विष्णु शर्मा ##
कमै गर्छन् महिमा बाबाहजुरको
जान्दिनँ म यसमा कसको कसुर हो ।
जब आएथेँ म आमाको गर्भमा
कति खुसी हुनुहुन्थ्यो बाबा जस्तै पर्वमा ।।
आमाको खानपानमा कति ख्याल थियो
मनभित्र बलाएर उमङ्गको दियो ।
दिनरात नभनेर खटिनुहुन्थ्यो काममा
नयाँ सदस्य आउदै छ भन्नुहुन्थ्यो गाउँमा ।।
हजुरको पसिनाले आर्जेको हो मलाई
घर धान्नुभयो बाबा दह्रो गर्धन गलाई ।
थकाइ मारौँ आज भन्ने दिन आएन
पुरुष रे झ् पीडा हुँदा रुन नि पाएन ।।
नौ महिनाको पर्खाइ कति लामो थियो
केही भयो कि बेला बेला मन झसङ्गियो ।
फेरि पनि मन समाली अघि बढ्नुभयो
घामपानी नभनेर काममा खट्नुभयो ।।
घरको गर्जो टार्ने जिम्मा हजुरको काँधमा
नआत्तिई म छु भन्ने कोही थिएन साथमा ।
नौ महिना पूरा भई मेरो जन्म हुँदा
छट्पटिनुभा’थ्यो कति आमा पिरले रुँदा ।।
मिल्ने भए प्रशव पीडा आफै लिनुहुन्थ्यो
हाँसी हाँसी आमालाई छुट्टी दिनुहुन्थ्यो ।
सबैले आफ्ना काम आफै गर्नुपर्ने
प्रकृतिको नियमलाई कसले के गर्ने ?
हजुरहरूलाई हसाउँदै जब धर्तीमा आए
आमा बराबर हजुरको न्यानो माया पाएँ ।
आमालाई झैँ हजुरलाई नि जिम्मेवारी बढ्यो
मेरोसहित घरायसी खर्च माथि चढ्यो ।।
ढुङ्गामाटाको कामले पैताला पट्पटी फुट्थे
प्यासिँदा पानी नपाई घाँटी पनि सुक्थे।
ठेला उठ्यो शरीर गल्यो जिम्मेवारीको भारले
विदेशसम्म धाउनुपर्यो रोजगारको मारले ।।
कति भावुक हुनुहुन्थ्यो बिछोडको बेला
यति गर्ने बाबा किन आमाभन्दा हेला ?
घरको जिम्मा निभाउनुहुन्छ दुबैले मरी मरी
मलाई लाग्छ बाबाआमा दुबै बराबरी ।।