सुशील लामा ##
जिन्दगीसँग घुर्की देखाउँदै पर्खिरहेको छ
नहराएको कतै टाढा फैलिएको हौँवा सपना
अनेक छन् छनोट नजिकै
विराट छ, फैलिएको सम्भावना
तन्नेरी जोस र जाँगर छन् जति चाहिँदो
पाएको छ शिक्षा र दीक्षा गुरुजनबाट
र पनि छैनन् खुसी
जुनी र जीवन
प्रकृतिको उपहार जिन्दगीसँग
जानीनजानी आफैले गरेको छ अनुमोदन
फगत कोरा कल्पनाको
कोरा सपनाको
पहिचान भइनसकेको आफ्नै दिनचर्याको सामीप्यमा
आफ्नाको अनुग्रह बिना
गरिएको छ निर्णय
समयले बगाएको खहरेखोलाको
किनारालाई साक्षी राखेर
पर्खाइको पर्खाल नाघेर
धैर्यताको सेतु तरेर
अभिमानको भञ्याङमा फगत
जितको अभिनय गर्दै
नक्कली जीवन जिउँदै छ
सम्झनालाई सितन बनाउँदै
आँसुको प्याला पिउँदै
मातेर मस्त मन मगन छन्
जुनी र जीवन
समयको प्रतिध्वनिमा गरेको वाचा
समयको नदी जतिसुकै बगे पनि
पर्खी बसेको किनारमा
पर्खाइ, चुनौती, इच्छाको परीक्षा
अविरल यात्रा मौनतामा लिप्त
एक मौन रोमाञ्च
यद्यपि नियतिको बाटो कहिल्यै उस्तै नहुँदा
अधिर छन्
जुनी र जिन्दगी
अनिश्चितताको गहिराइ बरमुडा र्ट्याङ्गलमा
डुब्दैँ गरेको निष्प्राण अडान
सगर चुम्ने अनौठो अभिलाषा
मुठ्ठीमा मुठ्ठी पारेको बालुवा झैँ
झरेर खाली भएको हत्केला जस्तो
कोरा सपना
सजल अनिँदो जोर लोचन बोकी
जारी राख्दै छ यात्रा
तृष्णा मुटुका टुक्रा
जे भए पनि भोकप्यास खेपिरहेका छन्
शिलान्यास गर्दै छन्
जन्म र मृत्युको सङ्गम जिन्दगी अमर पुल
नियतिको खेल मैदानमा
लड्दै–उठ्दैँ, दगुर्दैँ, भौतारिदैँ
जुनी र जिन्दगी