काठमाडौँ । साइप्रस नेपाली एकता समाजले एक जना बिरामी नेपाली महिलालाई स्वदेश फर्काएको छ ।
सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका–९ घर भई गत तीन महिनादेखि साइप्रसमा रहनुभएकी विनिता ठकुरीलाई समाजले स्वदेश फर्काएको हो ।
रोजगारका लागि साइप्रस आएकी करण खड्काकी २९ वर्षीय छोरी विनिता केही महिनादेखि बिरामी हुनुहुन्थ्यो ।
समाजका अध्यक्ष खिमान थापाका अनुसार यहाँका धेरै अस्पतालमा चेकजाँच गराउँदा पनि रोग पत्ता नलागेपछि रोजगारदाता कम्पनीले उहाँलाई रिलिज पेपर दिएको थियो । त्यससँगै उहाँ उपचारका लागि नेपाल फर्कनुभएको थियो ।
उहाँलाई नेपाल फर्कन र उपचारमा सहयोग पुर्याउन एकता समाजले आर्थिक सहयोगका लागि सङ्गठनका सदस्यसित अनुरोध गरेको थियो ।
महासचिव गिरा नेपाली थापाका अनुसार समाजको केन्द्रीय समितिबाट २३० युरो र विभिन्न ३५ जना सहयोगदाताबाट ७०१ युरो जम्मा भएको थियो । सो रकममध्ये २०० युरो हवाईटिकटबापत खर्च गरी बाँकी ५०१ युरो बिरामी विनितालाई हस्तान्तरण गरिएको छ ।
“यो सहयोग र सद्भावले विनितालाई थोरै भए पनि आर्थिक सहयोग भएको छ” महासचिव गिरा नेपालीले सार्वजनिक सूचना जारी गर्दै भन्नुभएको छ– “आशा छ, आगामी दिनमा पनि यसैगरी यहाँंहरूको साथ र समर्थन सङ्गठन र सङ्गठनले गर्ने अनुरोध र आह्वानलाई रहिरहोस् ।”