखान्त र सुखान्त रूपमा टुङ्गिन्छ । त्यो हो– महादेव र पार्वतीको कथा । सतीको दक्षप्रजापतिको यज्ञमा आत्मदाह गरेर मृत्यु हुन्छ । त्यो कथाको दुखान्त पक्ष थियो तर सतीको पार्वतीको रूपमा पुनर्जन्म हुन्छ र उनको पुनः महादेवसित नै विवाह हुन्छ । त्यो कथाको सुखान्त पक्ष थियो । त्यसरी त्यो कथामा दुखान्त र सुखान्त पक्ष आपसमा मिल्न पुग्दछन् । प्रस्तुत उपन्यासमा पनि एक प्रकारले त्यस्तै हुन्छ र दुःखान्त र सुखान्त पक्षको आपसमा घुलमिल हुन्छ । निश्चय नै त्यसमा एउटा अन्तर भने अवश्य छ : महादेव र पार्वतीको कथामा अलौकिक रूपमा अर्थात् पुनर्जन्मको माध्यमबाट त्यस्तो हुन गएको छ तर प्रस्तुत उपन्यासमा लौकिक रूपले नै दुःखान्त र सुखान्त पक्षको एकार्कामा रूपान्तरण हुन्छ ।

    ८) उपन्यासको प्रधान पक्ष दर्शन नै हो । उपन्यासले मुख्य रूपले सम्पूर्ण मानव जातिको चिन्तन प्रणाली र दर्शनबारे विचार गर्दछ । चिन्तन प्रणाली कुन प्रकारको हुन्छ ? त्यसले इतिहासको प्रवाह र समाजको स्वरूपलाई पनि काफी हदसम्म प्रभावित गर्दछ । अहिले समाजमा विद्यमान दूषित र विषाक्त प्रकारको मानसिकताको परिणामस्वरूप मानव समाज नर्क जस्तै भएको छ । उपन्यासले त्यस प्रकारको मानसिकतालाई उच्च मानवीय स्तरमा उठाउनुपर्ने आवश्यकतामा जोड दिन्छ । त्यसपछि नै अहिलेको मानव समाज स्वर्ग बन्न सक्ने छ । उपन्यासले नर्क र स्वर्गसम्बन्धी अवधारणालाई दैवी वा अलौकिक रूपमा होइन लौकिक रूपमा नै बुझ्दछ र त्यही रूपमा प्रस्तुत पनि गर्दछ ।

    ९) मार्क्सले यो बताएका छन्– हाम्रो मुख्य जोड संसारलाई बदल्ने कुरामा हुनुपर्दछ । त्यो कार्य कम्युनिस्ट आन्दोलनद्वारा नै सम्पन्न हुन सक्दछ तर अहिलेको कम्युनिस्ट आन्दोलनको मुख्य समस्या के हो भने आफ्ना सिद्धान्त र आदर्शबाट त्यसको धेरै नै विचलन भएको छ । उपन्यासमा त्यो अवस्थाको विस्तृत रूपले समीक्षा गरिएको छ ।

    १०) समग्र रूपमा उपन्यासलाई उच्च दार्शनिक चिन्तन र क्रान्तिकारी दृष्टिकोणद्वारा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । आफ्ना विचार र उद्देश्यमा उपन्यास कति सफल भएको छ ? त्यो कुरा यसका पाठक र समीक्षकले नै बताउन सक्नुहुने छ । उपन्यास साहित्यिक र कलात्मक रूपले पनि कति सफल भएको छ ? त्यो कुरा पनि यो उपन्यासको समीक्षाको दौरानमा नै प्रष्ट हुँदै जाने छ ।

    ११) यो उपन्यास तयार पार्न मलाई पार्टीका सबै साथीहरूबाट धेरै मदत पुग्यो । उपन्यासका लागि स्थलगत अध्ययन वा विभिन्न स्थानको भ्रमण आदि कामका लागि नेपाल, भारत र युरोपका साथीहरूबाट महत्त्वपूर्ण सहयोग प्राप्त भएको छ । त्यस प्रकारको सहयोग बिना यो पुस्तक तयार हुन नै सक्दैनथ्यो ।

    १२) त्यो पुस्तक तयार पार्न मलाई नेपाल, भारत वा युरोपका धेरै देशका मित्र र शुभेच्छुकबाट पनि सहयोग प्राप्त भएको छ । तिनीहरूको सूची लामो छ । त्यसैले ती सबैको नाम उल्लेख गर्नु सम्भव छैन । मैले समग्र रूपमा नै सबैलाई धन्यवाद दिन चाहन्छु ।

    १३) उपन्यास तयार पार्न सहयोग गर्ने केही मानिसको नामको उल्लेख नगरिकन रहन सक्दिनँ । त्यस सिलसिलामा सर्वप्रथम यो उपन्यासको आवरण चित्र बनाइदिनु हुने वरिष्ठ कलाकार रतनकुमार राईप्रति आभार प्रकट गर्न चाहन्छु । उहाँले उपन्यासको सम्पूर्ण पाण्डुलिपि पढेर त्यसको आत्मा र सौन्दर्यलाई आवरण चित्रमा उतार्नुभएको छ । डा. सुकुम शर्माले तीन/तीन पल्ट उपन्यासको प्रुफ रिडिङ पढेर धेरै नै मदत गर्नुभएको छ । रामप्रकाश पुरीले पनि पुस्तकको सम्पादन गर्न र शुद्धाशुद्धि पढ्नसमेत धेरै मदत गर्नुभएको छ । त्यो उपन्यास तयार पार्ने कार्यमा डा. गोविन्दप्रसाद आचार्यले पनि विभिन्न प्रकारले धेरै मदत पुर्‍याउनु भएको छ । उहाँ दृष्टिविहीन भए पनि उहाँले त्यो उपन्यासलाई सम्पूर्ण रूपमा पठन गरेर जुन सल्लाह र सुझाव दिने गर्नुभयो, त्यसबाट मलाई धेरै मदत पुगेको छ ।

    १४) त्यो उपन्यास टाइप गर्ने कार्यमा प्रारम्भमा बहिनी गायत्री पौडेलले धेरै नै सहयोग गरेकी थिइन् । खास गरेर मेरा नबुझिने अक्षर पढेर उनले उपन्यास टाइप गर्ने कार्यमा धेरै मदत गरेकी थिइन् । पछि गोविन्द शर्माले उपन्यासको टाइपको कामलाई अगाडि बढाउने र पूरा गर्ने कार्य गरे । त्यो उपन्यासको टाइप गर्ने काममा उनले लामो समयदेखि निरन्तर कडा मिहिनेत गर्दै आएका छन् । मेरा नबुझिने अक्षर बुझ्नु पनि सामान्य कुरा थिएन । प्रत्येक म्याटरलाई कैयौँ पल्ट दोहोर्‍याएर टाइप गर्नुपर्दथ्यो वा कैयौँ पल्ट प्रुफ रिडिङलाई सच्याउनुपर्दथ्यो । उपन्यासका कैयौँ परिच्छेदमा बारम्बार थपघट वा परिवर्तन भइरहन्थ्यो । ती सबै काम उनले धैर्यतापूर्वक गरिरहे । ती सबै कामको लागि गायत्री र गोविन्द दुवैलाई धेरै धन्यवाद दिन चाहन्छु ।

    १५) गत केही वर्षदेखि मेरा आँखा कमजोर भएर मैले अक्षर राम्ररी पढ्न वा लेख्न नसक्ने समस्या पैदा भयो । त्यो अवस्थामा मैले आफ्ना कैयौँ सहयोगी साथीद्वारा नै उपन्यास लेख्ने वा पढ्न पठाएर प्रुफ रिडिङ गर्ने काम गर्नुपर्‍यो । त्यो काममा सुवास जिसी, बासुदेव पोखरेल, प्रकाश जिसी, मिलनसिंह ठकुरी र सगर सुवेदीसमेतबाट मलाई धेरै सहयोग प्राप्त भएको छ । ती सबैलाई पनि मैले धेरै धन्यवाद दिन चाहान्छु ।

    १६) माथि जुन व्यक्तिको चर्चा गरियो, उहाँहरूको सहयोग उपन्यासको आन्तरिक तयारीसित नै सम्बन्धित रह्यो । त्योबाहेक बाह्य रूपले त्यो उपन्यासको तयारीमा सहयोग गर्ने मान्छेको लामो सूची छ । ती सबैको नामको उल्लेख गर्नु सम्भव छैन तैपनि यहाँ मैले केही मान्छेको नामको अवश्य पनि उल्लेख गर्न चाहन्छु । उपन्यासको तयारीमा दुर्गा पौडेलको सहयोग विशेष रूपले उल्लेखनीय छ । नेपाल र कुमाउँ, गढवालका कतिपय स्थान वा युरोपका पनि कतिपय देशमा मसँगै गएर उनले उपन्यासका लागि सामग्रीको सङ्कलन, स्थलगत अध्ययन वा जनसम्पर्कको काममा धेरै मदत गरेकी थिइन् । अहिले उपन्यासको प्रकाशनमा पनि उनको सहयोग धेरै महत्त्वपूर्ण रहेको छ । उनको मदत बिना यो पुस्तक प्रकाशन गर्न धेरै नै मुस्किल पर्ने थियो । घरभित्र पनि उनको धेरै नै महत्त्वपूर्ण सहयोग रह्यो । घरभित्रका दैनिक कार्यसहित घरव्यवहारसम्बन्धी सबै कामबाट उनले मलाई पूरै फुर्सद दिने गरिन् । मेरो स्वास्थ्य, खानपिनमा समेत उनले मेरो सधैँ ध्यान राखिरहिन् । त्यसले गर्दा मलार्ई उपन्यास, अन्य लेखपढ वा पार्टीसम्बन्धी काममा पूरा समय दिन अवसर प्राप्त भयो तैपनि मैले उनलाई कुनै धन्यवाद दिनुपर्ने आवश्यकता ठान्दिनँ ।

    १७) उपन्यासको काममा अन्य साथी वा इष्टमित्रबाट पनि धेरै सहयोग प्राप्त भएको छ । थवाङमा बर्मन बुढा र उहाँकी बहिनी तुलकुमारी बुढा, थवाङको यात्रामा थवाङमा सामग्री सङ्कलन गर्न वा स्थलगत भ्रमण गर्न जाँदा शशिधर भण्डारी, मेघनाथ विष्ट, सुवर्ण पौडेल, तिलक जिसी, गोपाल नेपाली, फ्रान्सका शोधकर्ता बेनोइट केलमेल, लुम्बिनी र तिलौराकोटसमेतको बौद्ध स्थान वा बौद्ध सभ्यताको अध्ययनमा डा. गीतु गिरी र बद्रे आलम, मगर जातिको इतिहासको अध्ययनमा भोजविक्रम बुढामगरसमेत, थारू जातिको इतिहासको अध्ययनमा रश्मिराज नेपाली र शिव पौडेल, खसजातिको इतिहासको अध्ययनमा बालकृष्ण पोखरेल, प्युठानका विभिन्न स्थानको अध्ययनमा खगुलाल गुरुङ, रणबहादुर खड्का, ठाकुर गिरी, भेषमान गिरी, टीका जिसी, तिलक जिसी, फ्रान्सको अध्ययनमा डा. बेनोइट केलमेल, कर्णाली र सुदूरपश्चिमको अध्ययनमा मनोज भट्ट र प्रेम कैदी, कुमाउँ र गढवालको अध्ययनमा सुन्दरलाल बहुगुणा, बिमला बहुगुणा, मालतीदेवी र कौसानी आश्रमका शिक्षक र छात्रा, रुसको अध्ययनमा रुसका तत्कालीन नेपाली राजदूत रविमोहन कोपिला, जीवा लामिछाने, कृष्णप्रकाश श्रेष्ठ आदि, जर्मनीमा थोमस, गाबी तथा एमएलपिडीका साथी, युनानमा शेखर र अन्य कतिपय साथी आदिको महत्त्वपूर्ण सहयोग रहेको छ । मैले उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु ।

    १८) उक्त उपन्यास तयार पार्न नेपालको काठमाडौँ उपत्यकाको स्वयम्भुनाथ, पशुपतिनाथ, अष्टमातृका, पाल्पाको रामापिथेकसको बङ्गराको अवशेष, नवलपुर र दाङदेउखुरीको ढुङ्गेयुगीन सभ्यता, लुम्बिनी र कपिलवस्तुको बौद्ध सभ्यता, कर्णाली प्रदेश र सुदूरपश्चिमको इतिहास र संस्कृति, थारू, मगर र खसको इतिहास, गण्डकीको गुरुङ जातिको परिचय, कर्णाली प्रदेशको मध्यकालीन इतिहास, मष्ट, मतवाली क्षेत्री र देउकी प्रथा, कुमाउ र गढवालको इतिहास, संस्कृति र जनजीवन, फ्रान्सको इतिहास र राजतन्त्र विरोधी आन्दोलन, त्यहाँको कला र संस्कृति, जर्मनीको इतिहास, फासिज्म र फासिवाद विरोधी आन्दोलन, फासिवादका विरुद्ध जर्मन जनताको वीरतापूर्ण सङ्घर्ष, रुसमा खास गरेर स्टालिनग्राद र लेनिनग्रादमा हिटलरको आक्रमणको विरुद्ध प्रतिरोधात्मक युद्ध र समाजवादको पतन, युनानको प्राचीन दर्शन, सौर्य जगत्, तारामण्डल र सुदूर अन्तरिक्ष, हिमाल र संसारका सबै महासागर र महाद्वीप आदिसम्बन्धी पुस्तक, पत्रिका, गजेटिएर, इन्टरनेट, विश्वकोश आदिको अध्ययनबाट पनि यो उपन्यास तयार पार्न धेरै मदत पुगेको छ । ती सबै पुस्तक, पत्रिका वा तिनीहरूका लेखक वा सम्पादकको नामको सूची धेरै नै लामो छ र ती सबैको उल्लेख गर्नु सम्भव छैन तैपनि मैले ती सबैप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

    १९) प्रस्तुत उपन्यासमा करिब ५०० पात्र छन् । तिनीहरूमध्ये केही वास्तविक पात्र पनि छन्, जसमध्ये निर्मल लामा, जयगोविन्द साह, चित्रबहादुर केसी, रश्मिराज नेपाली, लैनसिङ बाङ्देल, पारिजात, सत्यमोहन जोशी, बालकृष्ण पोख्रेल, खगुलाल गुरुङ, भक्तपुरका लीलाभक्त मुनकर्मीलगायत हुनुहन्छ । त्यस्तै, अल्मोडाको लक्ष्मी आश्रमकी सरला बहन, कुमाउँका सुन्दरलाल बहुगुणा, मालती देवी, गढवालका चन्द्रसिंह गढवाली, तौलिहवा कुश्माका हर्के र हमाने, भैरहवाका बद्रे आलम, सङ्गीतकार जीवन शर्मा, ओखरकोट पिपलटारीकी साहिली भाउजू, ओखरकोट काब्रारुखे साइली आमा, ओखरकोटका जुठे विक, थबाङका बर्मन बुढा, बागलुङका चन्द्र नरसिंह आदिको पनि चर्चा गरिएको छ । उपन्यासमा जलजलाको बुबा वेदप्रसाद ढकाल, आमा प्रभा (ललितादेवी ढकाल) र बहिनी कान्ताको पनि उपन्यासमा वास्तविक पात्रको रूपमा उल्लेख गरिएको छ । यो उपन्यासको काल अवधि करिब २०३२ देखि २०४१ सम्मको करिब एक दशकको अवधि नै रहेको छ । यो उपन्यासमा वास्तविक पात्रको चित्रण गर्दा त्यही कालसित सम्बन्धित पात्रलाई नै चित्रण गरिएको छ । त्यसरी उपन्यासलाई बढीभन्दा बढी वास्तविक धरातलमा स्थापित गर्ने प्रयत्न गरिएको छ ।

    २०) यो उपन्यासको प्रकाशन जन शिक्षा गृहले गर्दै छ । जनशिक्षा गृहको २०१३ सालमा प्युठानको ओखरकोटमा स्थापना गरिएको थियो र त्यसले गत करिब ७ दशकको अवधिमा धेरै पुस्तकपुस्तिकाको प्रकाशन गरिसकेको छ । अहिले त्यो सस्थाको काठमाडौँमा दर्ता भएको छ र त्यसको दर्ता भएपछि त्यसले प्रकाशन गर्न थालेको ‘कामरेड जलजला’ उपन्यास त्यसको पहिलो प्रकाशन हो ।

    २१) ‘कामरेड जलजला’ उपन्यासको प्राडा हरि शर्माले अङ्ग्रेजीमा अनुवाद गरिरहनुभएको छ । उहाँले त्यो उपन्यासका आठ भागमध्ये सात भागको अनुवाद पूरा गरिसक्नुभएको छ । अहिले आठौँ भागको अनुवाद गर्दै हुनुहुन्छ । यो उपन्यासलाई हिन्दीमा पनि अनुवाद गर्नका लागि प्रयत्न भइरहेको छ र यो उपन्यासको प्रकाशनपछि छिट्टै हिन्दीमा पनि अनुवादको सुरु गर्ने हाम्रो योजना छ ।

    अन्त्यमा, यो उपन्यासको विमोचन गर्न आउनुभएकी का. जलजलाकी वयोवृद्ध आमा ललितादेवी (प्रभा) र यो विमोचन कार्यक्रमको अध्यक्षता गरिरहनु भएका का. चित्रबहादुर केसीसहित यो विमोचन कार्यक्रममा उपस्थित हुनु भएका सबै अतिथि र सहभागीप्रति आभार प्रकट गर्न चाहन्छु ।

    (२०८१ मङ्सिर १५ गते शनिबार सम्पन्न विमोचन कार्यक्रममा प्रस्तुत लिखित मन्तव्य)

     

     

    शनिबार, मङि्सर १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.