• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

यस्ता छन् “कामरेड जलजला” उपन्यासका विषयवस्तु


  •   आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##
    १. कामरेड जलजला उपन्यास २ खण्ड, ८ भाग, ७२ परिच्छेद र २७२ अङ्कमा विभाजित छ । त्यसमा करिब ५ लाख शब्द, रोयल साइजमा १,३२० पृष्ठ र करिब ५०० पात्र छन् । त्यो उपन्यासमा सम्पूर्ण विश्व, धर्ती, मानव समाज र समाजको मनोविज्ञानकोे अध्ययन, विश्लेषण र विवेचना गर्ने प्रयत्न गरिएको छ । त्यो उपन्यासले संसारका सबै महाद्वीप र महासागर, सम्पूर्ण मानव समाज र सुदूर अन्तरिक्षसम्मको परिभ्रमण गर्ने प्रयत्न गर्दछ ।

    Advertisement

    २. उपन्यासमा सम्पूर्ण संसार र नेपालका पनि विभिन्न स्थानको इतिहास संस्कृति र मानव जीवनको पनि अध्ययन गर्ने प्रयत्न गरिएको छ । त्यस सिलसिलामा काठमाडौ“ उपत्यका, नेपालको ढुङ्गेयुगीन सभ्यता, प्राचीन बौद्ध सभ्यता, कर्णाली प्रदेशको प्राग्ऐतिहासिक नदी र ताल, स्वयम्भुनाथ, पशुपतिनाथ र नेपालका प्राग्एतिहासिक जातिको समेतको अध्यन गर्ने प्रयत्न गरिएको छ ।

    ३. उपन्यासमा काठमाडौ“ उपत्यकाका अष्टमातृकाको विस्तृत र गहन प्रकारले चर्चा गरिएको छ । हिन्दु पुराणले उनीहरूलाई देवीको रूपमा मान्दछन् तर मूल रूपमा उनीहरू हिन्दु देवी होइनन् । उनीहरूलाई वैदिक वा हिन्दु धर्मकालभन्दा पहिलेका मातृकाका रूपमा पूजा गरिन्थ्यो । पछि उनीहरूलाई देवीकरण वा हिन्दुकरण गरिएको थियो । महिला आन्दोलनले महिलालाई पुरुषसरह अधिकार प्राप्त हुनुपर्छ भन्ने कुरामा जोड दिन्छ तर अष्टमातृकाको व्याख्याले महिलालाई पुरुषभन्दा उच्च तहमा राख्दछ ।

    ४. उपन्यासमा कैयौ“ वास्तविक पात्रको पनि चर्चा गर्ने प्रयत्न गरिएको छ । त्यस प्रकारका पात्रमा निर्मल लामा, जयगोविन्द शाह, चित्रबहादुर केसी, रश्मिराज नेपाली, लैनसिङ वाङ्देल, पारिजात, सत्यमोहन जोशी, खगुलाल गुरुङ, बालकृष्ण पोख्रेल, भक्तपुरका धनराज बज्राचार्यलगायत हुनुहुन्छ । त्यस्तै, अलमोडाको लक्ष्मी आश्रमकी सरला बहन, कुमाउ“का सुन्दरलाल बहुगुणा, मालती देवी, गढवालका चन्द्रसिंह गढवाली, तौलिहवा कुश्माका हर्के र हमाने, भैरहवाका बद्रे आलम, जीवन शर्मा, ओखरकोट पिपलटारीकी साहिली भाउजू, ओखरकोट काब्रारुखे साइली आमा, ओखरकोटका जुठे विक, थबाङका बर्मन बुढा, बागलुङका चन्द्र नरसिंह आदिको पनि चर्चा गरिएको छ । ती सबै पात्रको औपन्यासिक रूपले नै चित्रण गरिएको छ । त्यसरी ती वास्तविक पात्रको चित्रणले उपन्यासलाई यथार्थ धरातलमा स्थापित गर्न मदत पुगेको छ ।

    ५. उपन्यास प्रेमको कथा त हो नै तर त्यसमा प्रेमका रोमान्टिक प्रसङ्ग एकदम कम छन् वा छैनन् भने पनि हुन्छ । उपन्यासमा प्रेमलाई उच्च क्रान्तिकारी आदर्श र त्यसका लागि त्याग र बलिदानको प्रभावमा अगाडि बढाउने प्रयत्न गरिएको छ । त्यो उपन्यासमा यो कुरामा जोड दिइएको छ प्रेम एउटा व्यक्तिगत वा पारिवारिक विषय हो तर त्यो सामाजिक हित र क्रान्तिका उद्देश्यको मातहतमा नै हुनुपर्दछ । कम से कम कुनै क्रान्तिकारीका लागि प्रेमको अर्थ त्यही नै हुन्छ र हुनुपर्दछ भन्ने कुरामा उपन्यासले विशेष जोड दिएको छ ।

    ६. उपन्यासमा हिटलरको फासिष्ट शासन र त्यसले गरेका बर्बर अत्याचार तथा त्यसका विरुद्धको जर्मन जातिको वीरतापूर्ण सङ्घर्षबारे विस्तृत रूपले प्रकाश हालिएको छ । त्यसका साथै त्यसमा हिटलरले यहुदीमाथि गरेको नरसंहारको नीतिबारे पनि विस्तृत रूपले चर्चा गरिएको छ । त्यो उपन्यासमा यो प्रश्न पनि गम्भीर रूपले उठाइएको छ ः उच्च दार्शनिक र सांस्कृतिक पृष्ठभूमि भएको जर्मन जाति जस्तो सभ्य जातिमा हिटलर जस्तो तानाशाहको किन र कसरी उदय हुन सक्यो ?

    ७. उपन्यासमा फ्रान्सकी जोन अफ आर्कको विस्तृत रूपले चर्चा गरिएको छ । उनी मात्र १७ वर्षकी युवती थिइन् तर अङ्ग्रेजका विरुद्धको लडाइँमा उनले ठुलो साहस र वीरताको प्रदर्शन गरेकी थिइन् । अन्तमा अङ्ग्रेजले उनलाई पक्रेर जिउ“दै आगोमा जलाएर हत्या गरेका थिए । अहिले फ्रान्समा उनको ठुलो सम्मान गरिन्छ र उनका विषयमा कैयौ“ शालिक निर्माण हुनुका साथै कैयौ“ कविता, गीत, सिनेमा आदि पनि निर्माण गरिएको छ ।

    ८. विश्वको सम्पूर्ण संरचना तथा जीवन र चेतनाको उत्पत्ति मूल रूपमा भौतिक पदार्थको नै परिणाम हो तर एकपल्ट उत्पन्न भएपछि चेतनाले सम्पूर्ण समाज र इतिहासको विकासक्रम वा स्वरूपलाई पनि प्रभावित गर्दछ । अहिले समाजमा जुन दूषित र विषाक्त प्रकारको मानसिकता छ त्यसले गर्दा सम्पूर्ण समाज नै नर्क जस्तो हुन गएको छ । त्यसमा परिवर्तनका लागि अहिले विद्यमान मानसिकतामा आमूल परिवर्तन र त्यसको उच्च मानवीय स्तरमा विकास अनिवार्य छ । त्यसपछि नै एउटा स्वतन्त्र, सुखी र सुन्दर मानव समाजको निर्माण हुन सक्ने छ । उपन्यासको सम्पूर्ण विषयवस्तु र कथाप्रवाहको सारतत्त्व त्यही नै रहेको छ ।

    ९. लक्ष्मीप्रसाद देवकोटा नेपालका महान् कवि र साहित्यकार हुन् । उपन्यासमा उनको साहित्य र बहुमुखी प्रतिभामाथि गहन रूपले प्रकाश हालिएको छ । उपन्यासमा यो कुरा प्रस्ट गरिएको छ कि मूल रूपमा उनी ईश्वरवादी र अध्यात्मवादी नै थिए तर उनी अनिश्वरवाद, भौतिकवाद, द्वन्द्वात्मक भौतिकवाद र समाजवादतिर उन्मुख हु“दै गए । उनको मुनामदनबाट सुरु भएको साहित्य जीवन, प्रमिथससम्म पुग्यो । समग्रमा उनी एउटा प्रगतिशील साहित्यकार थिए ।

    १०. उपन्यासमा यो स्पष्ट गरिएको छ कि पारिजात जस्ती एउटी विकलाङ्ग महिलाको उच्च साहित्यिक तहमा विकास भएकोमा उनीप्रति सम्मान प्रकट गरिएको छ । पहिले उनको जीवनप्रतिको दृष्टिकोण निराशावादी थियो तर पछि उनको दृष्टिकोण प्रगतिशील र माक्र्सवादी–लेनिनवादी बन्दै गएको कुरा पनि उपन्यासमा देखाइएको छ ।

    ११. उपन्यासमा युरोपलाई दर्शन, क्रान्ति र बलिदानको महाद्वीपका रूपमा चित्रण गरिएको छ । फ्रान्सको राजतन्त्रविरोधी आन्दोलन र पेरिस कम्युन, जर्मनीको फासिष्ट बर्बरता र यहुदीको नरसंहार तथा तिनीहरूका विरुद्ध जर्मन जनताको वीरतापूर्ण सङ्घर्ष । रुसमा हिटलरको चौतर्फी आक्रमण र स्टालिनको कुशल रणनीतिक नेतृत्वमा फासिवादको पराजय लेनिनग्रादमा जर्मनीको नाकाबन्दी र त्यसका विरुद्ध रुसी जनताको वीरतापूर्ण सङ्घर्ष र युनानको प्राचीन दर्शन र त्यहा“का कतिपय बलिदानपूर्ण घटनाको समेत विस्तृत गहन चित्रण गरिएको छ ।

    १२. उपन्यासमा महादेव र पार्वतीको कथाको चर्चा गर्दै लेखिएको छ ः दक्ष प्रजापतिको यज्ञमा आत्मदाह गरेर सतिको मृत्यु भयो तर पछि उनी पार्वतीको रूपमा जन्मिन्छिन् र पुनः उनको विवाह महादेवस“ग हुन्छ । प्रकारान्तरले त्यही प्रकारको कथा कामरेड जलजला उपन्यासमा पनि देखा पर्न गएको छ ।

    १३. युनानको जोलोङ्गोको नाच विशेष रूपले प्रसिद्ध छ । त्यहा दुस्मनरूबाट आफ्ना रक्षा गर्नको लागि महिलाले पहिले आफ्ना बच्चालाई पहाडबाट फालिदिन्छन् र पछि नाचगान गर्दै उनीहरूले पनि एक एक गरेर पहाडको शिखरबाट फङ्गालेर आत्महत्या गर्दछन्, त्यसैलाई जोलोङ्गोको नाच भनिन्छ । त्यो स्थानमा अहिले महिलाको बलिदानको प्रतीकका रूपमा स्मारक पनि बनेका छन् ।

    १४. उपन्यासमा यो विचार प्रकट गरिएको छ कि कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीका पुरातात्त्विक र ऐतिहासिक बौद्ध अवशेष वा स्मारकलाई सम्मिलित रूप दिएर एउटा बौद्ध पुरातात्त्विक सहरको निर्माण गरिएमा त्यो अन्तर्राष्ट्रिय महत्त्वको नै बौद्ध पुरातात्विक सहर हुन सक्दथ्यो । त्यसबाट नेपालको प्राचीन सभ्यता विश्वसमक्ष प्रस्तुत हुनुका साथै त्यसले नेपालको पर्यटन उद्योगमा पनि एउटा नया“ र उच्च आयाम थप्ने छ ।

    १५. उपन्यासमा प्युठानको गौमुखी, ओखरकोट, डियाल्नाचौर, स्नाथान आदि स्थानबारे विस्तृत रूपले प्रकाश हालिएको छ । त्यसमा स्नाथानको चैत्रको नवमीमा कालिपाठी बलि चढाउने र जुठो नबारी तिनीहरूको पोलेको मासु लुछाचुडी गरेर खाने चलनको चर्चा गर्दै लेखिएको छ ः कही“ त्यो चार्ड प्राचीन जङ्गली युग वा ढुङ्गेयुगीन सभ्यताको अवशेष त होइन ? त्यसबारे गहन ऐतिहासिक वा मानवशास्त्रीय अध्ययनको आवश्यकता छ ।

    १६. उपन्यासमा थारू, मगर र खस तीनओटै जातिलाई प्राग्ऐतिहासिक बताइएको छ र उनीहरूको इतिहास र संस्कृतिसमेतको विस्तृत रूपले अध्ययन गर्ने प्रयत्न गरिएको छ ।

    १७. उपन्यासमा नवलपुर डन्डा र दाङदेउखुरीको ढुङ्गेयुगीन सभ्यतामाथि विस्तृत रूपले प्रकाश हाल्ने प्रयत्न गरिएको छ । त्यसका साथै दाङका थारू जाति ढुङ्गेयुगीन मानवका सन्तान त होइनन् ? त्यो सम्भावनातिर पनि उपन्यासले प्रश्न उठाएको छ । त्यो उपन्यासमा पाल्पाको तिनाउ नदीको छेउको जङ्गलमा प्राप्त रामापिथेकस प्राणीको दा“तको अवशेष र त्यसको इतिहासको पनि विस्तृत रूपले चर्चा गरिएको छ ।

    १८. यो उपन्यासमा चितवनलाई नेपालको छयहत्तरौँ जिल्लाको रूपमा व्याख्या गरिएको छ । त्यहा“ नेपालका धेरै जिल्लाका मान्छेहरू आएर बसेको हुनाले नेपालका अन्य जिल्लाभन्दा त्यहा“ बेग्लै प्रकारको चेतनाको विकास भएको र जागृति आएको बताइएको छ ।

    १९. सुनन्दा पनि कामरेड जलजला उपन्यासकी एउटा मुख्य पात्र हुन् । उनी नभइकन उपन्यासको गति अगाडि बढ्न सक्दैन । उनी कुमाउ“की छोरी, दारमाको शौका जनजातिकी युवती र दिल्ली जवाहरलाल नेहरू विश्वविद्यालयकी इतिहासकी एउटा शोधकर्ता पनि हुन् । उनी गान्धीवादी थिइन् । उनी जलजलालाई खोज्न नेपाल आउने सिलसिलामा नेपालको जेलमा पर्दछिन् र गान्धीवादीबाट माक्र्सवादी–लेनिनवादी बन्दछिन् । उनमा क्रमशः जलजलाका सबै गुण समावेश हु“दै जान्छन् र अन्तमा उनको सम्पूर्ण व्यक्तित्व जलजलाको जस्तै हुन पुग्दछ र उनी जलजलाको रूपमा रूपान्तरित हुन्छिन् ।

    २०. उपन्यासमा कर्णाली प्रदेशको इतिहास र संस्कृतिमाथि गहन रूपले प्रकाश हालिएको छ । त्यो उपन्यासमा हिमालय बन्नुभन्दाको पहिलेको तेथिस सागरबाट बग्दै आएको प्राग्ऐतिहासिक कर्णाली नदी र तेथिस महासागरको अवशेषमा रहेको प्राग्ऐतिहासिक महत्त्वपूर्ण रारा ताल तथा कर्णाली प्रदेशका देउता मष्ट, मतवाली क्षेत्री, देउकी प्रथा र देउडा नाच, थारूको झुम्रा नृत्य आदिको पनि चर्चा गरिएको छ । त्यो उपन्यासमा त्यहा“का विभिन्न जाति र जनजातिसमेतको विस्तृत रूपले परिचय दिने प्रयत्न गरिएको छ ।

    २१. उपन्यासमा गढवालका चन्द्रसिंह गढवालीको पनि चर्चा गरिएको छ । उनी पठानकोटको प्रसिद्ध सिपाही विद्रोहका सेनानी थिए । जेलबाट मुक्त भएपछि उनी भारतीय कम्युनिस्ट पार्टीमा सामेल भए । कम्युनिस्ट पार्टीमा विभाजन भएपछि उनी सिपिआईमा लागे । पछि उनी निराश भए र उनले पलायनको बाटो समाते । उनी क्रान्तिकारी भए पनि सैद्धान्तिक स्तर निम्न भएको र पार्टी जीवनमा अभ्यस्त नभएकाले उनले पलायनको बाटो समातेका थिए ।

    २२. उपन्यासमा कामरेड गढवालीको पनि चर्चा गरिएको छ । कामरेड गढवाली गढवालका क्रान्तिकारी कम्युनिस्ट नेता थिए । भारतीय कम्युनिस्ट पार्टीमा विभाजन भएपछि उनी सिपिएममा सामेल भए र पछि नक्सलवादी आन्दोलनमा सामेल भए । कामरेड चारु मजुमदारको मृत्युपछि नक्सलवादी आन्दोलन पनि कैयौ“ टुक्रामा विभाजित भयो । त्यसपछि पनि उनको क्रान्तिकारी स्प्रिटमा कमी आएन तर उनी कुनै सङ्गठनमा आबद्ध नभइकन जनताको सेवामा नै आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । उपन्यासमा यो देखाउने प्रयत्न गरिएको छ कि कोही जतिसुकै क्रान्तिकारी भए पनि सङ्गठनमा आबद्ध नभइकन कसैले एक्लै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन सक्दैन ।

    २३. विद्या थबाङकी एउटी जनजाति युवती थिइन् । जलजलाले थबाङ छाडेर आएपछि उनी पनि उनीसित नै स“गै आएकी थिइन् । पछि उनले सुनन्दासित स“गै बसेर दिल्लीको विश्वविद्यालयमा पढ्न थालेकी थिइन् । सुन्नदासित सँगै जलजलालाई खोज्न नेपाल आएको बेलामा उनको एउटा सिडिीओकी पत्नीसित सम्पर्क भयो र उनको प्रभावमा परेर उनले कम्युनिस्ट पार्टी र जलजला दुवैलाई घृणा गर्न थालिन् । जलजलाको मृत्युपछि उनलाई पश्चाताप भयो र पुनः जलजलालाई आदर गर्न थालिन् । त्यसरी उनले जलजला र कम्युनिस्ट पार्टीलाई धेरै माया गरे पनि उनको सैद्धान्तिक स्तर निम्न भएको हुनाले उनी बारम्बार ढुलमुल हुने गरेकी थिइन् ।

    २४. उपन्यासमा कुमाउ“, अलमोडा, कौशासिनकी सरला बहनको जीवनबारे विस्तृत रूपले चर्चा गरिएको छ । उनी एउटी विदेशी महिला थिइन् तर उनले आफ्ना सम्पूर्ण जीवन कुमाउ“का ग्रामीण महिलाको सेवामा बिताइन् । उनी गान्धीवादी थिइन् । उनको सेवापरायण जीवनबारे उपन्यासमा धेरै नै प्रशंसा गरिएको छ ।

    २५. उपन्यासमा आमाको आफ्ना सन्तानप्रतिको मायालाई अत्यन्त उच्च स्थानमा राखिएको छ । आमाहरूले आफ्ना सन्तानलाई सबै प्रकारका दुःखकष्ट उठाउन, त्याग र बलिदान गर्न वा कडाभन्दा कडा प्रतिकूल परिस्थितिको सामना गर्न पनि तयार हुन्छन् । उनीहरूले ती सबै कुरा निःवार्थ भावले गर्दछन् र बदलामा केही चाहन्नन् । त्यसैले आमाको माया विश्वको नै सर्वश्रेष्ठ मानवीय गुण हो । उपन्यासले यो कुरामा जोड दिन्छ कि आमाको त्यस प्रकारको मायालाई विश्वव्यापी बनाउनुपर्दछ । हामीले सम्पूर्ण मानव जाति र विश्वलाई आमाले आफ्ना सन्तानलाई गरे जस्तो माया गर्न सक्नुपर्छ र त्यसरी सम्पूर्ण विश्वलाई आमामय बनाउने प्रयत्न गर्नुपर्दछ । त्यसपछि नै विश्वमा परम शान्ति र सुखको अवस्था आउने छ । त्यो कल्पना मात्र होइन, सम्पूर्ण मानव जातिको विकास त्यही दिशामा भइरहेको छ र हुनु पनि पर्दछ भन्ने कुरामा उपन्यासले जोड दिएको छ ।

    २६. उपन्यासमा नारी शक्ति वा उनीहरूमा भएको अद्भुत क्षमतामाथि दार्शनिक रूपले नै विस्तृत र गहन चर्चा गरिएको छ । उनीहरूको त्यस प्रकारको शक्तिमाथि समाजले सर्वत्र र सधैँ अङ्कुश लगाउने प्रयत्न गर्दै आएको छ । पुरुषहरू जन्मकालदेखि नै यथास्तिथिवादी हुन्छन् तर उमेर अलिकति छिप्पिनेबित्तिकै नारीहरुको सोचाइ गतिशील हुन्छ किनभने उनीहरूले आफ्नो जन्मेको घर सानैदेखि छाडेर अन्तै जाने कुरा सोच्न थाल्छन् । महिलाहरूको त्यो शक्तिमा अङ्कुश नलगाइएको भए सायद संसारमा अद्भुत चमत्कार हुन्थ्यो ।

    २७. उपन्यासमा ‘कर्म गर, फलको आशा नगर’ भन्ने गीताको भनाइमा विशेष जोड दिइएको छ । त्यो निष्कर्ष सेवाको भावना हो तर गीताले कुनै काम गरेपछि फलको आशा नगरिकन सबै फल भगवानमा अर्पण गर्नुपर्ने कुरामा जोड दिन्छ तर प्रस्तुत उपन्यासले त्यो भनाइलाई लौकिक अर्थमा व्याख्या गर्दछ र आफ्नो कर्मको फलको कुनै आशा नगरिकन सबै फल पार्टी र क्रान्ति तथा जनता, समाज र विश्वभरको मानव जातिमा समर्पण गर्ने कुरामा जोड दिन्छ । कुनै व्यक्तिमा जति बढी मात्रामा त्यस प्रकारको निःस्वार्थ भावनाको विकास हँुदै जान्छ, त्यति नै बढी मात्रामा ऊ देशभक्त क्रान्तिकारी कम्युनिस्ट पनि बन्दै जान सक्ने छ ।

    २८. उपन्यासमा विश्व कम्युनिस्ट आन्दोलनमा भएको पतनको विस्तृत रूपले समीक्षा गरिएको छ र त्यसको मुख्य कारण कम्युनिस्टको सैद्धान्तिक चिन्तन, विश्वदृष्टिकोण र चरित्रमा आएको ह्रासलाई नै बताइएको छ र सैद्धान्तिक पुनरुत्थानबाट नै त्यो अवस्थामा परिवर्तन हुन सक्ने कुरा बताइएको छ ।

    २९. प्रस्तुत उपन्यासले विद्यमान जाति वा राष्ट्रका सीमाभन्दा धेरै माथि उठेर मानव मात्रका बिचमा प्रेमको भावनामा जोड दिन्छ । संसारमा अन्य राष्ट्रमाथि आक्रमण गर्ने साम्राज्यवादी प्रचलन रह“दासम्म राष्ट्रियता वा देशभक्तिको भावनाको सकारात्मक महत्त्व वा आवश्यकता रहन्छ तर अन्ततः सम्पूर्ण मानवका बिचको प्रेम नै सच्चा मानवीय भावना हो र उपन्यासले त्यस प्रकारको भावनालाई समेट्ने प्रयत्न गरेको छ । त्यही विश्व बन्धुत्व वा सर्वहारा अन्तर्राष्ट्रवाद पनि हो ।

    ३०. सङ्क्षेपमा उपन्यास प्रेमको कथा र विश्वको दर्शन हो । पूरै उपन्यास त्यही मेरुदण्डका वरिपरि घुम्दछ ।

    आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.