सुशील लामा ##
वैराग्यको खास्टो ओढेर
विरहको बार्दलीमा बसी
जनतामाथि परेको
रोक, भोक र शोकको बिकराल रूप हेर्दै
आँशुको कोशी बग्दै छ
आँशुको सेती बग्दै छ ।
देश रुँदारुँदै
भक्कानिएर घाइते भएको छ
बन्धनमा बाँधेकी नवदुलहीसहित
हनिमुन प्याकेज रद्द गरेर
बैसलाई थारो बनाउँदै
हुलका हुल युवाशक्ति लस्कर लागेर
अरब जित्न निस्कदैँ गर्दा
देश दुखेर रुदै छ
सिमानामा बैरीको नजर लागेर
खुम्चिँदै गरेको सीमाङ्कन
दशगजामा हेपेर गरेको रजगज
महेशपुर र सुस्ताको
विरक्तिलाग्दो सुस्केरामा झल्केको स्वाभिमान
सिमानामा ढलेको गोविन्दहरूको चित्कार
कुमारी माटोको अस्मितामाथि गरेको अन्याय
खेप्दाखेप्दै, झेल्दाझेल्दै
देश बेस्सरी रोएको छ
मलामी र जन्ती पाउन छाडेको
गाउँघर अनि टोलबस्ती
निर्जन उराठ बनेको छ
सुन्दर बस्ती र गाउँहरू
वृद्धा र बालआश्रम जस्तै बनेको छ
आस्थाको स्रोत देउताको देवलमा
अगरबत्ती, लाखबत्ती नबलेर होला
लाग्छ देवलको देउता पनि
बसाइँ सरेको हुनुपर्छ अन्तै कतै
मुकाम सरेको लाउरेनी जस्तै
भूमाफियाको चङ्गुलमा फसी
हरियाली पहाडहरू शिर मुण्डन गरेर
लाग्छ बरखी बार्दै छ
थुप्रै रुखबिरुवाको मृत्युशोकमा
सायद त्यसैले आजभोलि
देश नमिठोसँग रुँदै छ
शासकले मित्रताको नाउँमा छिमेकीलाई
सन्धिसम्झौताको बैसाखी टेकेर
खोलानाला सुम्पे
वनजङ्गलको अस्मिता बेचे
एउटै खोलालाई ठाउँठाउँमा
लिलाम गरेर बेचे
हुँदाहुँदा मान्छेले मान्छे बेचे
आफ्नाले आफ्नालाई नै
धनी सपनाको प्रलोभन देखाएर
सम्बन्धको हत्या गर्दै एक होइन
अनेक जिन्दगी बेचे
बेचिएर कोही ज्युँदै फर्के
काही बाकस बनेर फर्के
सत्य मान्छेको झुटो चित्र र चरित्र देखेर
आकाश रोए
आकाशसँगै देश रोए ।
(पाँचखाल, काभ्रेपलान्चोक हाल लिमासोल, साइप्रस)